Logo
Logo

गृहमन्त्रीकै जिल्लामा तस्करीमा संलग्न प्रहरी



रुपन्देही । रुपन्देहीको इलाका प्रहरी कार्यालय धकधईका सई कृष्णप्रसाद बेल्बासेले अहिले जिल्लामा असुली धन्दा नै चलाएका छन् । उनी प्राविधिकतर्फका प्रहरी हुन् । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय गुल्मी हो । तर, इप्रका धकधईको कमाण्ड सम्हाल्दै आएका छन् । प्राविधिकतर्फको प्रहरीलाई इप्रकाको इन्चार्ज दिनु नै उनको माथिल्लो निकायसँगको सेटिङ प्रष्ट हुन्छ ।

त्यतिमात्रै होइन, तस्करदेखि राजनीतिक तहसम्म सहजै सेटिङ मिलाउन माहिर बेल्बासे यसअघि एमाले निकट भएर ठाउँठाउँ र धेरै कमाइ हुने चौकीमा बसे । यसअघि एमाले सरकारका पालामा बेल्बासे एमाले उपाध्यक्ष विष्णु पौडेल निकट भएर चाहेको चौकीमा इन्चार्ज सम्हाल्दै आएका थिए । अहिले सरकार परिवर्तनपछि उनी नेपाली कांग्रेस निकट भएका छन् ।

रुपन्देही गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला हो । उनले धकधईको इन्चार्जको जिम्मेवारी पाउँदा गृहमन्त्रीका भाइ रामकृष्ण खाण र आसेपासेलाई रिझाएर त्यहाँ पुगेका थिए । चाहेकै ठाउँमा इन्चार्ज पाएवापत गएको स्थानीय तह निर्वाचनमा उनले कांग्रेसका केही नेतालाई राम्रै आर्थिक सहयोग गरेका थिए ।

धकधई जिल्लामै सबैभन्दा बढी तस्करी हुने ठाउँ हो । पश्चिम नवलपरासीसँग सीमा जोडिएको क्षेत्रबाट उनले ब्यापक तस्करी गराउँदै आएका छन् । गृहमन्त्रीकै निर्देशनमा रुपन्देहीमा चोरी, तस्करी निस्तेज पार्ने अभियान चलाइरहेका प्रहरी प्रमुख रवीन्द्र रेग्मीलाई समेत उनले शक्तिकेन्द्रको आडमा टेर्दैनन् ।

अहिले धकधई क्षेत्रबाट गोरुदेखि कपडा, हार्डवेयर, मोटरपार्टस् चिनी, काजुकिसमिसलगायत दैनिक उपभोग्य सामानको व्यापक तस्करी भइरहेको छ । तस्करसँग लाइन मिलाएर वरिष्ठ सई बेल्बासेले मोटो रकम असुल्दै आएका छन् । तस्करी नियन्त्रणका लागि जिल्लाबाट खटिएका अन्य प्रहरीलाई उनले त्यस क्षेत्रमा प्रवेश गर्नसमेत रोक लगाउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकृत भन्छन्, ‘बेल्बासेजी प्राविधिकतर्फको प्रहरी हो, उहाँले इन्चार्ज पाउनु नै आफँैमा गलत हो । तर, उहाँले इन्चार्ज मात्रै सम्हाल्नुभएको छैन, शक्तिको आडमा व्यापक तस्करी गराइरहनुभएको छ । उहाँलाई त अख्तियार लाग्नुपर्ने हो, खोइ कसरी सेटिङ मिलाएर काम गर्नुभएको छ, हामी आफँै दंग छौँ ।’

यसअघि धकधईको इन्चार्जपछि उनी रुपन्देहीकै चिल्हिया प्रहरी चौकीको इन्चार्ज भएर खटिएका थिए । उनी जुनबेला चिल्हियाको इन्चार्ज भएका थिए, ठीक त्यतिबेला तिनाउलगायतका नदीहरुमा ढुंगागिट्टी उत्खननका लागि स्थानीय तहले ठेक्का खुलाएका थिए । बेल्बासे त्यहाँको इन्चार्ज भएपछि तिनाउमा इतिहासकै सबैभन्दा बढी नदी दोहन भएको थियो ।

तिनाउ दोहनमा सघाएको भन्दै बेल्बासेलाई रुपन्देहीका तत्कालीन एसपी हेम थापाले उनलाई जिल्ला तानेर दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मी पठाएका थिए । केही दिनमै उनले एमालेका नेताहरुको सोर्सफोर्स लगाएर इलाका प्रहरी कार्यालय बुटवलमा काज सरुवा मिलाएर आएका थिए । यतिसम्म बद्मासी गर्दै आएका बेल्बासेलाई कारबाही हुनुको सट्टा कहिले एमाले त कहिले काँग्रेस दाहिना हुँदा सधै फलिफाप भइरहेको छ । स्रोतका अनुसार तस्करीबाट बेल्बासेले तस्करसँग मासिक १० लाखसम्म असुली गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्