Logo
Logo

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परीक्षण सफल


- दृष्टि न्युज/संवाददाता


File Photo

काठमाडौं, ३ साउन । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको परीक्षण सफल भएको छ । भारत-नेपाल सहज इन्धन आपूर्तिका लागि तयार गरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट तेल आपूर्तिको पहिलो परीक्षण शुक्रबार बिहान गरिएको हो ।
औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न इण्डियन आयल कर्पोरेसन (ओइसी)ले पाइपबाट सुरुमा पानी र त्यसपछि डिजेल पठाएको छ ।
बिहिबार परीक्षणका रुपमा आईओसीले पाइपलाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको थियो । निगमका अनुसार भारतको पटनाबाट बिहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो ।
पटनाबाट पाइपलाइनमा पहिलो परीक्षणको लागि २२ लाख लिटर डिजेल पठाइएको प्राविधिक प्रमुख प्रदीप यादवले जानकारी दिए । तीमध्ये १ लाख लिटर अमलेखगञ्ज डिपोमा राखिने र बाँकी २१ लाख लिटर पाइपमै रहने जनाइएको छ । पाइपमार्फत पठाइएको पानी र डिजेल बिहीबार राती अमलेखगन्ज आइपुग्ने भनिएको थियो । तर, शुक्रबार बिहान मात्र आइपुगेको थियो । परीक्षणका लागि भारतबाट २० जना र नेपाल आयल निगमका १० जना प्राविधिक आएका थिए ।
नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ति जारी छ । यो परीक्षण सफल भएपछि उद्घाटनका लागि तयार हुने अमलेखगन्ज डिपोले जनाएको छ । यो पाइपलाइनको कुला लम्बाइ २७८ किमी छ ।

प्रतिक्रिया दिनुहोस्