Logo
साहित्य

कवितामा आकाश, चिन्तन र दर्शन



भौतिकशास्त्रको दृष्टिले आकाशको परिभाषा दिँदा वायुमण्डलको क्षेत्र वा पृथ्वीको बाहिरी भाग भनिन्छ । आध्यात्मिक परिभाषा दिँदा सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र आदि रहने खगोलीय क्षेत्र भनिन्छ ।

भौतिकवादी र आध्यात्मिकवादीले आकाशलाई हेर्ने दृष्टिकोण नै फरक छ । कोही बादलको घर मान्छन् भने कोही देवताको बासस्थल ।

मानिसको शरीरमा रहेका पञ्चतत्त्वमध्ये आकाश पनि एक पर्छ र अन्यमा पृथ्वी (माटो), जल (पानी), तेज (ज्योति) र वायु (हावा) र अन्य तत्व पनि आकाशमै निर्भर हुन्छन् । आकाश तत्त्वको सूक्ष्म विषय नै शब्द हो र शब्दले नै आकाश तत्त्वबारे जानकारी दिन्छ ।

सूर्यको प्रकाशमा धुलाका कणहरूले भरिएको आकाश नीलो र रात ताराहरूले भरिएको आकाश कालो रङमा देखिन्छ । साहित्यकारहरूले पनि आकाशको विशालतालाई आ–आफ्ना साहित्यमा ल्याएका छन्– गीत, गजल, कविता, निबन्ध आदि विधामा ।

कवि आर मानन्धरको गत वर्ष फागुनमा प्रकाशित ‘कवितामा आकाश’ (मञ्जरी, २०७८) काव्यकृतिले आकाशलाई विविध रूपबाट हेरेको छ । यसले पाठकलाई बेग्लै खालको स्वाद दिन्छ ।

छोटोछोटा, हाइकु जस्ता कवितामा रचनाकारले आफ्नो विचारको संसार नै अटाउन खोजेका छन् । कवितालाई आकाश, चिन्तन र दर्शन गरी तीन भागमा विभाजन गरी कवि– पत्रकार मानन्धरले काव्यप्रेमी पाठकलाई सजिलोसँग रसास्वादन गर्न सकिने व्यञ्जन पस्केका छन् ।

‘कवितामा आकाश’ भागमा आकाशलाई विभिन्न विम्ब वा उपमा दिएका छन् । आकाशलाई कतै आँखा, कतै सिरानी, कतै व्याप्ति त कतै मुक्ति, कतै निर्मलता, शून्यता, स्वच्छता आदि अनेकौँ विम्ब दिइएको छ ।

‘आकाश सपाट छ, धरती छियाछिया, किनभने यहाँ मानिस छ’– यस कविताले आकाशको स्वच्छता जनाएको छ भने ‘आकाश, कति मुक्त छौ तिमी, कि हेर्दै म आफैँमा पाउँछु मुक्ति’ कवितामा आकाशको मुक्त रूपको चर्चा गरिएको छ । कविले आकाशको शून्यतालाई रिक्तता नमानी बरु सम्पूर्ण विश्वब्रह्माण्डकै आत्मा मानेको छ ।

आकाशको शून्यतामा नै कविले अनन्त र असीमित पूर्णता महसुस गरेका छन् । र बाँच्नुको सारांश चुम्नलाई सबैलाई आकाश हुन सल्लाह दिएका छन् । मुक्त स्वरुपमा रहन चाहनेलाई आकाश जस्तै सर्लक्क मुक्त हुन पनि उनले आग्रह गरेका छन् ।

सङ्ग्रहको ‘चिन्तन’ भाग पनि सशक्त छ । जहाँ, मानिसका थुपै्र सङ्कीर्णताप्रति कविले व्यङ्ग्य गरेका छन् । जन्मदा देश, जाति र धर्म थाहा नपाएको बालक पछि तिनमा विभाजित भएपछि दुःख र पश्चात्ताप गर्छ । जन्मँदा निर्वस्त्र मान्छे पछि आफ्नो पापको पोको छोप्दै हिँड्नुपरेकामा कवि असन्तुष्टि व्यक्त गर्छन् र बरु मनलाई अश्लील संज्ञा दिन्छन् । अनि बालकको नग्नताका अघि ईश्वरको पवित्रता पनि फिका भएको ठोकुवा गर्छन् ।

तेस्रो भाग ‘दर्शन’ रहेको छ । यसमा पाँच वर्ष बौद्ध श्रमण गरेका मानन्धरका बौद्धदर्शन नजिकका थुपै्र कविता छन् । यसमा शान्त निद्राका साथ पाठकको निर्वाण प्राप्तिको कामना गरिएको छ । कसैप्रति प्रेमभाव व्यक्त हुनु नै सुन्दर कविता ठान्ने कवि सर्वाेत्कृष्ट कविता बोधगम्य नहुन पनि सक्ने विचार राख्छन् । कुनै कुनै कविता आकाशभन्दा गहिरा पनि भेट्न सकिने मान्यता राख्छन् ।

अचेल केही कवि स्थूल कवितामै रमाइरहेका छन् भने केही सूक्ष्मतातिर । कोही स्थूलताबाट सूक्ष्मतातिर लागेका छन् । स्वरूपका दृष्टिले पनि सूक्ष्म कविताले पाठकलाई नयाँ ज्ञानतिर डोहोर्याउँछन् । तिनलाई पनि चिन्तन मनन गर्न वा दर्शनको खोजीमा लाग्न प्रेरणा दिन्छन् ।

पत्रकार मानन्धर सूक्ष्म कवि हुन् । उनका कविता बौद्धदर्शनका पाठकले त सजिलै बुझ्न सक्छन् । कतिपय कविता धुस्वाँ सायमिका शैलीका पनि छन्, जुन विषयमा पनि विरोधाभास देख्ने । एकै कवितासङ्ग्रहमा जीवन, मृत्यु, निर्वाण, मुक्ति आदिका अनेक परिभाषा दिएर कविले सङ्ग्रहबाट पाठकलाई बेग्लै झङ्कार दिइएको छ ।

समसामयिक घटनामा आधारित कविता मात्रले सबै पाठकलाई अब सन्तुष्टि दिन सक्दैन । मानन्धरका जस्ता चिन्तन र दर्शनसम्बन्धी कविता पनि बारम्बार लेखिनुपर्छ । केही कवितामा विषय व भावहरू दोहोरिएका जस्ता लाग्छन् ।

कुनै कविता गद्य रचना हो कि भन्ने भान पनि पर्छ । अनि कतै पढिसके जस्ता लाग्ने कविता पनि भेटिन्छन् । तथापि, निकै कम समयमै अध्ययन गर्न सकिने यी कविताले पाठकलाई पनि कवि बनाउन सक्ने प्रेरणा दिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्