काठमाडौं । गरे के हुँदैन ? केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।
पछिल्ला पाँच वर्षमा नेपालको ऊर्जा क्षेत्रका गुणस्तरीय परिवर्तन भयो । रुग्ण अवस्थामा रहेका आयोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भए । ठूला क्षमताका प्रसारण लाइन पनि निर्माण सम्पन्न भए । झण्डै रु ३५ अर्ब बराबरको सञ्चित घाटा भएको नेपाल विद्युत प्राधिकरणको मुनाफामात्रै वार्षिक रु १२ अर्ब बढी हुन थाल्यो ।
पछिल्ला आर्थिक वर्षमा त सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण स्थापित भएको छ । आन्तरिकरूपमा बिजुली बिक्री तथा वितरण गर्दै प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ ।
गत वर्षको लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार सुरु गरेको प्राधिकरणले गत जेठ १९ अर्थात जुन २ तारिखदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद रु एक अर्ब ७२ करोड ३० लाख बराबरको विद्युत बिक्री गरेको छ । पछिल्लो एक महिनाको विवरण हो यो । प्राधिकरणले आगामी छ महिनासम्म बिजुली बिक्री गर्नेछ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट छ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।
जेठ र मध्ये असारसम्म हेर्दा मात्रै १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुद रु एक अर्ब ७२ करोड ३० लाख कमाएको छ ।
जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रतियुनिट दर नौ रुपैयाँ ६७ पैसा छ । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारीरूपमा अगाडि बढेको बताए ।
‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारीरूपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमा समेत योगदान पुग्ने छ ।’
उनले चालु आवमा करिब रु पाँच अर्ब र आगामी वर्षमा करिब रु २० अर्बको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताए । उनले भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने बताए । पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनुपर्ने देखिएको घिसिङले बताए ।
‘मुख्यरूपमा औद्योगिक ग्राहकबाट भोल्टेजका कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरि नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा अब विस्तारै देखिने छ’, उनले भने ।
गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप चार जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । कार्यकारी निर्देशक घिसिङले दुई मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए ।











