Logo
Logo

जसपाभित्र शितयुद्ध : बाबुराम आउट



काठमाडौं । विभाजनको सँघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । भट्टराईले काठमाडौँ रयादवले वीरगञ्जमा २९ र ३० गते बस्ने गरी बैठक बोलाएका छन् ।

यही बैठकले पार्टी विभाजनलाई औपचारिकता दिने जसपा स्रोतले बताएको छ । जतिसक्दो धेरै नेतालाई आफूले बोलाएको बैठकमा उपस्थित गराउने गरी भट्टराई र यादव लागेका छन् । उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले प्रेस वक्तव्य निकालेर भनेका छन, ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णय विपरित अवैधानिक तथा अनधिकृत रुपमा सोही दिन केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि सामाजिक सञ्जाल लगायत केही संचारमाध्यममार्फत भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौँमा असार २९ र ३० गते कुनै पनि आधिकारिक बैठक नरहेको यसै प्रेस वक्तव्यमार्फत सबैमा जानकारी गराइन्छ ।’ वीरगञ्जको बैठकमा यादवले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।

यता, केन्द्रीय समितिको विस्तारित बैठकमा आन्तरिक विषय, स्थानीय निर्वाचनको समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे निर्णय हुने नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद सदस्यलाई पठाइसकेको उनले बताए। बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।

जसपाले हालै तीन मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउँदा परामर्श नगरेपछि विवाद चुलिएको एक नेताले बताए । जसपामा अहिले दुई पक्षबीच शितयुद्ध नै चलिरहेको छ । यादवमाथि भट्टराई पक्षले पाँचदलीय गठबन्धनको विषयमा आवश्यक सरसल्लाह नगरेको, राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँड गर्दा सन्तुलन नमिलाएको, स्थानीय तह निर्वाचनमा एकलौटी उम्मेदवार छनोट गरेको, अपरदर्शी ढंगले काम गरेको, प्रशिक्षण कार्यक्रममा बेवास्ता गरेको र मन्त्री सिफारिस गर्दा परामर्श नगरेको आरोप लगाएको छ ।

यादव पक्षले भने भट्टराईले गुटबन्दी गरेको र नेतृत्व हत्याउने प्रयास गरेको आरोप लगाएको छ । ‘सहमतिमा अगाडि बढ्नुको साटो, नेतृत्वलाई असहयोग गर्ने, गुटबन्दी गर्ने र आवश्यकता पर्दा नेतृत्वलाई विस्थापित गर्ने तहसम्मका गतिविधि भएपछि सँगै बस्न सक्ने अवस्था भएन,’ यादवनिकट स्रोतले भन्यो ।

यादव पक्ष बहुमतमा रहेकाले पार्टीको नाम र चुनाव चिह्न यादवले नै सुरक्षित गर्ने भएका छन् । बाबुराम भट्टराईका सामू भने नयाँ पार्टी खोल्नु, अर्को दलमा जानु वा स्वतन्त्र बस्नुको विकल्प नरहेको जसपा स्रोतले दाबी गरेको छ ।

यसअघि भट्टराईले माओवादी केन्द्रबाट अलत भएर वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर, निर्वाचनमा जनताले नपत्याएपछि भट्टराईको नयाँ शक्ति पार्टी अगाडि बढ्न सकेन ।

संघीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर नयाँ शक्ति पार्टीबाट भट्टराईले मात्र जितेका थिए । प्रत्यक्षमा १ सिट जितेको नयाँ शक्ति पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्नबाट बञ्जित भएको थियो । त्यसपछि भट्टराईले माओवादी केन्द्रमा प्रचण्डलाई स्वीकारे जसरी नै जसपामा उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष स्वीकार गर्ने गरी एकता गराएका थिए ।

तर, जसपाबाट महन्थ ठाकुर बाहिरिएपछि भट्टराई पनि ठाकुरको ठाउँमा कार्यकारी प्रमुख बन्ने रहर जागेको थियो । तर, यादवले भट्टराईको उक्त मागको सुनुवाई नै गरेनन् । त्यसपछि कहिले अशोक राई त कहिले महिन्द्रराय यादव र राजकिशोर यादवलाई उचाल्दै पद हत्याउने योजनामा भट्टराई लागेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भट्टराईले यादवलाई अध्यक्षबाटै हटाउनेसम्मको योजना बनाएका थिए । तर, अन्ततः भट्टराई आफैँ जसपाबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन् । सम्भवतः भट्टराईले यी केन्द्रीय समिति बैठकबाट नयाँ शक्ति पार्टी ब्युँत्याएको घोषणा गर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्