Logo
Logo

जिल्ला अस्पतालमै सुत्केरीले ‘उपचार नपाएपछि मृत्यु’


- दृष्टि न्युज/संवाददाता


धादिङ, १० साउन । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए ।
बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए ।
नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौँ पठाएको थियो । बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए ।
‘सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन्’ उनले भने, ‘चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।’
चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाएकी वस्तीको शव काठमाडौंबाट अन्तिम संस्कारका लागि बिहीबार राति नै नुवाकोट ल्याएर विरोधस्वरुप त्रिशूली अस्पतालमा राखिएको छ । सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेएका छन् ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुत्केरीलाई जतिसक्दो चाँडो काठमाडौँ लैजानुपर्ने भए पनि नुवाकोट ‘सुगम’ जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाइएकाले निजीस्तरको हेलिकप्टरमार्फत अस्पताल पु¥याउन ढिलाइ भएको थियो ।
समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भएपनि नवजात शिशुको काठमाडौँस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्