Logo
Logo

हर हर महादेव : सहिमाको यसपाली पक्कै केही होला ! (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ साउन । पछिल्लो समयकी चर्चित गायिका सहिमा श्रेष्ठले यसपालीको तीजलाई लक्षित गर्दै ‘हर हर महादेव’ बोलको तीज गीतको भिडियो ल्याएकी छन् ।
गीतमार्फत सहिमाले आफ्नो मनको भावना दर्शकमाझ व्यक्त गर्ने प्रयास गरेकी छन् । यसपालीको तीजमा ‘केही त होलाकी’ भन्ने उनको आशय छ । ‘हर हर महादेव’ भन्दै सहिमाले ‘कयौँ तीजमा व्रत बस्दा पनि कोही साथी नभेटिएको र यो वर्षको व्रतले शीरमा सिन्दुर भरिदिने कोही आईदेउ’ भन्ने आफ्नो मनको भावना दर्साएकी छन् ।
गीतकार तथा कवि अमर वान्तुको शब्दरचना र सहिमाको स्वर रहेको गीति एल्बम ‘अमर भावना–२’को शनिबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो । जसमा ‘हर हर महादेव’ र ‘तिम्रो सहर’ बोलका दुई गीत समावेश छन् । एल्बमको गीतकार तथा पूर्वमन्त्री एसपी कोइरालालगायतका स्रष्टाले सार्वजनिक गरेका थिए ।
पछिल्लो समय ‘भर्सटायल गायिका’का रुपमा समेत चिनाएकी सहिमाले पाश्र्व र आधुनिक गायनमा व्यस्तका बाबजुद हरेक वर्ष तीजमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छन् ।

यस्तै, यसपटक पनि हरितालिका तीज नजिकिँदै गर्दा सहिमाले ‘हर हर महादेव’ बजारमा ल्याएकी हुन् । एल्बम तथा तीज गीत सार्वजनिक गरेपछि सहिमाले भनिन्, ‘तीजमा नेपाली दिदी–बहिनीहरुलाई नचाउन नयाँ गीत ल्याएकी हुँ ।’ हुन पनि ‘हर हर महादेव’ बोलको गीत सुन्दै नाचुँ–नाचुँ लाग्ने छ । सहिमाले गतवर्ष पनि ‘पहिलो नम्बर’ बोलको तीज गीत ल्याएर खुबै नचाएकी थिइन् । यस्तै, यसपालीको तीजमा पनि गीतमार्फत भगवान शिवजीको नाम पुकार्दै नेपाली नारीहरुलाई नचाउने उनको मनशाय छ ।
सन्तोष श्रेष्ठको संगीत रहेको ‘हर हर महादेव’को भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका सहिमाकै अभिनय तथा नृत्य रहेको छ ।
‘अमर भावना–२’ को अर्को गीत ‘तिम्रो सहर’मा भने अहिलेका चर्चित संगीतका दीपक शर्माको संगीत रहेको छ । गीतकार वान्तुको सार्वजनिक ‘अमर भावना–२’ दोस्रो एल्बम हो । उनले गत वर्ष यसैबेला ‘अमर भावना’ एल्बम सार्वजनिक गरेका थिए । कार्यक्रममा गीतकार वान्तुले अहिलेकी चर्चित गायिकासँग एल्बम गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यसपटक एल्बम ल्याउने मनै थिएन । तर, गायिका सहिमा श्रेष्ठसँग भेट भएपछि ‘अमर भावना–२’ जन्मियो ।’ उनले गायिका सहिमाको प्रशंसा गर्दै भने, ‘उहाँ (सहिमा) स्टेज क्वीन भनेर पनि चिनिनुहुँदोरहेछ, आज उहाँसँगै एल्बम निकाल्ने अवसर मिल्दा खुसी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्