Logo
Logo

डुबान प्रभावित क्षेत्रमा खानेपानी, झुल र टर्चलाइट आवश्यकता


- दृष्टि न्युज/संवाददाता

0
Shares

बर्दिवास, ५ साउन । महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ ।
प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइटको व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् । अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्रम बढेसँगै जिल्लाका बुद्धिजीवीले खानेपानी, झुल र टर्चलाइट अतिआवश्यक राहत सामग्रीमा राख्न सहयोगी निकायको ध्यानाकर्षण गराएका हुन् ।
‘जिल्लामा अहिले ठाउँठाउँमा राहत सामग्री पुग्दैछ, यस्तो बेला जीवनका लागि अतिआवश्यक कुरा परुन् भन्ने हाम्रो आशय हो’ बर्दिवासस्थित साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इन्द्रराज लामाले भने, ‘जे जति राहतका सामग्री ठिक पारिने हो, त्यसमा यी सामग्री (खानेपानी, झुल र टर्चलाइट) प्राथमिकतामा परुन् ।’
असार अन्तिम साताको वर्षासँगैको बाढी र डुबानले खानेपानीका मुहान धमिलिएको र त्यस्तो पानी प्रयोग गर्दा प्रभावित बस्तीमा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । यसका लागि शुद्ध खानेपानी वा पानी शुद्ध बनाउने सामग्री प्रभावितसम्म पु¥याएर शुद्धिकरण गर्ने तरिका सिकाउन आवश्यक रहेको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारीले बताए ।
त्यसैगरी डुबानपछि चर्को घाम लागेसँगै विषालु सर्प र लामखुट्टेको बिगबिगी बढेकाले झुल र राति निरन्तर विद्युत् अबरुद्ध हुने भएकाले उज्यालोको लागि टर्चलाइट उपलब्ध गराउनु आवश्यक भएको उनले जानकारी दिए ।
पछिल्लो पटक अहिले वितरण गरिएको राहत सामग्रीको पोकामा खाद्यान्न (चामल, दाल, चिउरा), तयारी खानेकुरा (चाउचाउ, बिस्कुट) र नून, तेल र त्रिपालसहितका छन् । यी सामग्री राहतका लागि आवश्यक भए पनि खानेपानी, झुल र टर्चलाइटभन्दा पछिल्लो प्राथकितामा पर्ने बर्दिवास नगर पत्रकार सञ्जालका सचिव राजकरण महतोको भनाइ थियो ।
‘सामान्यतया राहत सामग्रीको पोकामा अहिले राखिँदै आएका सामग्री आवश्यक नै हुन्’ उनले भने, ‘मानव जीवनसँग जोडेर हेर्दा खानेपानी , झुल र टर्चलाइट अहिलेको मुख्य आवश्यकता भएको छ ।’
आपत् विपत्का बेला डुवानका क्षेत्रमा पु¥याउनै पर्ने सामग्रीको सूची बनाउँदा तत्काल अति आवश्यक समान छुटाउन नहुने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले जोड दिए ।
राहत सामग्रीबारे जिल्लाका बुद्धिजीवीबाट यस्तो सुझाव आएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले यी सामग्री राहत पोकामा राख्न जिल्लाका सबै स्थानीय तह र सम्पर्क, समन्वयमा रहेका सामाजिक स्रघ, संस्थालाई आग्रह गरिने जनाएको छ ।
‘आवश्यकता र महत्वका दृष्टिले अहिले खानेपानीको प्रबन्ध वा शुद्धिकरण सचेतना, झुल र टर्चलाइट प्राथकितामै पर्ने सामग्री हन्’ समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘राहत र उद्धारमा संलग्न सबैपक्षसँग यसबारे आग्रह गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्