Logo
Logo

आफैंले पक्राउ गरेका अभियुक्तकी श्रीमतीलाई एसएसपीको सम्मान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गुण्डा नाइके निमा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले गएको असार ३१ मा पक्राउ गरेको थियो । उनकी श्रीमती छेसाङ तामाङले ब्यूटी कन्टेष्टमा भाग लिंदा बुझाएको शुल्क फिर्ता माग्दा नदिएपछि निमाले आयोजकलाई धम्क्याएका थिए । धम्की दिने निमालाई प्रहरीले पक्राउ गरेको थियो । उनी बानेश्वर बृत्तको हिरासतमा छन् । तर आफैंले पक्राउ गरेका र हिरासतमा रहेका निमा लामाकी श्रीमती छेसाङ लामालाई काठमाडौं परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले सम्मान गरेका छन् ।

शनिबार दरबारमार्गको डेसाज लाउन्ज बारमा आयोजित कार्यक्रममा एसएसपी सुवेदीले निमाकी श्रीमती छेसाङलाई सम्मान गरेका हुन् । नेपाल प्रहरीको कुुकुर शाखाकी एसएसपी देउती गुरुङकी नाताले बहिनी शान्ता तामाङले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा एसएसपी सुवेदी सहभागी भएका थिए । र, कार्यक्रममा गुण्डानाइके लामाकी श्रीमतीलाई उनले सम्मान गरेको तस्वीर नै छेसाङ तामाङले सामाजिक संजाल फेसबुकमा राखेकी छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा पनि थिए । निमा लामालाई आफ्नै युनिटले पक्राउ गरी हिरासतमा राखेको बेला उनकी श्रीमतीलाई सम्मान गर्न बोलाउादा एसएसपी सुवेदी जानु कति उचित हो त्यो प्रहरीको नैतिकताभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ । हिरासतमा भएका ब्यक्तिका आफन्त र परिवारलाई प्रहरीले भेट्न त मिल्दैन भने उनले त सम्मान नै गरेका छन् । यसरी भेट्नुलाई प्रहरीलाई प्रभावमा पारेको अर्थमा लिने गरिन्छ । तर एसएसपी सुवेदीले त भेटेको मात्र होइन, सम्मान नै गरेका छन् ।

निमा पक्राउ परेपछि श्रीमती छेसाङले शुक्रबारमात्रै फेसबुकमा प्रहरीलाई गालीगलौज गर्दै निमालाई पक्राउ गरी बिधिको शासनको उपहास गरेको उल्लेख गर्दै स्टाटस पोष्ट गरेकी थिइन् । काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका लामा ज्यान मार्ने उद्योगमा यसअघि २०७४ चैत ४ मा पक्राउ परेका थिए । पछिल्लो समयमा व्यवसायीलाई धम्की दिने, चन्दा संकलन गर्नेलगायतका काम गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौंका एसएसपी उत्तम सुवेदीले जानकारी दिएका थिए । सुवेदीले लामा प्रहरीले निगरानीमै राखेका व्यक्ति भएको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्