Logo
Logo

जेवी दाजु- एक बारको जुनी भन्दै गीत गाइरहे



कवि विक्रम सुब्बा दाजुले लेखेको प्रशिद्ध गीतको मुखडा–

आकाश मुनी एक बारको जुनी, त्यो फेरी पाईदैन
मरनपछि पाइने स्वर्ग, हामीलाई चाहिँदैन…

जल्दोबल्दो अघोरी माक्र्सवादी हुँदा हामीले यो गीत खुब घन्कायौं । कथित पुनःजन्म, स्वर्ग, नर्कजस्ता अन्धविश्वासको भूमरीबाट बाहिर निस्कन यो गीतको माध्यमबाट जनसमुदायमा चेतना छर्ने कोसिस गर्यौ । प्रस्तुत गीत घन्काउने मध्येका एक, जेवी टुहुरे दाजु पनि थिए । जेवी दाजुको निधन २०७८ भदौ १० गते काठमाडौंमा भयो ।

आजभोली वैज्ञानिक–सांस्कृतिक चेत गुमाउँदै गएका छौं । र, भेट्रान कम्युनिष्टको मृत्युपछि उनको नामको अगाडि स्वर्गीय (स्व.) लेख्छौं । जेवी दाजुको निधनपछि पनि धेरैले ‘स्व.’ नै लेखे । अब पनि उनको नाम अगाडि स्व. लेख्यौं भने उनको विश्वासमाथि घात हुनेछ । जेवी दाजुको प्रथम वार्षिकी आउँदै छ । यसपटक त्यो गल्ती दोहोर्याउनु हुन्न ।

न स्वर्ग, न नर्क
माक्र्सवादीहरु भौतिकवादी हुन् । अध्यात्ममा जस्तो स्वर्ग र नर्कको कल्पना गर्दैनन् । पुनःजन्ममा विश्वास गर्दैनन् । यसर्थ माक्र्सवादीहरुको मृत्युपछि उनको नाम अगाडि स्वर्गीय (स्व.) लेख्नु अर्थ छैन ।

गैर माक्र्सवादी पुनःजन्म, स्वर्ग र नर्कमा विश्वास गर्छन् । त्यसैले मृत्युपछि नामको अगाडि स्वर्गीय (स्व.) लेख्छन् । अर्को जुनी पाइने आशाले अन्धविश्वासमा भड्किन्छन् ।

जेवी दाजुले ०३३ सालमा ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै, सुखको सँधै प्यासी बनेर’ बोलको गीत धरानमा गाए । त्यसपछि उनको गीती यात्रा कोशे ढुंगो बन्यो । …नत्र त उनी पनि सोल्टेनी कान्छीलाई फकाउने, भगाउने गीतमै अल्मलिरहेका हुन्थे सायद !

रमाइलो कुरा चाहिँ, आजसम्म कसैले नामको अगाडि ‘नर्कीय’ भनेर लेखेका छैनन् । मरेपछि सबै स्वर्गवासी, बैकुण्ठवासी हुन्छन् !

जेवी यो आकाश मुनी एक वारको जुनी लिएर आएका उनै जनगायक हुन् । मरन पछिको स्वर्ग उनको विश्वास हैन । जेवी दाई जनसञ्चारका क्षेत्रका यस्ता एक नक्षत्र हुन् ।

वृत्तचित्र र स्मृतिः
यो कुरा किन उठान गरिएको हो भने प्रशिद्ध जनगायक जेवी टुहुरेको प्रथम वार्षिकी आउँदैछ । यो अवसरमा जेवी टुहुरेको जिवनसँग सम्वन्धित वृत्तचित्र रस्मृति संग्रह प्रकाशित हुँदै रहेछ ।

केहि महिनादेखि जेवी टुहुरेसँग सम्वन्धित, राजनयिक, गायक, संगीतकारहरुको खोजीमा मेरो नाम पनि परेको छोरी निर्भिका टुहुरे (जेवी टुहुरे स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् जेवी दाईको छोरी)मार्फत दूरभाष सम्पर्कबाट थाहा पाएको थिएँ ।

उनीहरुले खोज्दा म ठीक विपरित दिशामा हुन्थे । धरानमा खोज्दा काठमाडौं आइसकेको हुन्थे । काठमाडांैमा खोज्दा धरान पुगिसकेको हुन्थे । यो लुकामारीले वृत्तचित्र बनाउने काममा अलमल भएको हुनसक्छ ।

गएको जेठ २० गते अचानक छोरी निर्भिकाको फोन मेरो कानमा गुन्जियो । र, मैले ललितपुर सातदोवाटोको एउटा स्टुडियोमा गएर टुहुरेसँगको सांगीतीक जीवनको सहयात्रा सम्वन्धि संस्मरण वृत्तचित्रका लागि सुनाएँ ।

टुहुरेको संस्मरणमा लेखेको लेखमा मैले सम्झेका हरफहरु नै अलिक आधिकारिक होलान् । कतिपय बेहोसीको कारण मिति मौखिक बोल्दा वृत्तचित्रमा तलमाथि भएको हुनसक्छ । यसर्थ तमसुक गर्दा अक्षेरेपीलाई मान्यता दिए जस्तै लिखतलाई आधिकारिक मान्नुपर्ने हुन्छ ।

धरानको नयाँ लहर सांगीतिक समूहबाट गायन यात्रा सुरु गरेका टुहुरेले ०३३ सालमा धरानको नेपाल भूतपूर्व सैनिक विश्राम भवन (सैनिक भवन)को सभाहलमा ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै, सुखको सँधै प्यासी बनेर’ बोलको गीत गाएपछि नै उनको गीती यात्राको कोशे ढुंगो बन्यो ।

संकल्प परिवारको उदय यहिँबाट भयो । नत्र त उनी पनि सोल्टेनी कान्छीलाई फकाउने, भगाउने गीतमै अल्मलिरहेका हुन्थे सायद !

यसपछि उनी कहिल्यै पछाडि फर्केनन् । एक बारको जुनी भन्दै गीत गाइरहे । पुनःजनमलाई साँचेनन् । त्यसकै प्रतिफल हो– आजको परिवर्तन ।

मञ्जुल, रामेस, अरिम, श्याम तमोट, रामकृष्ण दुवाल, शम्भु राईलगायतले संकल्प परिवारको माध्यमबाट असंख्य गीत गायनमा सहभागिता जनाए ।

निर्भिकाको सक्रियता
छोरी निर्भिकाको बाबुप्रतिको श्रद्धा, माया देखेर म जेठ २० गते नै चकित परेँ । यो वित्तचित्र र संस्मरण संग्रहमा उनको सक्रियता प्रशंसनीय छ । छोटो भेटमै उनले धेरै गर्न खोजेको लागेको छ ।

मैले वित्तचित्रमा बोलीरहँदा सँगै बसेर मेरो कुरा ध्यानपूर्वक सुनिरहे । उनको अनुहार पढिरहेको थिएँ । बढो भावुक मुद्रामा मैले बोलेको कुरामा ध्यान दिइरहेका थिए ।

जाँदा जाँदै धरान (विसं २००१)मा जन्मेका टुहुरेको जन्म स्थल हालको धरान वडा न. ३ लाई जेवी टुहुरे मार्ग नामाकरण गर्न, त्यसै स्थानमा शालिक निर्माण गर्न पहल गरिदिन अनुरोध गरे ।

यो सार्वजनिक लेखोटमार्फत के अपील गर्न चाहान्छु भने– धरानको काखमा जन्मेको जनगायकको नाममा सडकको नामाकरण गर्नु, टुहुरेको योगदानको कदर गर्दै शालिक निर्माण गर्नु र जेवी टुहुरे प्रतिष्ठान निर्माणमा योगदान गर्नु उप–महानगरपालिकाले गौरवको विषय बनाउनु पर्छ ।

यसै दिशातर्फ आउँदो भदौ १० गते जेवीको प्रथम स्मृति दिवस पारेर सडक नामाकरण, प्रतिष्ठान तथा शालिक निर्माण गर्न धरान उप–महानगरपालिका समक्ष माग गर्दछु ।

जेवीको सम्झना
जनगायक जेवी टुहुरेको निधन भएको आगामि भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्मस्थल धरानमा ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा श्रष्ठा सम्मान कार्यक्रम’ हुँदैछ ।

ख्यातीप्राप्त श्रष्ठाहरुको सम्मानसहित सोही दिन जेवी टुहुरेको सम्झनामा सांगीतिक उत्सव हुनेछ । उनै जनगायकको उच्च मूल्याङ्कन गर्न यी हरफहरु समर्पित छन् ।

प्रतिक्रिया दिनुहोस्