Logo
Logo

क्यारिकेचर प्रदर्शनीमा यस्ता छन् कार्टुनचित्र



काठमाडौं । तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ ।

आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै कुलपति कर्माचार्यले नेपाली कलाक्षेत्रमा क्यारिकेचरको महत्व पछिल्लो समय बढ्दै गएको बताए । उनले कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्व रहेको जनाउँदै यसलाई अझै समृद्ध पार्नु पर्ने धारणा व्यक्त गरे ।

कुलपति कर्माचार्यले भने, ‘नेपालमा क्यारिकेचरको विकास र यसको उठान निकै प्रभावकारी ढंगले अघि बढिरहेको छ । विगतका वर्षमा जस्तै यो वर्ष निकै राम्रा क्यारिकेचर प्रदर्शनीमा राखिएको छ ।’

कुलपति कर्माचार्यले यसको सशक्तिकरण, विकास तथा विस्तारका लागि प्रतिष्ठानले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्व र आवश्यकता बढ्दै गइरहेको विचार व्यक्त गरे । उनले प्रतिष्ठानले कलाका विविध पक्ष र विधालाई समेट्दै गइरहेको बताउँदै कार्टुन र क्यारिकेचरका समेत विविध कार्यक्रम गरिरहेको बताए ।

कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताए ।

समाजमा योगदान दिएका व्यक्ति र उनीहरुको कर्मलाई सबैले आत्मबोध गर्न सकुन् भन्ने लक्ष्य राखेरै क्यारिकेचर बनाइएको जनाउँदै श्रेष्ठले क्यारिकेचर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेर आयोजकले सराहनीय काम गरेको भनाइ राखेका थिए ।
उनले भने, ‘नवपुस्ताले यस किसिमका कार्यशाला, प्रदर्शनी तथा कार्यक्रमबाट धेरै सिक्न सक्नु पर्दछ । कला अभ्याससँगै लामो अनुभवबाट पनि सिकिने विधा हो ।’

प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले कार्टुन–क्यारिकेचर कला विधामा महिला कलाकारलाई प्रश्रय दिने उद्देश्यले गत पुस २८–३० गतेसम्म महिला कलाकार सहभागी गराएर क्यारिकेचर कार्यशाला गरेको बताए ।

उनका अनुसार कार्यशालामा विभिन्न कलेजमा अध्ययन गरिरहेका २३ जना महिला कलाकारले भाग लिएका थिए ।
उनले भने, ‘कार्टुन कलाभित्र तिखो व्यंग्य हुन्छ । समाजमा घटित अनेकौं घटनालाई सटिक तवरले व्यंग्य गरेर सचेत गराउन कार्टुन बनाइन्छ । कतिलाई तिखो प्रहार पच्दैन, कतिले सहज ढङ्गबाट लिन्छन् । तर क्यारिकेचर, कार्टुनभन्दा फरक छ । यो चाहि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा ख्यातिप्राप्त व्यक्तित्वलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्दै क्यारिकेचर बनाइन्छ ।’

क्लबका अध्यक्ष वासु क्षितिजले पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महत्व विशिष्ट रहेको धारणा व्यक्त गरे ।
उनले भने, ‘क्यारिकेचर अर्थात् ‘अनुहारको व्यंग्यात्मक हाउभाउ’ व्यंग्यचित्रको अर्को पाटो हो । रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको रुपमा समेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ ।’

क्षितिजले यस पटक क्लब र प्रतिष्ठानले विगतमा जस्तै संयुक्त रुपमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनीको आयोजना गरेको जनाए । उनले भने, ‘प्रतिष्ठान र क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई अभिप्रेरित गर्ने लक्ष्य राखेर गएको पुस २८–३० गतेसम्म महिला कलाकारको क्यारिकेचर कार्यशाला गरेको थियो ।

सो कार्यशालामा सहभागी महिला कलाकारले भाग लिएका थिए । त्यसबाट पनि यस प्रदर्शनीका लागि क्यारिकेचर छनोट गरी प्रदर्शनीमा समावेश गरिएको छ ।’

क्लबका अध्यक्ष क्षितिजले प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तित्वका क्यारिकेचर राखिएको बताए । क्षितिजका अनुसार प्रदर्शनीमा ४२ जना कलाकारले बनाएका चार दर्जन बढी क्यारिकेचर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्