Logo
Logo

नेतृत्व कमजोर हुँदा प्रहरीमा बढ्यो घुसखोरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन ।
प्रहरीमा भ्रष्टाचार मौलाएको छ । प्रहरी नेतृत्व कमजोर हुँदा घुसखोरी बढेको गृह मन्त्रालयका अधकिारीहरु बताउँछन् ।
पछिल्लो चार दिनमा चार प्रहरी घुससहित पक्राउ परेका छन् । आइतबार,सोमबार, र बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार प्रहरीलाई पक्राउ गरेको हो ।


बुधबार साँझ महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई आयोगले पक्राउ गरेको छ । सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर छुटाइदिने भन्दै उनीहरुले १८ हजार रुपैयाँ घुस लिएका थिए । पिंगलास्थानबाट उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तका आफन्तसँग उनीहरुले पैसा लिएका थिए । पक्राउ परेका प्रहरी मुद्दा शाखामा कार्यरत भएकाले यसमा अन्य प्रहरीको पनि संलग्नताको आशंका गरिएको छ ।
सोमबार अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल पक्राउ परेका थिए । काँकडभिट्टा – काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने भन्दै उनले पाँच हजार रुपेयाँ घुस लिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्व–पश्चिम सडकको दक्षिण किनाराबाट उनलाई पक्राउ गरेको हो ।
त्यस्तै,आइतबार प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापालाई आयोगले पक्राउ गरेको थियो । हार्डवेयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि उनले तीन हजार पाँच सय रुपैयाँ घुस लिएका थिए । तीन हजार पाँच सय घुससहित आयोगको टोलीले उनलाई ओमसतिया गाउँपालिका वडा नं.४ स्थित रेष्टुरेन्टबाट पक्राउ गरेको हो । प्रहरी संगठनमा अनुगमन र निरीक्षण प्रणाली कमजोर हुँदा यसरी घुसखोरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्