Logo
Logo

साहित्यकार अप्सराको निधन


- दृष्टि न्युज/संवाददाता


हेटौडा, १३ साउन । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ ।
स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता संग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उनी आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष थिइन् ।
उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । ‘लामो समयदेखि साहित्य क्षेत्रमा लाग्नुभएकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो’, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भनिन् । उनको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताउनुभयो । उहाँको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्