Logo
Logo

पालिका अध्यक्षलाई बाइक मोह, एक कार्यकालमा १९ मोटरसाइकल खरिद


राम मगर


खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाले पाँच वर्षमा ६० लाख बराबरको मोटरसाइकल खरिद गरेको पाइएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनपछि पालिकाले १९ वटा मोटरसाइकल खरिद गरेको हो ।

०७४ को निर्वाचनमा पालिका अध्यक्ष शालिकराम बन्जाराले जितेका थिए । उनले पाँच वर्षे एक कार्यकालमा ६० लाख बराबरको १९ वटा मोटरसकाइक किनेका हुन् ।

सूचना अधिकारी रमेश पोखरेलका अनुसार निर्वाचित भएतगत्तै अध्यक्ष बन्जाराले ४० लाख बराबरको बाइक १४ वटा मोटरसाइकल खरिद गरेका थिए । उनले २२० सीसीको पल्सर, १५० सीसीको पल्सर र १५० सीसीकै अपाची किनेका थिए । त्यसको दुई वर्षपछि अध्यक्ष बन्जाराले पुनः २० लाख बराबरको पाँच वटा बाइक थपेका थिए ।

पालिका अध्यक्ष बन्जारा र उपाध्यक्ष गोमा मगरले मोटरसाइकलका लागि चालक समेत राखेका थिए । चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाए पनि पालिकाले तीन जान मोटरसाइकल चालक राखेका थिए । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको लागि मोटरसाइकल चालक राखिएको थियो ।

स्थानीय सेवन राई, खेमराज दाहाल र कैलाश दाहाललाई हलुका सवारीचालकको नियुक्तिपत्र दिएर निजी सहायक चालकको रूपमा नियुक्त गरिएको थियो ।

गाउँसभाले बनाएको कर्मचारी नियुक्तसम्बन्धी नियमावलीको प्राविधिक कर्मचारी नियुक्तसम्बन्धी व्यवस्थामा गाउँपालिकाले ह्याभी र हलुका सवारीसाधन चलाउन मात्रै चालक राख्न सक्ने उल्लेख छ  ।

१९ बाइकमध्ये दुईवटा अध्यक्ष र उपाध्यक्ष लागि छुट्याएको थियो भने अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् ।

पहिलो कार्यकालमा १९ वटा बाइक खरिद गरेका अध्यक्ष बन्जाराले बाइक खरिदका लागि पुनः बजेट छुट्याएका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी दोस्रो पटक पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

गठबन्धनबाट उम्मेदवारी दिएका उनले एमालेका पूर्वउपाध्यक्ष गोमालाई पराजित गरेका थिए ।

पुनः पालिका अध्यक्ष बनेसँगै बन्जाराले बाइक खरिदको लागि १० लाख रुपैयाँ छुट्याएका हुन् । सूचना अधिकारी पोखरेलका अनुसार पालिकाको केही मोटरसाइकल बिग्रेकाले नयाँ खरिदका लागि उक्त रकम छुट्याइएको हो । उनका अनुसार १९ वटा मोटरसाइकलमध्ये तीनवटा बिग्रिएका छन् ।

अहिले पालिकाको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वन, लेखा अधिकृत छत्र बहादुर बानियाँ, शिक्षा अधिकृत विज्ञान राउत र सूचना तथा संचार प्रविधि अधिकृत सुजिब तामाङले प्रयोग गर्दै आएको सूनचा अधिकारी पोखरेलले बताए ।

केही मोटरसाइकल प्राविधिकहरुले प्रयोग गर्दै आएका छन् भने ६ वटा वडाहरुलाई दिइएको उनले जानकारी दिए । केही वडाले भने पुरानो भएको भन्दै पालिकालाई फिर्ता गरेको छ ।

पालिकालाई यति धेरै मोटरसाइकल किन चाहियो भन्ने प्रश्नमा उनले भने, ‘कर्मचारीको लागि पनि खरिद गरिएको हो । अधिकृतहरुलाई आवतजावत गर्न समस्या हुन्छ, प्राविधिकहरु पनि टाढा–टाढा जानुपर्छ । त्यसैले मोटरसकाइकल किन्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस्