Logo

पुष्पलालकै बाटोमा हिंडेको मिथ्या दावी



जबरजस्त क्रान्तिका कुरा गर्ने कम्युष्टिहरू नै भित्रीरुपमा दरबारसँग मिलेको समय थियो । वीपी कोइराला कम्युनिष्टसँग मिलेर जानु हुँदैन भन्नेमा थिए ।

शहीद गंगालालका भाइ पुष्पलालले नेपाली समाजको जुन सुक्ष्म अध्ययन गरेर क्रान्तिको बाटो देखाए, अन्ततः त्यही नै बहुदलीय व्यवस्थाप्राप्तिको बाटो हुँदै राजतन्त्रको अन्त्यको मूल जग हो भन्ने कुरामा कुनै विमति रहेन । यो सत्य इतिहासको पानामा सुनौलो अक्षरले लेखिएको छ ।

पुष्पलालले देखेको सम्मुनत नेपाल बनाउन नेपाली जनताले विश्वास गरेरै २०७४ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीलाई जताततै जिताएका थिए । गाउँमा कम्युनिष्ट राज, नगरमा कम्युनिष्ट राज, प्रदेश र संघमा कम्युनिष्ट राज । संसारै चकित पर्ने गरी जनताले माया गरेर वामपन्थीलाई जिताइदिए ।

लगातारको विग्रह, अशान्ति र झगडादेखि आजित नेपाली जनताले गरेको आशा कार्यकाल पूर्ण नहुँदै निराश भयो । तिनै मानिस जसले पुष्पलालले देखाइदिएको बाटो हिड्न छोडेर अहंकारको बाटो रोजे । उनीहरूले पनि आफूहरू पुष्पलालकै बाटोमा हिंडेको मिथ्या दावी गरे, स्मृति दिवसको दिन ।

सोझा पुष्पलालले फाइदाको राजनीति गरेनन् । आज राजनीति पेशा भएको छ । पैसा नहुने मानिस राजनीतिमा लागेर देशको निम्ति केहि गर्छु भनेर कम्युनिष्ट पार्टीभित्र पस्न सक्ने स्थिति छैन । कपट र धूर्त मगजको शिकार भएको छ, राजनीतिको मियो ।

त्यो समय, शान्तिपूर्ण एकीकृत आन्दोलनको विचार ल्याउँदा पुष्पलाल गद्दार घोषित भए । ज–जसले गद्दार भने तिनले आत्मालोचना गरेर आफ्नो गल्ती स्वीकारे ।

आज मुलुकमा गणतन्त्र छ । बहुमतमा कम्युनिष्टहरू छन् । तर, शासन छ कांग्रेसको । यी मिल्न नसक्ने कम्युनिष्ट पार्टीका नेताहरु दिनप्रतिदिन खुम्चिंदै गैरहेका छन्, विनासको बाटोमा हिडिरहेकाहरु आफू बन्ने, आफ्नालाई बनाउने र सकेसम्म शक्तिमा छँदै अकूत सम्पत्ति कमाएर सुखसयलको जीवन बिताउने दौडमा छन् ।

उनीहरुका लागि पार्टी देश, गरिब, सर्वहारा, सिमाना, समाजवाद केवल चुनावी गफ मात्र भएका छन् । केन्द्रमा आफू र केवल आफ्ना छन् । तथापि, उनैले ‘पुष्पलालको भक्त हुँ’ भन्ने दावी गर्दै चम्पादेवीस्थित पुष्पलालको शालिकमा फूलमाला चढाउन छोडेका छैनन् ।

०५४ मा पाल्पाका तत्कालीन माक्र्सवादीसँग आवद्ध वरिष्ठ पत्रकार मेघराज शर्मासँग बर्दियामा तालिम चलाउन जाँदा पुष्पलालका मित्र गोविन्दप्रसाद ज्ञवालीसँग भलाकुसारी गर्ने अवसर प्राप्त भएको थियो ।

पुष्पलालका आनिवानी, दुःख कष्ट सबै नजिकबाट देखेका गोविन्द गुरुको भनाइ थियो– ‘पुष्पलालले कहिल्यै आफ्नो बारेमा सोच्नु भएन । असहमत विचार हुनेहरू पनि लड्ने बेलामा एकजुट हुनुपर्छ र यो देशलाई अघि बढ्न नदिने सामन्ती प्रथाविरुद्ध लड्नै पर्छ । यही नै अहिलेको बाटो हो ।’

इतिहासले पुष्पलालको बाटो सहि रहेछ भनेर देखायो नै । टुक्रिएर हैन मिलेर लडे मुक्ति सम्भव छ भन्ने सत्य रहेछ भन्ने प्रमाणित भयो ।

कम्युनिष्ट होस् या कांग्रेस, राजनीतिक मैदानमा उत्रिएका इतिहासका धेरै पात्रहरूमा सज्जन, सरल र सोझा पुष्पलालले फाइदाको राजनीति गरेनन । आज राजनीति पेशा भएको छ । पैसा नहुने मानिस राजनीतिमा लागेर देशको निम्ति केहि गर्छु भनेर कम्युनिष्ट पार्टीभित्र पस्न सक्ने स्थिति छैन । कपट र धूर्त मगजको शिकार भएको छ, राजनीतिको मियो । त्यसैले मानिसहरूले विद्रोह गर्न थालेका छन् ।

काठमाडौँको मेयरमा बालेन साहलाई किन काठमाडौँका सचेत जनताले जिताइ दिए ? नेतृत्वले अहँ चिन्तन गरेको छैन । दलहरूको मनपरीतन्त्रबिरुद्ध जनताको मौन प्रतिवाद हो यो ।

मानिस धमाधम प्रतिवादमा उत्रिए भने पुष्पलालका सच्चा हिमायती हौँ भन्नेको पनि भागाभाग नहोला भन्न सकिन्न । जुन जनतन्त्र, लोकतन्त्रको सपना देखेर पुष्पलालले सिंगो जीवन खर्चिए, पहिला दलभित्र लोकतन्त्र ल्याउ । वडा तहसम्मै गूट उपगूट सिर्जना गरेर वैरीको विजय हुन्छ । प्रतिस्पर्धा गर तर स्वस्थ ।

नेपालका कुनै पनि वामपन्थी दलहरूले यो कुराको पालन गरेका छैनन् । यदि, यस्तै गरे भने ढिलो चांडो गन्तब्य पश्चिम बङ्गाल नै हुनेछ । ढुक्क भए हुन्छ ।

अझै पनि लाइनमा फर्कने हो र समाज परिवर्तनको नेतृत्व गर्छु भन्ने, आफूलाई गरिब दीनदुखीको प्रतिनिधि पात्र ठान्ने हो भने पुष्पलाललाई हेरेर मात्र पुग्दैन, उनको जीवनबाट सिक्नुपर्दछ ।

गरिबको गीत गाउँदा गाउँदै आजको भोलि नै अरबपति हुने चोर बाटो कम्युनिष्टले समात्दैन । कम्युनिष्टले समयको सही मुल्यांकन गर्छ र छाती चौडा पारेर समयले देखाएको बाटो हिजोसम्म वैरी ठानिएको व्यक्तिसँगसँगै हातेमालो गर्न सक्छ ।

राजनीति कपट मात्र होइन, यो इमानको काम पनि हो भनेर उसले इमान्दारीपूर्वक जनताले दिएको जिम्मेवारी पूरा गर्छ । आफ्नो परिवार, नातागोता होइन आम मानिस केन्द्रमा हुनेछन । कम्युनिष्ट भ्रस्ट हुँदैन ।

तर, आज जे–जे नहुनुपर्ने हो कम्युनिष्टहरू त्यही रूपमा पतित हुँदै गइरहेका छन् । बेला सकिएको छैन । अझै पनि एकीकृत रुपमा भिन्ना भिन्नै खोलिएका चुलाचौका बन्द गरेर एकै ठाउँमा उभिए, परिवर्तन सम्भव छ । तर, स–साना टुकडीको जर्नेल बनेर सलामी खाने लत लागेका कम्युनिष्ट टुकडीहरू आफ्नै टुकडीमा पसेर पासा खेलिरहेका छन् ।

यी जुवाडेहरू खालबाट उठेर पुष्पलालको फोटोमा फूल अर्पण गर्दैमा तिनको बाटो किन सफा हुन्थ्यो र ?

-मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्