काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारसँग आग्रह गरेका छन् ।

संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको बताए । यो विषयलाई यत्तिकै छाड्न नहुने उनको भनाइ छ ।
‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू’ उनले भने, ‘जोजो संलग्न छन्, देखिन्छ नि ।’ उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही भनेको र आउनुस् न कुरा गरौंला भनेको समेत बताए ।
नेपालको संविधानले सुधारिएको संसदीय प्रणाली अवलम्वन गरेको पनि उनले बताए । ‘जनताले, जनताको लागि बनाएको संविधान, जसले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरक्षेता, समावेशितासहितको समाजवादउन्मुख संविधान बनायौँ’ उनले भने, ‘जसले प्रष्ट भाषामा घोषणा ग¥यो, हाम्रो राजनीतिक प्रणाली संसदीय प्रणाली हो । बहुदलीय प्रतिस्पर्धामा आधारित संसदीय प्रणाली यसमा कुनैपनि इफ–बट केही पनि छैन । प्रष्ट हो यो ।’
नेपालको संसदीय अनुभवलाई आत्मसात् गर्दै केही विशेष व्यवस्था पनि राखिएको उनको भनाइ छ । नेम्बाङले भने, ‘हामीले हाम्रो अनुभवमा आधारित भएर केही हाम्रै विशेषतासहितको संसदीय प्रणाली अपनाएका छौं । जसलाई हामी सुधारिएको संसदीय पनि भन्छौँ ।’











