काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि मुख्य आधार भएको बताएकी छन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुन शासनको पालना र राज्यशक्तिलाई जनताको हितमा लगाउने संविधानको भावना कार्यान्वयनमा समेत कानुनी शिक्षाले भूमिका खेल्ने उनले बताइन् ।
राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
सो अवसरमा नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदीलाई सम्मान गरिएको छ । नेम्वाङ र सुवेदीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी थिइन् ।











