Logo
Logo

वीपी र पुष्पलाल आजसम्म बाँचेको भए…



न वीपी कोइरालाको बाटोमा नेपाली कांग्रेस हिँडेको छ, न पुष्पलालको बाटोमा कम्युनिष्ट पार्टीहरु नै । २०४६ सालको जनआन्दोलनको सफलतापछि आजसम्म यिनै पार्टीहरुले सरकारको नेतृत्व गरिरहेका छन् ।

वीपी र पुष्पलालको सोचअनुसार कांग्रेस र कम्युनिष्ट पार्टीहरु हिँडेको भए नेपाल दक्षिण एशियामै सबैभन्दा समृद्ध देश बन्ने थियो । तर, नेतृत्वको गलत चिन्तन र व्यवहारका कारण नेपाल दक्षिण एशियामै दरिद्रको देश बन्न पुगेको छ ।

२००७ सालदेखि अहिलेसम्म लोकतन्त्रको माध्यमबाट छिमेकी भारत विश्वकै समृद्धितिर लम्कँदै छ भने, छिमेकी चीन शक्ति राष्ट्रका रुपमा उदाउँदैछ । यी दुई विशाल छिमेकीको बीचमा रहेको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि आर्थिक विकासको हिसाबले उल्टो दिशातर्फ जाँदैछ ।

किन ? किनभने न वीपीको चिन्तन उसका उत्तराधिकारीले बोकेका छन्, न पुष्पलालको चिन्तन कम्युनिष्ट नेताहरुले नै । यी दुई विपरीत ध्रुवका नेताको चरित्र र व्यवहार उस्तै छ ।

न यी नेताहरुले सुशासन कायम गर्न सके, न आर्थिक विकास नै । यी दुई पार्टीका नेता र कार्यकर्ता चुर्लुम्म भ्रष्टाचारमा डुबेका छन् । सत्तामा बसेर कसरी कमाउने भन्दा अरु चिन्ता यिनमा छैन ।

वीपीको तुलना शेरबहादुर देउवासँग गर्न मिल्दैन । पुष्पलालको तुलना केपी शर्मा ओलीसँग गर्न मिल्दैन । किनभने, देउवा र ओलीको विचार फरक भए पनि चरित्र उस्तै छ । एउटाले बूढानीलकण्ठमा दरबार ठड्याएका छन्, अर्कोले बालकोटमा ।

सबैले देखेको कुरा हो, हिजो पञ्चायतकालमा डेरामा बस्ने यी नेता, कार्यकर्ताहरुको आज काठमाडौंमा करोडौंको बंगला, गाडी र सम्पत्ति छ । जीवनभर राजनीति गरेको व्यक्तिले यत्रो धन सम्पत्ति कसरी जोडे भन्ने कुरा कसैले खोज्दैन । खोजोस् पनि कसरी ? खोज्ने निकायमै यिनै भ्रष्ट नेताहरुको सिफारिसमा नियुक्त खानेहरु भर्ति भएका छन् ।

वीपी र पुष्पलाल आजसम्म बाँचेको भए तिनीहरुले पनि यसै गर्थे वा गलत बाटोमा लाग्नेहरुमाथि अनुशासनको डण्डा चलाउँथे त्यो अनुमानकै कुरा भए पनि वीपीपछि बाँचेका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदर्श नेता थिए । त्यस्तै पुष्पलालपछिका मनमोहन अधिकारी, मदन भण्डारी, तुलसीलाल अमात्य पनि सादा जीवन उच्च विचारकै थिए ।

मोहनचन्द्र अधिकारी जीवितै छन् । उनी पनि सादा जीवन उच्च विचारमा बाँचिरहेका छन् । जसले बाँचुन्जेल देशलाई दिए, देशबाट केही लिएनन् । पुष्पलाल बाँचुञ्जेल दुःख पाए । बनारसको गल्लीमा उनलाई विद्यार्थीहरुले चिया खुवाउँथे । डेरा भाडा र हजार पन्ध्र सय खर्च पुर्याउन कवि नरेन्द्रबहादुर श्रेष्ठ रक्सौलबाट बनारस पुग्थे ।

मदन भण्डारीले बाँचुन्जेल नक्सालको डेरामा बिताए । उनको डेरामा एक जोर सोफासमेत थिएन । तिन सय पर्ने चार जोर वेदका कुर्ची थिए । सवारीसाधनको नाममा एउटा साइकल थियो ।

वीपीको तुलना शेरबहादुर देउवासँग गर्न मिल्दैन । पुष्पलालको तुलना केपी शर्मा ओलीसँग गर्न मिल्दैन । किनभने, देउवा र ओलीको विचार फरक भए पनि चरित्र उस्तै छ । एउटाले बूढानीलकण्ठमा दरबार ठड्याएका छन्, अर्कोले बालकोटमा ।

राजनीतिक जीवनमा यिनीहरुले कमाएको भनेको यति मात्र हो, वीपी र पुष्पलालले जस्तो सम्मानजनक इतिहास यिनीहरुले कमाउन सक्दैनन् । देउवाको दरबारमा वीपीको फोटो झुन्ड्याएको छ । ओलीको दरबारमा पुष्पलालको । तर, दुवैको चरित्र र व्यवहार समान छ, एउटाले प्रजातन्त्र ज्ञानेन्द्रलाई बुझाए । अर्कोले दुईतिहाइ संसद् भंग गरे ।

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि केशरजंग रायमाझीले पार्टी कब्जा गरे । पुस ५ गते ओलीले संसद् भंग गरेपछि एमाले कब्जा गरे । २०२५ सालमा पुष्पलालले विद्रोह गरेर कम्युनिष्ट पार्टीलाई एकीकृत गरे । २०७८ सालमा माधवकुमार नेपालले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) निर्माण गरे ।

अब त्यसको औचित्य पुष्टि गर्न इमान्दार कम्युनिष्ट कार्यकर्ताहरुको एउटै मोर्चा बन्नुपर्छ र त्यो मोर्चाले बहुमतको सरकार स्थापना गरेर कम्युनिष्ट आन्दोलनभित्रको विकृति, विसंगति हटाउनुपर्छ । पुष्पलालप्रतिको सम्मान यही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्