काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति अन्त्यका युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले यस्ता विकृति र विसंगतिको अन्त्य गर्न अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

भक्तपुरको सानोठिमीमा शनिबार आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै सभामुख सापकोटाले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन ढिलाइ गर्न नहुने बताए ।
‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनिसाध्य छैन । असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ’ उनले भने, ‘हामीले अभियान छेड्न सक्यौ भन राम्रोसँग हामीले जनतामा गएर चाहिँ यी विकृति र विसंगतिका विरुद्धमा चाहिँ अभियान चलाउन सक्यौं भने वास्तवमा पैसा खर्च नगरीकन जित्नेछन् ।’
उनले पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको बताए ।














