एजेन्सी । युक्रेन-रुस युद्धमा रणनीतिक हिसाबमा महत्त्वपूर्ण रहेको स्नेक आइल्यान्डबाट रुसी फौज पछाडि हटेको छ ।
युक्रेनी सेनाले भने आफूहरुले रुसी सेनालाई भगाएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले ट्विटरमा लेखेका छन्– ‘स्नेक आइल्यान्डमा अब रुसी सैनिक छैनन् । हाम्रो सशस्त्र शक्तिले महान् कार्य गरे।
रुसले भने कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न आफूहरु आइल्यान्डबाट पछि हटेको संयुक्त राष्ट्रसंघलाई बताएको छ ।
युद्धको सुरुमै रुसी पानीजहाजविरुद्ध त्यहाँस्थित युक्रेनी सैनिकहरूले लडेको कारण चर्चित बनेको स्नेक आइल्यान्डमा अहिले युक्रेनी नियन्त्रणमा आउनुलाई युद्धको महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।
युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा ब्ल्याक सीमा रहेको स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ ।











