Logo
Logo
टिप्पणी

बाबुरामको विचल्ली !



काठमाडौं । नेपालीमा एउटा उखान छ- ‘बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै !’ अहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जीवनसँग सो उखान जस्तै बनेको छ ।

जनयुद्धलाई एउटा निर्णायक अवस्थामा पुर्याउने नेता बाबुराम अहिले कुहिरोको कागजस्तै बनेका छन् । विगत सात वर्षदेखि बाबुराम निकै विचल्लीमा छन् । माओवादी छाडेदेखि बाबुरामको राजनीति जिवनमा उतारचढाबमै बितिरहेको छ ।

०७२ यता बाबुरामले गरेका प्रयोगहरूको असफलका श्रृंखला धरै छन् । उनी असफलताकै मैदानमा बसेर एकपछि अर्को प्रयोग गर्दैछन् ।

माओवादी छोडेपछि बाबुरामले चार घुम्ती पार गरिसके । उनी अहिले पाँचौ मोडमा छन् । त्यसको लागि मेलोमेसो मिलाउँदै छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट कारबाहीमा परेका बाबुरामले यतिबेला नयाँ पार्टी गठनको प्रक्रियामा छन् । पार्टीको नाम समेत टुंगो लागि सकेको छ- नेपाल समाजावदी पार्टी ।

वैकल्पिक राजनीतिक शक्ति चाहिने भन्दै उनी फनफनी घुमिरहेका छन् । तर, अझै वैकल्पिक राजनीतिको कुनै जरा भेटाउन सकेका छैनन् । जनयुद्धलाई एउटा निर्णायक अवस्थामा पुर्याउने अहिले कुहिरोको कागजस्तै बनेका छन् ।

०७२ असोज ९ मा माओवादीलाई भूकम्पमा भत्किएको रातोघरको संज्ञा दिँदै बहिरिएका थिए, बाबुराम । त्यसपछि उनी यति अस्थिर भए कि, कुनै पार्टीमा टिक्नै सकेनन् । बौद्धिक नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम जुनै पार्टीमा प्रवेश गरे पनि वा पार्टी निर्माण गरे पनि टिक्न सकेनन् छैनन् ।

मुलुकलाई आर्थिक समृद्धितिर लैजान वैकल्पिक राजनीतिक शक्ति चाहिने भन्दै उनी फनफनी घुमिरहेका छन् । तर, अझै वैकल्पिक राजनीतिको कुनै जरै भेटाउन सकेका छैनन् ।

माओवादीबाट छुट्टिएर नयाँ शक्ति र त्यसपछि तराईको क्षेत्रीय राजनीतिसँग जोडिएका बाबुरामले जुन यात्रा तय गरे, त्यो सबै यात्रा असफल बनिरहेको छ ।

वैकल्पिक राजनीति शक्तिकै खोजीमा उनले ०७३ को जेठ ३० मा नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए । रंगशालाबाट नयाँ शक्ति घोषणा गर्दा उनको उत्साह र उमंग छुटै थियो । जोश, जाँगर बेग्लै थियो । सुन्दरी नायिकाहरुको साथ मखै थिए । नयाँ शक्ति बनाउन उनले ठूलो मिहिनेत पनि गरे । तर, हात लाग्यो, शून्य ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति पार्टीबाट उनी बाहेक कसैले जितेनन् । प्रदेशसभामा ३ जना उम्मेदवार विजयी भए । त्यसपछि नयाँ शक्तिको चर्चा सेलाउँदै गयो । नयाँ शक्तिबाट पार नलाग्ने देखेपछि उनी विरक्तिए !

उनको नयाँ यात्रा तीन वर्ष पनि टिकेन । ०७६ वैशाख २२ मा नयाँ शक्तिको अस्तित्व नै नरहने गरी पार्टी एकता गरे । नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको घोषणासहित नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भयो । उक्त एकताले एउटा तरङ्ग पनि ल्ययो ।

उपेन्द्र यादव र बाबुराम नेतृत्वको पार्टीबीच एकता भएपछि ‘समाजवादी पार्टी नेपाल’ बन्यो । चुनावी नतिजाबाट हार खाएपछि सबैभन्दा ठूलो पार्टीको दोस्रो नेताको रुपमा काम गरेका बाबुरामले क्षेत्रिय पार्टीका नेतलाई अध्यक्ष स्वीकारे । उनी, संघीय परिषद् अध्यक्षको भूमिकामा सिमित भए ।

दुवै पार्टी र नेताको पृष्ठभूमि फरक फरक । तादम्य नै मिलेन । एक वर्षमै समाजवादी पार्टी नेपालको यात्रा टुंगियो । ०७७ वैशाख १० गते सबै मधेश केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी (जसपा) गठन भयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर मधेस केन्द्रित दल फुटाउन खोजेको भन्दै समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले रातारात एकता गरेर जसपा बनाए ।

जसपा, गठन भएपछि बाबुराम थपना मात्रै भए । संघीय परिषद् अध्यक्षमै उनलाई थन्क्याइयो ।

‘हतारको काम लतार’ भन्छन् । जसपा पनि त्यस्तै भयो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको एकता धेरै टिक्न सकने ।

०७७ पुष ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघठन गरे । त्यसपछि पूर्व समाजवादी नेपाल र पूर्व राजपाको धार छुटियो ।

पूर्व राजपाले ओलीको असंवैधानिक कदमलाई साथ दियो । पूर्व समाजवादी ओलीको असंवैधानिक कदमविरुद्ध लागे । उनीहरु एउटै घरमा अटाउन सकेनन् । पूर्व राजपा छुट्टियो । महन्थ ठाकुर समूह नयाँ दल बनाएर हिँडे । अहिले महन्तको नेतृत्वमा लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) नेपाल गठन भएको छ ।

लोसपा छुटिएर गएपछि जसपामा पूर्व नयाँ शक्ति र पूर्व समाजवादी फोरम पनि बल्झियो । उपेन्द्र र बाबुरामले आ-आफ्ना गुट बनाउन थाले ।

पार्टीमा व्यक्तिवादी एकलौटी प्रणाली हटाउन, विवाद आउन नदिन र वैचारिक बहस गर्ने पक्षमा पक्षमा बाबुराम उभिइरहे । उता उपेन्द्र यादवले एकल रुपमा पार्टी चलाउन थाले । उनीहरु मिलेर बस्न नसक्ने स्थितिमा पुगे ।

यसैबीच स्थानीय तको निर्वाचनको आयो । पाँच दलीय गठबन्धनमा रहेको जसपाको भागमा धेरै पालिका पर्न सकेन । त्यसमा पनि उपेन्द्र समूह नै हाबी भयो । बाबुराम समूहले थोरै टिकट पाएको भएपनि जित हात परेन ।

स्थानीय तहको चुनाव सकिएलगत्तै जसपाभित्र फेरि विवाद चर्कियो । पार्टीमा चुनावी समीक्षा समेत हुन सकेन । उपेन्द्र र बाबुराम एउटै पार्टीमा बस्न नसक्ने भए । बाबुरामले सहमतिमै आ-आफ्नो बाटो लाग्ने प्रस्ताव गरे । उपेन्द्र पनि सहमत भए ।

उपेन्द्रसँग पानी बाराबार भएपछि बाबुरामले लोसपासँग मिल्ने प्रयास गरे । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र बाबुरामबीच एकपटक छलफल पनि भयो । तर, लोसपाले बालै दिएन । बाबुरामको हैसियत नै भेटेन ।

लोसपाले बाल नदिएपनि पुरानै पार्टी माओवादी केन्द्रमै फर्कन खोजे । तर, भूकम्पमा भत्किएको घरमा ढोकै भेटेनन् । बाबुरामले माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग ‘नयाँ घर’ बनाउने प्रस्ताव राखे- समाजवादी केन्द्र ।

नयाँ घरको प्रस्ताव सकारात्मक भएको भन्दै प्रचण्डले पुरानै घरलाई मर्मत गर्न जोड दिए । तर, ‘भूकम्पले भत्किएको घर’मा किचिने डर भयो बाबुरामलाई । माओवादी परित्याग गरेपछि माओवादीविरुद्ध गरेका अनेकौं टिप्पणीका कारण फर्कन सहज भएन ।

त्यसपछि अब फेरि उनी अर्को मोडमा आइपुगेका छन् । नयाँ पार्टी गठन गर्ने उनको अन्तिम तयारी छ । उनको पार्टीको नाम पनि जुराइसकेका छन्, नेपाल समाजावदी पार्टी ।

अबको उनको यात्रा कस्तो हुने हो भावी दिनहरूले बताउनेछ । बाबुरामले अब गठन गरेको पार्टी पनि उनका अन्तिम हुन्छ कि हुँदैन भन्ने पनि भावी दिनहरुकाले बताउने छ ।

प्रतिक्रिया दिनुहोस्