Logo
Logo

‘हनि ट्राप’मा व्यापारी, युवतीसँग नांगै बनाएर भिडियो खिचियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ साउन ।
युवती लगाएर व्यापारीलाई ब्लाकमेल गर्ने एक समूह समातिएको छ । बिर्तामोड–४ मा व्यवसाय गर्दै आएका एक व्यापारीलाई ‘हनिट्रयाप’मा पार्दै ४० लाख रकम फिरौती माग्ने एक युवतीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–४का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जि्लिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाका अनुसार उनीहरुले झापाका एक व्यापारीलाई फसाउनका लागि रितु फियाकको प्रयोग गरेका थिए । यही असार २८ गतेबाट रितुले एक व्यवसायीलाई जया खान बन्दै इमो र मोबाइलमा फोन गर्न थालिन् । उनले आफ्नो फेसबुकमा जया खान नामको ‘आईडी’ बनाएकी थिइन् ।

केही दिनकै कुराकानीमा व्यापारी पनि ती युवती अर्थात् रितु उर्फ जियासँग नजिक भए । जियाले साउन १ गते ती व्यापारीलाई बिर्तामोड–४ स्थित कुमारी बैंक छेउमा भेट्न बोलाइन् । डिएसपी थापाका अनुसार भेटेपछि जियाले आफ्नो साथीको कोठामा जाउँ भनी कुमारी बैंकको छेउ गल्लीभित्रको घरको माथिल्लो कोठामा लगिन् । त्यतिबेला रातको १० बजेको थियो । जियाले कोठामा व्यापारीलाई लगेको केही समयमा तीनजना युवाहरु हतियारसहित प्रवेश गरे । थापाले भने, ‘‘उनीहरुले ती व्यापारीलाई कुटपिट गर्दै जिउमा रहेको सबै लुगा खोल्न लगाए । पूरै नग्न बनाएपछि भिडियो सुट गरेका रहेछन् । त्यसपछि उनीहरुले साउन ५ गतेसम्म ४० लाख रकम नदिए त्यो भिडियो सामाजिक सञ्जालमा हाल्ने धम्की दिएका रहेछन् ।’’

त्यसपछि उनीहरु सबै त्यहाँबाट निस्किए । प्रहरीका अनुसार सो समूहले ती व्यापारीलाई दैनिक फोन गर्दै रकमको माग गर्न थाले । सुरुमा घटना लुकाएका ती व्यापारी केही नलागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको शरणमा पुगे । त्यसपछि प्रहरी सक्रिय भयो ।

डिएसपी थापाका अनुसार घटनामा प्रयोग भएकी रितु फियाक लिम्बुका अनुसार प्रतिवादी सन्जु क्षेत्री भन्ने सुजन शंकरले ती व्यापारीको मोबाइल नम्बर दिई कुरा गर्न लगाएका थिए । सो नम्बरमा रितुले जिया खान भन्दै ३–४ दिन भिडियो कल पनि गरिन् । जियाको बोलीमा व्यापारी सजिलै फसे । भिडियो कलमा हेरेपछि भेट्ने कुरा भयो ।

पक्राउ परेका सुजनकै निर्देशनमा कुमारी बैंक नजिकैको एक घरको कोठाको चाबी दिई जिया र ती व्यापारीलाई योजनाअनुसार नै पठाइएको थियो । घरको चौथो तलामा रहेको कोठा प्रतिवादी मध्येका प्रकाश दासको नाममा ५ महिनादेखि भाडामा लिएको अनुसन्धानबाट खुलेको छ । प्रतिवादी मध्येका सुजन शंकरले मुखमा मास्क लगाएर हातमा छुरी समेत लिई उक्त कोठामा आई पीडितलाई छुरी देखाई गाली गलौज तथा कुटपिट गरेको प्रहरीमा बयान दिएका छन् । उनीहरुको समूहले सुरुमा ती व्यापारीसँग ५० लाख माग गरेको र बार्गे्निङ हुँदा ४० लाख ५ गते दिने सहमति भएपछि छाडिएको थियो ।

प्रहरीका अनुसार पीडितलाई धम्की दिँदा प्रयोग भएका मोवाइल नम्वरहरु र प्रतिवादीहरुको मोवाइल नम्वरहरुको कल डिटेल विश्लेषण, फेसवुक, इमो लगायतका सामाजिक सञ्जालहरुवाट प्राप्त सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको थियो । उनीहरुमाथि शरीर बन्धक बनाई आपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागू औषध वारदातमा मुद्दा दर्ता गरी सम्मानित झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा दुई जना महिलालाई जवरजस्ती यौन धन्दा (वेश्यावृत्ति) मा लगाएकोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका अभियुक्त समेत रहेको खुलेको छ । उनीहरुको साथबाट बा १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिको शिलप्याक बोतल तीन थान, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लास्टिककको पेस्तोल जस्तो देखिने वस्तु बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्