Logo
Logo

निशा अब ‘बिबी प्रो ट्रेनर’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन । एक समय मोडलिङमा सक्रिय थिइन् निशा पोमू लिम्बू । तर, उनी पछिल्लो समय मोडलिङमा खाशै देखिएकी छैनन् । मोडलिङमा नदेखिएपछि उनीप्रति चासो राख्नेहरुले भन्छन्, ‘निशा हिजोआज कता हराइन् ?’
तर, उनी हराएकी छैनन् । निशा भन्छिन्, ‘म यही छु । कतै हराएकी छैन ।’ मोडलिङमा प्रत्यक्षरुपमा नभएपनि उनी ग्ल्यामरससँगै जोडिएको फिटनेश व्यवसायीमा सक्रिय छिन् । मोडलिङमा व्यस्त भइरहेकै बेला डान्स फिटनेश ‘जुम्बा’ व्यवसायी रोजेकी निशा अहिले ‘बिबी प्रो ट्रेनर’ बनेकी छन् ।
काठमाडौंबाट जुम्बा सुरुवात गरेकी उनले करिब एक वर्षअघि झापाको विर्तामोडमा ‘राईजिङ फिटनेश स्टुडियो’ सञ्चालनमा ल्याएकी थिइन् । त्यसपछि जुम्बा ‘स्ट्रक्चर’ बनेकी निशाले यसैसाता राजधानीमा ‘बिबी प्रो ट्रेनर’को प्रमाणपत्र ग्रहण गरेर झापा फर्किइन् । झापा पर्किनुअघि उनले भनिन्, ‘अब म पनि ‘बल्लीबिट्स’ ट्रेनिङ गराउन पाउँछु । यो प्रमाणपत्र पाएपछि नेपालमा मात्र नभएर संसारका कुनै पनि देशमा ट्रेनर हुन पाउँछु ।’
‘बिबी प्रो ट्रेनर’ ‘बल्लीबिट्स’अन्र्तगत एउटा ट्रेनरको खुड्किलो हो । पछिल्लो समय ‘बल्लीबिट्स’ भारतलगायत अष्ट्रेलिया, सिंगापुर, दुवई, इण्डोनेसिया, हङकङजस्ता मुलुकमा लोकप्रिय हुँदै गएको छ । त्यस्तै, नेपालमा पनि ‘बल्लीबिट्स’को लोकप्रियता बढ्दै गएको छ । तर, त्यसका लागि यहाँ खाशै ट्रेनरहरु छैनन् ।
‘बल्लीबिट्स’ एउटा यस्तो डान्स वर्कआउट हो, जसबाट मनोरञ्जनसँगै फिटनेशको भरपूर्ण फाइदा लिन सकिन्छ । कुनै समय नेपालमा जुम्बाको यस्तै ट्रेण्ड भित्रिएको थियो । त्यो ट्रेण्ड अहिले नेपालको प्रत्येक मुख्य सहरहरुमा चलेको छ । यस्तै, अहिले बलिउडबाट विकासित भएको ‘बल्लीबिट्स’को ट्रेण्ड विभिन्न मुलुकमा चलिरहेको छ ।
दुई दिने तालिमपछि बल्लीबिट्सको ‘बिबि प्रो ट्रेनर’ बन्छ । निशालगायतका बल्लीबिट्स ट्रेनर बन्न चाहनेहरुलाई बैंग्लोरबाट आएका बल्लीबिट्स फाउण्डर रोहित साउदले दुई दिने ट्रेनिङ दिएका थिए । साथै, नेपालका लागि अथ्योरिटी पाएका सरोज दुलाल, दिलिप साउद र प्रतिमा आलेलगायतका ट्रेनरहरुको पनि सहभागिता थियो ।
भारतको बैंग्लोरस्थित बल्लीबिट्सका फाउण्डर रोहितका अनुसार बल्लीबिट्समा मास्टर ट्रेनर, एम्बास्डर र एर्लड ट्रेनरजस्ता पदहरु हुन्छन् । तीमध्यको एक हो, ‘बिबी प्रो ट्रेनर’। यो ट्रेनरको प्रमाणपत्र हासिल गरेसँगै हिजोकी ब्यस्त मोडल निशा, अब बिबी प्रो ट्रेनर निशा पोमू लिम्बू बनेकी छन् । ‘हिजोआज निशा कता हराइन् ?’ भन्नेहरुलाई उनको जवाफ यस्तो आउनसक्छ, ‘अहिले म बिबी प्रो ट्रेनर बनेकी छु, बल्लीबिट्स सिक्ने मन भए म कहाँ आउनुहोला ।’

प्रतिक्रिया दिनुहोस्