Logo
Logo

लोकमार्गमा हिलो र पहिराको सास्ती


- दृष्टि न्युज/संवाददाता


पर्वत, ९ साउन । यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ ।
त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ । गत १४ महीनायता पर्वतको मालढुंगादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ ।
स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ । त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’ फुटाइएकाले पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ ।
सडकमा साना–ठूला सवारी चाप बढ्दो छ । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन् । ‘हिँड्दाहिँड्दै भ्याप्लेखोला नजिकै ठूलो पहिरो खस्यो’, कुश्माका गोपी सुवेदीले भने, ‘सडक तीन घण्टा खुलेन, पोखरा पुग्दा मध्यरात भयो ।’ राजमार्गमा पहिरो खसेको एक घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौँसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ ।
मनसुन शुरु भएसँगै राजमार्ग फराकिलो पार्न खनेको माटो र गेग्र्यान सडकभरि छिरलिएको छ । त्यो सफा नगर्दा साना सवारीसाधन सडकमै पुरिन्छन । ‘धेरैपटक गुड्दागुड्दै ट्याक्सी पुरिएका छन्’, ट्याक्सी व्यवसायी भीम क्षेत्रीले भने, ‘पानी पर्दा हिँडिसाध्य छैन ।’ सामान्यतया डेढदेखि दुई घण्टाको कुश्मा–पोखराको यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले भने ।
सडकको कुश्मादेखि बेतेनी र कास्कीको नागडाँडाको केही भाग तथा फेदीदेखि याम्दीसम्मको सडकमा साना सवारीलाई निकै जोखिम भएको उनले बताए । कास्कीकै नागडाँडादेखि सराङकोट हुँदै विन्ध्यवासिनी निस्किने वैकल्पिक सडक भए पनि उक्त सडकमा बेला–बेलामा ट्राफिकले दुःख दिने गरेको व्यवसायीको गुनासो छ । सरकारीस्तरबाटै हुने यस्तो ज्यादतीबाट धवलागिरिका यातायात व्यवसायी आजित बनेका छन् । सराङकोट हुँदै पोखरा पुग्ने नागडाँडा–सराङोट–विन्ध्यवासिनी सडक मूल सडकभन्दा सात किलोमिटर छोटो र सजिलो भए पनि ट्राफिककै कारण जान नसकिएको साना सवारी चालकको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्