Logo
Logo

निसानले १० हजार कामदार हटाउँदै


- दृष्टि न्युज/संवाददाता


टोकियो, ८ साउन (एएफपी) । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ ।
निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् ।
कम्पनीका पूर्वप्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे ।
जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ ।

निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ ।
निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्