
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नै निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ठूलो गल्ती गरेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘त्यो माधवको जीवनकै सबैभन्दा ठूलो गल्ती थियो । कमरेड केपी ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल नै अगाडि थिए ।’
त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधवले अर्को पार्टी खोलेको भुसालको दाबी छ ।
उनले फेसबुकमा थप लेखेका छन्, ‘यसरी माधवले कम्युनिस्ट आन्दोलनको सेवा गरेको थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।’ ढिलो वा चाँडो माधवले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नैपर्ने भुसालको दाबी छ ।
माधव नेपालको साथ छाडेर एमालेमै बसेका ‘१० भाई’ र माधवबीच पछिल्लो समय आरोपप्रत्यारोपको शृङखलानै चल्न थालेको छ ।











