
काठमाडौं । आज नेपालमा संसद् दिवस मनाइँदैछ । २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष असार १६ गते संसद् दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना व्यक्त गरेका छन् । सापकोटाले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन र जनसंघर्षमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।
सभामुखले शुभकामना सन्देशमा भनेका छन्,’ संसद् दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसद्ले भोग्नु परेका विविध आरोहावरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसद्सँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको छ ।’
दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट पनि संसद्ले आफ्ना कार्य निरन्तर अगाडि बढाइरहेको सभामुखले उल्लेख गरेका छन् ।











