Logo
Logo

नेपाल क्रिकेट संघको निलम्बन यथावत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत नै राखेको छ ।
इंग्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।
आइसिसीको प्रतिबन्धमा रहेपनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।
त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।
आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक संकटमा छ ।आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।
आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्