Logo
Logo

चोरी गिरोहका नाइकेसँग एसपीको कनेक्सन, १० दिनमै अभियुक्त छुटे


- दृष्टि न्युज/संवाददाता


चितवन,१४ साउन । 

चितवन प्रहरीले २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित असार १३ मा पक्राउ गरेका गिरोहका नाइके रोहित श्रेष्ठलाई सार्वजनिकमा मुद्दा चलाएर उन्मुक्ति दिएको छ ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोहित मोटरसाइकल वर्कसपका संचालक रोहित श्रेष्ठसहित चार जनालाई २०७६ असार १३ मा पक्राउ गरेको थियो । तर, पक्राउ परेको १० दिनमै सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटेका छन् । रोहित श्रेष्ठलाई आर्थिक चलखेलमा सार्वजनिक अपराधमा म्यादथप गरिएको सूचना ३ नम्बर प्रदेशका डीआइजी शेरबहादुर बस्नेतसम्म पनि पुगेको पुगेको थियो । तर, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पीएसओ बसिसकेर प्रचण्डकै दबाबमा चितवनको एसपी बनेका दानबहादुर मल्लको आर्थिक चलखेल अगाडि बस्नेतको केही लागेन । डीआइजी बस्नेत मल्ललाई केही गर्नसक्ने अवस्थामा छैनन् । उनी निरीह जस्तै छन् । एसपी मल्लको पहुँच प्रचण्डसम्म भएकाले जे गरे पनि डीआइजी मौन रहन विवश छन् ।

स्रोतका अनुसार १५ लाखमा बार्गेनिङ गरी १० लाखमा बिजय बिक नामका दलालमार्फत् पैसा बुझेर मल्लले श्रेष्ठलाई छुटाउन सार्वजनिकमा मुद्दा चलाएका थिए । शुरुमा श्रेष्ठलाई पक्राउ गरेपछि ठूलो गिरोह पक्राउ गरेको भन्दै एसपी मल्लले नै पत्रकारहरुलाई जानकारी दिएका थिए । तर यो जानकारी दिएका एसपी मल्लले एकाएक उनीहरुलाई चोरीको मुद्दा नलगाई सार्वजनिक अपराधमा म्यादथप गरेपछि उनीहरुलाई पक्राउ गर्नुको उद्देश्य लाइन मिलाउन ‘बार्गेनिङ’ रहेको आशंका गरिएको थियो । जुन आशंका रोहित श्रेष्ठ सहितका मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेकाहरु १० हजार धरौटीमा छुटेपछि पुष्टी भएको छ ।

भरतपुर महानगरपालिका–२० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कसपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जाहरु बरामद गरेको प्रहरीले जनाएको थियो । तर चोरीका मोटरसाइलसहित पक्राउ परेका श्रेष्ठसँग घुसमा कुरा मिलाएर सार्वजनिक अपराधमा म्यादथप गरिनुले प्रहरीको नियत छर्लङ्ग भएको छ । इन्जीन नभएका च्यासिस ८ थान बरामद गरेको प्रहरीले प्रेस विज्ञप्तिमै जानकारी दिएको छ । तर मोटरसाइकल चोरीका नाइके रोहित श्रेष्ठसँग एसपी मल्लका बीचौलिया विजय विकले १० लाख घुसमा सहमति गरेपछि एकाएक चोरीको मुद्दालाई सार्वजनिक अपराधमा परिवर्तन गरी म्यादथप गरिएको थियो । रोहित मोटरसाइकल वर्कसपबाट रोहित श्रेष्ठसँगै पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ बर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका–८ बस्ने १९ बर्षीय कृष्ण शाह, कलैया–३ बस्ने १८ बर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ बर्षीय राजा कुमार थिए । उनीहरु पनि छुटिसकेका छन् । उता अर्का गिरोहका नाइके दिपु भन्ने दीपेन्द्र श्रेष्ठसँग पनि एसपी मल्लले लाइन मिलाइसकेको स्रोत बताउँछ ।

दीपु श्रेष्ठको मनकामना वर्कसपमा काठमाडौं, पोखराजस्ता सहरबाट चोरीका मोटरसाइकल लाने र बिक्री गर्ने गरिन्छ । उनको वर्कसपमा चोरीका गाडीदेखि मोटरसाइकलको कारोबार हुने गरेको छ ।

काठमाडौं, पोखरा जस्ता सहरबाट चोरीका मोटरसाइकल अधिकांश दिपुकै मनकामना वर्कसपमा पुग्ने गरेका छन् । चोरीका मोटरसाइकल मनकामना वर्कसपमा पुग्नासाथ अप्रेसन(खोलखाल) पारी अर्काे नयाँ मोटरसाइकल तयार पारिन्छ । त्यसो त महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौंबाट चोरी भएका ९० प्रतिशत मोटरसाइकल चितवन पुग्छन् र त्यहीँं तिनको खरिदबिक्री हुन्छ । उक्त खरिद बिक्री गर्ने गिरोहका नाइके दिपु र रोहित नै हुन् । तर, एसपी मल्लले उनीहरुसँग सेटिङ मिलाइसकेको रोहित पक्राउ र छुटेको प्रकरणले पुस्टि गरेको छ ।

चितवन नेकपाका केही नेताहरु(पूर्वमाओवादी पृष्ठभूमि)को संरक्षणप्राप्त दीपुले हरेक प्रहरी प्रमुखलाई चितवनमा जानासाथ लाइन मिलाउने गरेका छन् । दीपक थापा एसपी हुँदा त दीपु श्रेष्ठ उनको क्वाटरमै बाक्लै जाने गरेका थिए । अपराध अनुसन्धान महाशाखामा कार्यरत प्रहरी सुरेन्द्र कार्की पनि मोटरसाइकलदेखि गाडी चोरीका कारोबारी दीपुका सूचनादाता हुन् । उनी चितवन जिल्ला प्रहरीमा कार्यरत हुँदा ५ बर्ष एसपीका घुमुवा थिए । चितवनमा लामो समय घुमुवा बसेका हाल अपराध महाशाखामै कार्यरत अर्का असई कमल क्षेत्री भन्ने कमल परियार पनि दीपु श्रेष्ठको लागि काम गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्