Logo
Logo

जुरेली र भंगेराहरुको राम–रमिता



खेतीपातीको मौसम । महिनौंसम्म खेतको हिलोमा गढेका भुइँ किसानका चहराउने पैतालाहरु थकित छन् । माटोले खाएर छियाछिया बनेका औंलाका जोर्नीहरुमा नयाँ छाला पलाउन पाएको हुँदैन ।

समयमै बीउ नपाएर ढिलो धान रोप्नुपरेको पीडा, सिँचाइको सास्ती र त्यसलाई हुर्काउन नभई नहुने रासायनिक मलको चरम अभाव छँदैछ । यस्तै अनगिन्ती अभावको भुंग्रोमा जेलिएका छन् देशका भुइँ किसान ।

आकाशे पानीको भरमा आश्रित कृषकहरुको पीडा त भनी साध्य छैन । जेनतेन धान त रोप्यो । जब भित्र््याउने बेला हुन्छ, अप्रत्याशित वर्षाले खेतमै दाइँ लगाइदिने अर्को पिरलो पनि बर्सेनि यिनै भुइँ किसानहरुले खेप्नुपर्ने हुन्छ ।

यिनीहरुको पीडा र व्यथा जुनसुकै व्यवस्था आए पनि अवस्था फरक छैन । यद्यपि, आम किसानका यावत दुखेसो र समस्यामाथि ताली बजाउँदै प्रत्येक वर्ष आइपुग्छ असार पन्ध्र ।

खासमा यो दिन, धान दिवस, जमिनमा धान फले पनि नफले पनि मन्त्री, सचिव, कर्मचारीहरुको गलामा यस दिन धान फलेकै हुन्छ । औपचारिकताका लागि गरिने यस्ता क्रियाकलाप कृषकका लागि व्यंग्य हो ।

धान दिवसको नाममा गरिने उपद्रोको नयाँ–नयाँ रुपले आम कृषकहरुलाई बर्सेनि गिज्ज्याइरहेको हुन्छ । म स्वयं पनि एउटा निम्न मध्यम वर्गीय कृषकको छोरा हुँ । असली किसानको मर्म र भावनाको निकट छु । यतिबेला जुन जमातले ‘असार पन्ध्र’को नाममा यो देशका अन्नदाताहरुको खिसिट्युरी गरिरहेको छ– यो शोभनीय छैन ।

गाउँमा बाबुका पाखुराले जोडेको दुईकठ्ठा खेत बाँझो राखेर शहरको रहर चाट्न पल्किएकाहरुले आफ्नै मेसो गरेको ठीक छ । किन किसान र किसानीको कास्मेटिक बर्को ओढ्दै फेसबुक अनि टिकटकका गह्राहरु फोहर बनाउनु पर्याे ?

उता एउटा कृषकले खेतीपातीको समयमा एक बोरा मलसमेत नपाएर पुर्पुरो समाउनुपर्ने अवस्था छ । यता राज्यसत्ताले भए÷नभएको पैसा विकासका नाममा असारे भेलमा बगाएको छ । उहिले नेपालले अथाह धान उत्पादन गरेर निर्यात गथ्र्यो ।

अहिले नेपालीहरु धानको बीउलाई माला बनाएर गलामा झुन्ड्याउँछन् र सामाजिक सञ्जालका गह्राहरुमा रोप्छन् । न बीउ चाहियो न सिँचाइ । न मल चाहियो न परिश्रम । बस्– उनीहरु धान उत्पादन होइन, अर्बौको चामल आयात गर्छन् ।

सायद, नेताहरुले भन्ने गरेको कृषि क्रान्ति पनि यही होला । होइन भने, राज्यसत्ताले खेतीपातीको सिजनमा रासायनिक मल नपाएर फिटीफिटी परेका किसानको समस्या बुझ्ने कि बर्सेनि टालो हाल्नुपर्ने सडकहरु टालेर काँचा विकासे गफ छाँट्दै हिँड्ने ?

देशप्रति जिम्मेवार सरकारको लागि खेतीपातीको सिजनमा कृषकहरुको समस्या प्रमुख बनेको भए धान रोप्ने बेला उसले बाटो टाल्ने अलकत्रा होइन, धानको बीउ र मलको जोहो गथ्र्यो । जसले गर्दा उत्पादन वृद्धि हुन्थ्यो र चामलमा देश आत्मनिर्भर बन्दै जान्थ्यो ।

तर, सरकारको ध्यान उत्पादनमा भन्दा कमिशनमा बढी जाने भएकोले हरेक वर्ष मलको अभाव झेल्नुपरेको छ । अनि कृषिमा आत्मनिर्भर कहिले हुने हामी ? कृषि क्रान्तिको गफ र नीति बनाएर मात्रै कृषिमा आत्मनिर्भर हुन सकिन्न । त्यसका लागि कृषकको घरदैलोमै बीउ र मल पुर्याउने व्यवस्था हुनुपर्छ ।

हाम्रो देश र जमिनको तुलनामा खेतीयोग्य जमिनको पच्चीस प्रतिशत जग्गामा व्यावसायिक उत्पादन गर्ने हो भने २ वर्षलाई पुग्ने धानमात्रै उत्पादन हुन्छ ।

युवा खाँडी गएर उत्पादन नभएको होइन, उत्पादन गर्न सक्ने व्यवस्थापकीय क्षमता देशमा मौजुद नै छ । यद्यपि, देशका नीति निर्माता नै झुर र नाफाखोर भइदिएपछि कसको के लाग्छ ? उनीहरु समग्र देश र कृषकहरुको नाफाघाटाभन्दा आफ्नै मझेरीको भकारी कसिलो बनाउने खेलमा लिप्त छन् ।

व्यावसायिक उत्पादनका लागि कृषि नीति चाहिन्छ । गलत कृषि नीति र मल अभावको कारण २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो छ ।

यसको जिम्मेवार को ? अहिले हामीलाई केरुङ–काठमाडौं रेलभन्दा हजार गुणा जरुरी खेतमा हाल्ने रासायनिक मलको छ । रेलमा लगानी गर्ने पैसाले भव्य मल उद्योग खोल्न सकिन्छ । आधुनिक कृषि औजारहरु खरिद गरौं– तब न कृषि क्रान्ति हुनेछ ।

महाकाली नदीमा भाषण बगाएर मेची खोलातिर नेता खोज्न हिँड्ने नीतिले देश कहिले उँभो लाग्ने ? दलाल र बिचौलियाहरुको गुमराहमा असली किसानहरु कहिलेसम्म पिरोलिने ? भोकको ढडेलो कति शक्तिशाली हुन्छ भन्ने कुरा यो देशका शासकहरुले बुझेका छैनन् । किनकि, उनीहरु अरु कसैको दानापानीले ढाडिएका छन् । मैमत्त हुनेगरी भुँडी चर्काएका छन् र हरबखत किसानहरुमाथि शोषण गरिरहेका छन् ।

जबदेखि धान दिवसको घोषणा गरियो यसले अनकेन रुपमा किसानहरुलाई तमासाको पात्र बनाउने बाहेकको उपलब्धि सायदै दियो होला । हुन त यसको महत्व तत्कालीन कृषिमन्त्री हरि पराजुलीले नै छर्लङ्ग पारिदिएका थिए ।

त्यसयताका धान दिवसहरु पनि यदाकदा बाहेक सार्थक बन्न सकेको देखिँदैन । किसानका समस्या र कृषि प्रणालीमाथिको मजाक त छँदैछ, यसले पुरुष र महिलाका बीचको सम्बन्धमा समेत दरार उत्पन्न गर्दैछ ।

गत वर्षको धान दिवसमा दोहोरी गायक छत्र शाहीसँग विवादास्पद बनेकी रेस्लर ‘जुरेली’ यसपटक एमाले नेतासँग ‘उखरमाउलो’ जात्रामा पीडित बनेको भन्दै अदालतसम्म पुगिन् ।

हेर्नुस् त ! यी बकम्फुसे क्रियाकलापहरुसँग धान दिवसको तात्पर्य के ? हुन त इमान्दार जनतामाथि बेइमानहरूको गिरोहले शासन ग¥यो भने यी समस्याहरु सामान्य लाग्छन् ।

परन्तु, गमलामा धान रोपी फेसबुकको गह्राभरि हिलो खेलेर कर्मकाण्डी असार पन्ध्रको धान दिवस मनाउँदै समय बर्बाद गर्नुको कुनै तुक छैन । यसलाई सुधार गर्न ढिलाइ भइसकेको छ ।

समग्र कृषि प्रणालीमा सुधार ल्याउन राज्यसत्ता अग्रसर हुने वा बर्सेनि जुरेली र भंगेरा नचाएर पृष्ठभूमिबाट मुख मिठ्याउँदै बस्ने ? सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् । होइन भने यसले भोलि यी छद्यमभेषी शासकहरुको स्वर्गमा भुइँचालो ल्याउने ग्यारेन्टी छ ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्