Logo
Logo

बस्दै नबसी नेकपा सचिवालय बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा स्कुल विभागको नेतृत्वमा सहमति नजुटेपछि आइतबार बस्ने भनिएको बैठक बस्दै नबसी सरेको छ । अब अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान पनि बालुवाटारमा छलफल भएको थियो । तर, स्कुल विभागमा सहमति नहुने देखिएपछि बैठक सारिएको बताइएको छ ।
केन्द्रमा रहने ३२ विभाग, २२ जनवर्गीय संगठन र एउटा प्रतिष्ठानको जिम्मेवारी आइतबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने तय भएको थियो । यसअघि पनि स्कुल विभागको नेतृत्वमा विवाद देखिएपछि सचिवालय बैठक दुई पटकसम्म स्थगित भएको थियो ।
स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गर्दै आएका छन् । त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले दाबी गर्दै आएका छन् ।
स्कुल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आ–आफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन लागेपछि सहमति हुन नसकेको हो ।

नेकपामा स्कुल विवादमा विवाद देखिए पनि अन्य विभागको नेतृत्वमा भने खास समस्या देखिएको छैन । संगठन विभागमा वामदेव गौतम, विदेश मामिलामा माधव नेपाललाई जिम्मा दिने तयारी गरिएको छ । तर, स्कुल विभागको नेतृत्वमा दाबी गरिरहेका सचिवालय सदस्य घनश्याम भुषालले अध्यक्षद्वयले विभागको नेतृत्व लिनु गलत भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्