Logo

मैले नेकपालाई कम्युनिष्ट पार्टी नै मानेको छैन : मोहनविक्रम सिंह


Published On : 30 July, 2019

१९९२ वैशाख ३ गते काठमाडौंको मरुटोलमा जन्मिएका मोहनविक्रम सिंह साढे ६ दशकदेखि नेपाली राजनीतिमा निरन्तर सक्रिय छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा अनवरत संघर्ष गरिरहेका थोरै नेतामा उनी पर्छन् । गत जेठमा काठमाडौंमै भूमिगत शैलीमा सम्पन्न महाधिवेशनले सिंहलाई पुनः नेपाल कम्युनिष्ट पार्टी (मसाल)को महामन्त्रीमा निर्वाचित गरेको छ । मुलुकमा गणतन्त्र आएको ११ वर्ष बितिसकेको छ, तर, उनी अझै अर्धभूमिगत नै छन् । तिनै सिंहसँग दृष्टि साप्ताहिकले नेपालको कम्युनिष्ट आन्दोलनको समग्र सिंहावलोकन गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, दृष्टिका लागि छविरमण अधिकारीले गरेको विस्तृत कुराकानीको सम्पादित अंश :

मोहनविक्रम सिंह, महामन्त्री, नेपाल कम्युनिष्ट पार्टी (मसाल)

कम्युनिष्ट आन्दोलन बाहिरबाट हेर्दा कमजोर भएता पनि त्यसको भौतिक आधार, उत्पादन शक्तिहरूको सामाजिककरणको जो प्रक्रिया हो, त्यो झन बढ्दै गइरहेको छ । त्यसकारण कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ । यहाँ कम्युनिष्ट आन्दोलन होइन, दक्षिणपन्थी, संशोधनधार मात्र मजबुत भएको हो । जसरी संसारभर संशोधनवादी धार मजबुद भएका छन्, यहाँ पनि त्यस्तै भएको मात्रै हो ।

यहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एउटा अभिभावक हुनुहुन्छ । अनवरत संघर्षमै हुनुहुन्छ । कम्युनिष्ट आन्दोलन यो दिनसम्म आइपुग्दा खुसी हुनुहुन्छ कि दुःखी ?

यसमा खुसी वा दुःखी हुने कुरा छैन । किनभने कम्युनिष्ट आन्दोलन एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । त्यो पनि ठूलठूला उतारचढाव, द्वन्द्वको बीचबाट गुज्रिएको छ । हामीले देख्यौँ, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठूलठूला घटना भएका छन् । विश्व समाजवादी व्यवस्थाको पतन भयो । रुसजस्तो समाजवादी देशमा पुँजीवादको स्थापना भयो । चीनले आफूलाई अझै समाजवादी देश भन्छ, तर त्यो पुँजीवादको बाटोमा गइरहेको छ । यसरी हेर्दा, संसारका धेरै कम्युनिष्ट आन्दोलनहरूको, कम्युनिष्ट पार्टीहरूको पतन भएर गएको छ । त्यसको छायाँ नेपालमा पनि परेको छ । त्यसकारण कम्युनिष्ट आन्दोलनमा आउने यस्ता प्रकारका उतारचढाव सामान्य कुरा हुन्, त्यसका निम्ति खुसी या दुःखी हुने कुरा छैन ।

प्रक्रियामा हेर्दा हामी समाजवादतिर जाँदै छौँ, अथवा उल्टै बाटो हिँडिरहेका छौँ ?

दुईवटाबीचको कुरा सत्य हो । विश्वस्तरमा अहिले कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ, रक्षात्मक अवस्थामा छ । हाम्राअगाडि थुप्रै उदाहरण छन् । यसरी हेर्दा यो पतनको दिशामा गइरहेको छ भन्ने बुझिन्छ । तर, त्यो वास्तविक सत्य होइन । कम्युनिष्ट आन्दोलनको विकास या पतनलाई मूलरूपमा भौतिक परिस्थितिले निर्धारण गर्छ । भौतिक परिस्थिति समाजमा चल्ने वर्गसंघर्ष, त्यहाँका शोषण उत्पीडनले निर्धारण गर्छ । संसारमा अहिले पनि शोषण उत्पीडन विद्यमान छ । शोषितवर्गमाथिको शोषण, दमन कायम छ । त्यो नै कम्युनिष्ट आन्दोलनको विज हो, आधारशीला हो । त्यो रहँदासम्म कम्युनिष्ट आन्दोलन समाप्त हुँदैन । विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा कयौँ उतारचढाव देखिन्छ । तर, त्यसको बीचबाट त्यो अगाडि बढ्दै आएको छ । त्यसकारण यो अहिलेको जुन रक्षात्मक अवस्था छ, त्यो अस्थायी अवस्था हो । त्यसमा पुग्न भौतिक परिस्थितिको मूल्यांकन गर्दा हामीले कम्युनिष्ट आन्दोलनको आधार समाप्त भएको पाउँदैनौँ । मजबुत छ । किनभने कम्युनिष्ट आन्दोलन बाहिरबाट हेर्दा कमजोर भएता पनि त्यसको भौतिक आधार, उत्पादन शक्तिहरूको सामाजिककरणको जो प्रक्रिया हो, त्यो झन बढ्दै गइरहेको छ । त्यसकारण कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ ।

समाजवाद उन्मुख भनिए पनि उनीहरूका नीति पुँजीवादी दिशामा, यथास्थितिवादी दिशातर्फ केन्द्रित छ । चीनमा यस्तै भएको हो । बाहिरबाट हेर्दा संसारले चीनको पार्टीलाई कम्युनिष्ट पार्टी भन्छ । त्यहाँको व्यवस्थालाई समाजवादी भन्छ ।

उमेरका हिसावले युवा हुँदा, ऊर्जाशील हुँदा पक्कै समाजवादको सपना दृढ थियो होला । हाम्रै जीवनकालमा समाजवादतर्फ जान सकिन्छ भन्ने लाग्थ्यो होला । जीवनको यो कालखण्डमा आइपुग्दा कस्तो लाग्छ, निराशा पो छ कि ?

प्रथमतः निराशाको कुरा छैन, यसमा । किनभने, नेपालको जुन स्थिति हो, पहिलेको तुलनामा आन्दोलन धेरै कमजोर भएको छ । बाहिरबाट हेर्दा संसारको दृष्टिकोणमा हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन धेरै शक्तिशाली भएको देखिन्छ । तर, यो वास्तविकता होइन । यहाँ कम्युनिष्ट आन्दोलन होइन, दक्षिणपन्थी, संशोधनधार मात्र मजबुद भएको हो । जसरी संसारभर संशोधनवादी धार मजबुद भएका छन्, यहाँ पनि त्यस्तै भएको मात्रै हो । यसलाई कम्युनिष्ट आन्दोलन मजबुद भएको भन्न सक्दैनौँ । जस्तो, यहाँ नेकपाको सरकार छ । करिब दुईतिहाइको बहुमतको सरकार छ । त्यसको अर्थ नेपालमा कम्युनिष्ट सरकार छ भन्ने होइन ।

किन, नेकपा कम्युनिष्ट पार्टी होइन र ?

नेकपा कम्युनिष्ट पार्टी होइन । उसले जुन नीति र कार्यक्रम लिएको छ, त्यो कम्युनिष्ट प्रकारको छैन । मूलतः दक्षिणपन्थी दिशातिर उन्मुख छ । समाजवाद उन्मुख भनिए पनि उनीहरूका नीति पुँजीवादी दिशामा, यथास्थितिवादी दिशातर्फ केन्द्रित छ । चीनमा यस्तै भएको हो । बाहिरबाट हेर्दा संसारले चीनको पार्टीलाई कम्युनिष्ट पार्टी भन्छ । त्यहाँको व्यवस्थालाई समाजवादी भन्छ । तर, त्यो सत्य होइन । चीन त पुँजीवादको दिशामा गइरहेको छ । नेपालमा ठीक यस्तै भइरहेको छ । बाहिरबाट हेर्दा नेकपा कम्युनिष्ट जस्तो देखिए पनि, अहिलेको सरकार कम्युनिष्ट सरकारजस्तो देखिए पनि न नेकपा कम्युनिष्ट पार्टी हो, न उसको नेतृत्वको सरकार कम्युनिष्ट सरकार हो । यहाँ कम्युनिष्ट शासन आएकै छैन ।

पहिले कम्युनिष्ट आन्दोलन निकै शक्तिशाली थियो । कम्युनिष्ट आन्दोलन एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । द्वन्द्वात्मक भौतिकवादले कुनै पनि एउटा चिजमा उसको आसपासको वातावरणको, समग्र परिस्थितिको असर पर्छ भन्ने गर्दछ । विश्व कम्युनिष्ट आन्दोलन जसरी कमजोर भएको छ, त्यसको असर नेपालको कम्युनिष्ट आन्दोलनमा परेको छ । तर, त्यसको अर्थ हामी निराश छौँ भन्ने होइन । हिजो पनि धेरै प्रतिकूल स्थितिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रयत्न गर्दै आएका छौँ । अहिले पनि त्यसमा संघर्ष गरिरहेका छौँ । त्यसकारण फेरि अगाडि बढ्छ भन्ने हामीलाई विश्वास छ ।

यहाँले नेकपाको सन्दर्भ कोट्याउनुभयो । नेकपाले आफूलाई कम्युनिष्ट पार्टी नै भन्छ । नाम मात्र होइन, हामीले संविधान नै समाजवादउन्मुख बनायौँ भन्छ नि ?

रुसले सन् १९५६ को कंग्रेसपछि लामो समयसम्म आफूलाई कम्युनिष्ट पार्टी नै भनेको थियो । माक्र्सवादी लेनिनवादीले चैँ कम्युनिष्ट पार्टी होइन भनेका थिए । उसले त्यो भ्रम दिइरह्यो । तर, अन्तमा त्यो भ्रम साफ भयो । ऊ आफैँले कम्युनिष्ट पार्टीलाई विघटन ग¥यो । ठीक यसैगरी डा. केशरजंग रायमाझीले पनि आफ्नो अस्तित्व कायम हुँदासम्म, कम्युनिष्ट पार्टीलाई विघटन नगर्दासम्म सच्चा कम्युनिष्ट पार्टी हो भनेकै थिए । त्यस्तो भ्रम दिएका थिए । तर, अन्तिममा त्यो समाप्त भएर गयो । त्यसैले कसैले आफूलाई के भन्छ भन्ने कुरा मुख्य होइन । वास्तवमा त्यो के हो भन्ने कुरा मुख्य हो । त्यसैले वास्तविक रूपमा नेकपाको चरित्र हेर्दा, उसको अहिलेको कार्यप्रणाली, कार्यशैली, संगठनात्मक प्रणाली हेर्दा कम्युनिष्ट पार्टीको जस्तो छैन । त्यसकारण ऊ कम्युनिष्ट पार्टी होइन । कम्युनिष्ट पार्टीको दक्षिणपन्थी, संशोधनवादी दिशामा गइरहेको एउटा संगठन हो । त्यसकारण नेकपालाई कम्युनिष्ट पार्टी भन्न सक्दैनौँ । उसको नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार भन्न सकिँदैन ।

यहाँको नजरमा कम्युनिष्ट पार्टी बन्नलाई चाहिने कसी के हो ?

त्यसको कसी बिल्कुल सिधा छ, हेर्नुस् । हिन्दु बन्नलाई के कसी चाहिन्छ भनेर हिन्दु धर्मले स्पष्ट गरेको छ । मुस्लिम हुनलाई के चाहिन्छ भन्ने कुरा मुस्लिम धर्मले स्पष्ट गरेको छ । बौद्ध धर्मलाई के चाहिन्छ भन्ने कुरा बौद्धधर्मले स्पष्ट गरेको छ । त्यसका सिद्धान्त, प्रणाली, आचरण छाडेपछि न हिन्दु हिन्दु हुन्छ, न मुस्लिम मुस्लिम हुन्छ, न बौद्ध बौद्धमार्गी हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टी के हो भन्ने कुरा अहिलेको नेकपाले व्याख्या गरेर हुने कुरा होइन । यो कुरा माक्र्सवाद–लेनिनवाद सिद्धान्तले स्पष्ट गर्दै आएको छ । त्यसका आधारभूत सिद्धान्त छन् । त्यसका आर्थिक प्रणाली छन् । संगठनात्मक प्रणाली छ । नेकपाले यी सबै कुरा छाड्दै गएको छ । त्यसकारण उसले आफूलाई कम्युनिष्ट हुँ भनेर मात्र हुँदैन । माक्र्सवाद–लेनिनवादका जुन सिद्धान्त अपनाएर उनीहरू कम्युनिष्ट पार्टीमा लागेका थिए, ती सिद्धान्तलाई उनीहरूले अपनाएका छन् कि छाडेका छन् भन्ने कुरा नै उसको मापन गर्ने कसी हो ।

कम्युनिष्ट पार्टी के हो भन्ने कुरा अहिलेको नेकपाले व्याख्या गरेर हुने कुरा होइन । यो कुरा माक्र्सवाद–लेनिनवाद सिद्धान्तले स्पष्ट गर्दै आएको छ । त्यसका आधारभूत सिद्धान्त छन् । नेकपाको अहिलेको सांगठनिक प्रणाली हेर्नुभयो भने त्यो कम्युनिष्टको जस्तो छैन ।

पार्टी, समाज, सिद्धान्तभन्दा उनीहरूको सम्पूर्ण आचरण कसरी व्यक्तिगत स्वार्थ पूरा गर्ने, व्यक्तिगत फाइदा कसरी उठाउने भन्नेतर्फ गइरहेको छ । नीति र सिद्धान्तको प्रश्न गौण भएर गएको छ । नेकपाको सन्दर्भमा कुरा गर्दा, कम्युनिष्ट आचरण छाड्दै गए पनि हामीले नेकपालाई मित्रशक्ति नै मानेका छौँ ।

 

यहाँले सोलोडोलो कुरा गर्नुभयो । सुत्रबद्ध रूपमा भन्दा मूलत : नेकपाले के कुरा छाड्यो र कम्युनिष्ट पार्टी रहेन भन्ने यहाँलाई लाग्यो ?

पहिले उसको संगठनात्मक प्रणाली हेरौँ । कम्युनिष्टको संगठनात्मक प्रणाली बुर्जुवाहरूको जस्तो हुँदैन । त्यो बेग्लै हुन्छ । जनवादी केन्द्रीयताको सिद्धान्त हुन्छ । छलफलमा स्वतन्त्रता, काममा एकरूपता हुन्छ । अनुशासनको एकप्रकारको प्रणाली हुन्छ । अहिले नेकपामा तपाईं यो देख्नुहुन्छ ? जनवादी केन्द्रीयता कहाँ छ, त्यहाँ ? निर्णयहरू कसले गर्छन् ? नेकपाको अहिलेको सांगठनिक प्रणाली हेर्नुभयो भने त्यो कम्युनिष्टको जस्तो छैन । सम्पूर्ण रूपमा बुर्जुवाहरूको जस्तो छ । कार्यक्रमलाई हेर्नुस्, कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको कार्यक्रम किसान, मजदुर, शोषित जनतालाई केन्द्रमा राखेर बनाइएको हुन्छ । नेकपाको सरकारका कार्यक्रममा तपाईंले त्यस्तो देख्नुभएको छ ? सरकारको केन्द्रमा किसान, मजदुर, शोषित जनता छन् ? छैनन् । हो, कम्युनिष्ट पार्टीले पनि कतिपय अवस्थामा तत्कालीन परिस्थितिलाई हेरेर केही पुँजीवादी कार्यक्रम अपनाउँछन् । तर, मूलदिशा समाजवाद उन्मुख नै हुन्छ । नयाँ जनवाद उन्मुख हुन्छ । तर, समाजवाद उन्मुख कार्यक्रमको कुरा गर्ने नेकपाका कार्यक्रम त्यसप्रकारको छैन । किसानका हकअधिकारको कुरा, भूमिसुधारको कुरा, हदबन्दीको कुरा, देशमा राष्ट्रिय उद्योगहरूको संरक्षणको कुरा कहाँ छ ? सरकारको कुरा छाड्नुस्, पार्टीको राजनीतिक प्रतिवेदनसमेत आएको छैन । तर, उनीहरूकै नेताले भन्ने गरेका छन्, राजनीतिक प्रतिवेदनबाट सामन्तवादप्रति सम्झौतापरस्त नीति अपनाएको छ । अमेरिकी साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाएको छ । अमेरिकी साम्राज्यवाद भन्ने शब्दावली नै हटाइएको छ । भारतीय विस्तारवाद भन्ने शब्दावली नै हटाइएको छ । जबकि, भारत विस्तारवाद मात्र होइन, साम्राज्यवादकै रूपमा पुगिसकेको छ । तर, उनीहरू सबैतिर सम्झौतापरस्त नीति अपनाइरहेका छन् । यसैगरी, अहिले देश कुन अवस्थामा छ भन्नेमै उनीहरू गलत ब्याख्या गरिरहेका छन् । अझै पनि देश अर्धसामन्ती, अर्धऔपनिवेसिक अवस्थामै छ । तर, उनीहरू नयाँ जनवादको अवस्था पार गरेर समाजवादको अवस्था आइसक्यो भन्छन् । समाजवादको अवस्था आउन त देशमा विद्यमान अर्धसामन्ती, अर्धऔपनिवेसिक अवस्था समाप्त हुनुपर्छ । आज पनि सामन्ती व्यवस्थाका अवशेष छन् । औपनिवेसिक शोषणका अवशेषहरू पनि छन् । यी सबैलाई समाप्त नगरी कसरी समाजवादमा जान सक्छौ ? समाजवादमा जानका लागि पुँजीवादको विकास हुनुपर्छ । तर, यहाँ अर्धसामान्ती र अर्धऔपनिवेसिक अवस्था कायमै छ । यी सबैलाई अनदेखा गरेर उसले हामी समाजवादीदिशामा गयौँ भनिरहेको छ । त्यसकारण उसका तत्कालीक कार्यक्रम पनि सही छैन । ठीक यसै गरेर वर्ग संघर्षका सिद्धान्तमा पनि उसमा स्खलन देखिन्छ । सशस्त्र संघर्षको अनिवार्यताको सिद्धान्त उसले छाडिसकेको छ । यो भनेको संशोधनवादी सिद्धान्त हो । सशस्त्र संघर्ष बिना आजको अवस्थामा परिवर्तन सम्भव छैन । तर, सशस्त्र संघर्षको अनुकुल परिस्थिति छ कि छैन भन्ने हेर्नुपर्छ । सशस्त्र संघर्ष पूर्वमालेले गरेको थियो, माओवादीले गरेको थियो । तर, त्यो उग्रवामपन्थी भड्काव थियो । हामीले उनीहरूलाई त्यसै भनेका थिएनौँ । त्यो पुष्टि भएको छ । किनभने उग्रवादी भड्काव अन्ततः दक्षिणपन्थी दिशामा गएर टुंगिन्छ । अहिले उनीहरू त्यहीँ पुगेका छन् । यस्तै, सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त पनि उनीहरूले छाडिसकेका छन् ।

यहाँले माथि उल्लेख गर्नुभएका सशस्त्र संघर्ष, सर्वहारावर्गको अधिनायकत्व अहिले सम्भव छ र ?

निश्चय पनि अहिले सम्भव छैन । तर, सशस्त्र संघर्ष बिना अहिलेको समाज परिवर्तन सम्भव पनि छैन । त्यसको अर्थ हतियार उठाइहाल्ने भन्ने होइन । हतियार कहिले उठाउने भन्ने कुरा त परिस्थितिले निर्धारण गर्ने कुरा हो । उनीहरू कम्युनिष्ट रहेनन्, त्यसैले सशस्त्र संघर्षको अनिवार्यतालाई उनीहरूले छाडे । सर्वहारावर्गको अधिनायकत्वको पनि यही हो । निश्चय पनि नेपालजस्तो देशमा आज सर्वहारावर्गको अधिनायकत्व सम्भव छैन । तर, सिद्धान्तै छाड्नु त गलत हो नि । कम्युनिष्टहरूमा जबजब संशोधनवादी धार हावी भयो, उनीहरूले सर्वहारावर्गको अधिनायकत्व छाड्दै गए । जस्तो, रुसमै पनि त्यस्तै भयो । सर्वहारावर्गको अधिनायकत्व छाडेपछि ख्रुश्चिभहरूले टाउको उठाउने मौका पायो र त्यहाँ पुँजीवाद आयो । समाजवादमा जाने भन्ने अनि सिद्धान्त छाड्दै जाने हो भने कम्युनिष्ट रहन सकिँदैन, जसरी नेकपा अहिले कम्युनिष्ट रहन सकेन ।

अहिले नेकपाको सरकारले भनेजस्तो विकास र समृद्धि आजको लक्ष्य होइन ?

पुँजीवादी विकास नै त समाजवादी होइन नि । विकास र समृद्धिलाई मात्रै समाजवाद भन्नु गलत हो । त्यो विकासबाट समाजका शोषित, पीडित जनतालाई कति उपलब्धि प्राप्त भएको छ, तिनको हक कति रक्षा भएको छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले भनिएको विकास र समृद्धिले त्यतातर्फ हेरेको पाइँदैन । त्यसोतः नेकपामा सांस्कृतिक धरातल नै कमजोर बनिसकेको छ । पार्टी, समाज, सिद्धान्तभन्दा उनीहरूको सम्पूर्ण आचरण कसरी व्यक्तिगत स्वार्थ पूरा गर्ने, व्यक्तिगत फाइदा कसरी उठाउने भन्नेतर्फ गइरहेको छ । नीति र सिद्धान्तको प्रश्न गौण भएर गएको छ । यसरी समग्र रूपमा हेर्दा उनीहरू कम्युनिष्ट हुन् भन्ने कुनै आधार बाँकी छैन ।

यिनै पार्टीको नेतृत्वमा राजतन्त्र अन्त्यको संघर्ष भयो । गणतन्त्र आयो । धर्मनिरपेक्षता आयो । यी उपलब्धिलाई त मान्नुहुन्छ नि ?

हामीले कयौँपटक बुर्जुवा पार्टीहरूका सकारात्मक पक्षलाई पनि समर्थन गर्ने गरेका छौँ । जस्तो, सुशील कोइरालाको नेतृत्वमा संविधान बनाउँदा, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्रतिगमनविरुद्ध संघर्ष गर्दा, गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाको विरुद्धमा भएको संघर्षमा पनि हामीले समर्थन गरेका हौँ । उनीहरू कम्युनिष्ट होइनन्, तै पनि उनीहरूका त्यसबेलाको भूमिका महत्वपूर्ण थियो, त्यसैले समर्थन ग¥यौँ । अझ नेकपाको सन्दर्भमा कुरा गर्दा, कम्युनिष्ट आचरण छाड्दै गए पनि हामीले नेकपालाई मित्रशक्ति नै मानेका छौँ । तपाईंले भनेजस्तै गणतन्त्र, धर्मनिरपेक्षताका लागि उनीहरूको महत्वपूर्ण भूमिका छ । सारा कमजोरीका बाबजुद, यी वामपन्थी शक्ति हुन् भनेर उनीहरूको भूमिकालाई सकारात्मक मान्छौँ । सरकारलाई समर्थन गर्छौं । तर, अवसरवादी, ढोंगी चरित्र छ, साम्राज्यवादप्रतिको विस्तारवादप्रतिको सम्झौतापरस्त चरित्र छ, त्यसको चैँ हामीले विरोध गर्दै आएका हौँ ।

जुन–जुन कसीमा नेकपा चुकेको छ भनेर यहाँले भन्नुभयो । उनीहरूले जुन बाटो तय गरे, त्यो नभएको भए अहिलेका राजनीतिक परिवर्तन सम्भव थियो र ?

हामीले कम्युनिष्टका सिद्धान्तलाई रणनीति र कार्यनीतिका रूपमा बाँड्छौँ । जुन सिद्धान्तको मैले ब्याख्या गरेँ, यान्त्रिक रूपमा सबै परिस्थितिमा ती लागू गर्नुपर्छ भन्ने होइन । त्यसैले त, माले वा माओवादीको सशस्त्र संघर्षलाई हामीले विरोध ग¥यौँ, उग्रवादी भड्कावको भण्डाफोर ग¥यौँ । सशस्त्र संघर्ष अहिले पनि लागू गर्नुपर्छ, सर्वहारावर्गको अधिनायकत्व अहिले पनि लागू गर्नुपर्छ भन्ने कुरा होइन । कार्यनीतिले के भन्छ भने, कुनै खास बेलाको परिस्थितिअनुसार नै हामीले संघर्ष तय गर्नुपर्छ । त्यसैले त आन्दोलनहरूमा हामीले पनि समर्थन ग¥यौँ, सहभागी भयौँ । कम्युनिष्ट आन्दोलनमा पनि एकखाले वामपन्थी संकीर्णतावादी विचार पाइन्छन् । जसले यो गणतन्त्र पुँजीवादी हो खारेज गर्नुपर्छ भन्छ । यो संविधान पुँजीवादी हो, त्यो खारेज गर्नुपर्छ भन्छ । ती अवस्तुवादी सोच हुन्, तिनलाई हामी गलत मान्छौँ । कुनै पनि कुरालाई यान्त्रिक रूपमा लिनु हुँदैन भन्ने हामी ठान्छौँ । तर, त्यसको अर्थ मूलभूत सिद्धान्त छाड्नुको चैँ हामी विरोध गर्छौं । मूलदिशाबाट, मूलपथबाट उनीहरू विचलित भए त्यसैले हाम्रो आलोचना हो ।

उत्पीडित जनता, मजदुर, किसानलाई नेकपाले छाड्यो भन्ने यहाँको कुरा रह्यो । तर, निर्वाचनमा उनीहरू नै सबैभन्दा ठूलो दल बने । सबैभन्दा धेरै जनमत पाए नि ?

जनमत कसबेला कसको पक्षमा छ भन्ने कुराले सबैकुराको फैसला गर्दैन । जनमत त अमेरिकामा ट्रम्पको पक्षमा आयो । भारतमा मोदीको पक्षमा फेरि पनि आयो । नेपालमा राजतन्त्र रहँदा जनमत पञ्चायतको पक्षमा थियो, राजतन्त्रको पक्षमा थियो । तर, जनमत मुख्यचिज होइन । जनताको पीछडिएको चेतनाको परिणामले यस्तो भएको हो । पैसा, सत्ता, प्रलोभनको प्रभावबाट पनि कयौँपटक गलत पक्षले पनि निर्वाचन जित्छ । पछाडि फर्केर हेर्नुभयो भने नेकपाले मात्रै बहुमत पाएको होइन । कुनै समय कांग्रेसले पनि बहुमत पाएको हो । तर, त्यसको अर्थ उसको राजनीति सही छ भन्ने होइन । मधेसवादीहरूले पनि ठूलो मत पायो । त्यसको अर्थ, उनीहरूले बोकेका विचार राम्रा छन् भन्ने होइन ।

अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यहाँको पार्टीको मोर्चा सरकारमै सहभागी थियो । अहिलेको सरकारसँग दुरी बढेको छ कि घटेको छ ?

उस बेलाको राजनीतिक परिस्थितिका कारण हाम्रो राष्ट्रिय जनमोर्चा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएका थियौँ । त्यसबेला एमालेले राष्ट्रियताको विषयमा राम्रो अडान लिएको थियो । नाकाबन्दीका विरुद्ध राम्रो संघर्ष गरेको थियो । भारतीय दबाबविरुद्ध राम्रो संघर्ष गरेको थियो । चीनसँग सम्बन्ध विस्तारका लागि राम्रो भूमिका खेलेको थियो । त्यसबेला मोदीले अन्तर्राष्ट्रिय रूपमै नेपालको संविधानविरुद्ध अभियान चलाइरहेका थिए । त्यसपरिस्थितिमा हामीले राष्ट्रियताको पक्षमा सरकारलाई बलियो बनाउनु उपयुक्त ठानेर सरकारमा गएका थियौँ । त्यसोतः हामीले कयौँ आन्दोलन सँगसँगै गरेका थियौँ । पाँच नम्बर प्रदेशलाई फोरेर मधेसमा बेग्लै प्रदेश बनाउन हुँदैन भन्नेमा पनि हामी साथसाथै थियौँ । तर, अहिलेको सरकारले जुन नीति अपनाइरहेको छ, त्यो सही छैन । त्यसैले त्यतिबेलाजस्तो नजिकको सम्बन्ध अहिले छैन । यद्यपि, हामी उनीहरूलाई दुश्मन शक्तिका रूपमा लिएका छैनौँ । प्रतिक्रियावादी शक्ति मानेका छैनौँ । मित्रशक्ति नै मानेका छौँ । हामी आलोचना गर्छौं तर, त्यो मैतृपूर्ण आलोचना हो । उसलाई हामी वामपन्थी शक्तिकै रूपमा लिएका छौँ ।

केही साताअघि नेकपा मुख्यालयबाट नेकपाका शीर्ष नेताहरूले एउटै कम्युनिष्ट केन्द्र बनाउन यहाँको नामै लिएर एकताको आह्वान गरे । त्यो सम्भावना छ कि छैन ?

त्यो उहाँहरूको दृष्टिकोण हो । उहाँहरू नेकपा नै सच्चा कम्युनिष्ट हो, कम्युनिष्टको मूलधार हो भन्ने ठान्नुहुन्छ । त्यसकारण सबै कम्युनिष्ट एकै ठाउँमा आउँदा राम्रो हुन्छ भन्नु हुन्छ । त्यसलाई हामी गलत मान्दैनौँ । तर, हामीले नेकपालाई कम्युनिष्ट पार्टी मानेका छैनौँ । सैद्धान्तिक, सांगठनिक रूपमै उहाँहरूमा विचलन भएको छ भन्ने हामी भनिरहेका छौँ । त्यसैले हामी नेकपामा सामेल हुने कुरा सोच्न पनि सकिँदैन । सैद्धान्तिक रूपमै हामीबीच धेरै ठूलो खाडल छ ।

नेकपा महाधिवेशनमा जान बाँकी छ । उहाँहरूले लिने बाटो तय भएकै छैन । त्यसभित्र राजनीतिक विचारधाराको बहस सुरु भएकै छैन । यो त एउटा अनुकुल समय हुन सक्दैन ?

जसरी हामीले कांग्रेससँग पार्टी एकता गर्न सक्दैनौँ । मधेसवादीसँग वा राप्रपासँग एकता गर्न सक्दैनौँ । अहिलेको अवस्थामा नेकपासँगको एकता पनि त्यस्तै असम्भव छ । राजनीतिक, सैद्धान्तिक रूपमा उहाँहरू र हाम्रोबीचमा धेरै ठूलो खाडल छ । यस्तो अवस्थामा पार्टी एकताको सम्भावना नै छैन । तत्कालीक राजनीतिक प्रश्नमा हामी एकठाउँमा उभिन सक्छौँ । विगतमा पनि उभिएकै हौँ । भोलि कुनै खास राजनीतिक परिस्थिति आयो भने त्यसले हामीलाई नजिक ल्याउन पनि सक्छ । जस्तो, २०४६ मा वा ०६२÷०६३ मा ल्यायो, त्यो अवस्था भोलि पनि आउन सक्छ । तर, पार्टी एकता नै भने सम्भव छैन ।

राजनीतिक रूपले नेकपा संशोधनवादी, दक्षिणपन्थी भयो भन्नुहुन्छ । तर, त्यो शक्ति यतिबेला मुलुकको दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको छ । हामी क्रान्तिकारी शक्ति हौँ, साँचो कम्युनिष्ट हौँ भन्ने तपाईंहरू सांगठनिक रूपले निकै कमजोर अवस्थामा हुनुहुन्छ । कतै हामी पो चुक्यौँ कि भन्ने यहाँलाई लाग्दैन ?

नेपालमा मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमै यो भइरहेको हुन्छ । रुसमा कम्युनिष्ट पार्टी विघटन भयो । बुर्जुवाहरू फेरि सत्तामा आए । भारतमै पनि जसले आफूलाई कम्युनिष्ट भन्थे, तिनीहरू बडारिँदै गए, मोदी फेरि सत्तामा आए । यसो हुनुको निर्णायक शक्ति जनता नै हुन् । जनता भनेको जनताको चेतना हो । जनताको चेतना कति उठ्छ, त्यति क्रान्तिकारीहरू बलियो हुन्छन्, जनताको चेतनामा भ्रम पार्न सकियो भने प्रतिक्रियावादी शक्तिहरू हावी हुन्छन् । भारतमा मोदीले हिन्दू धर्मको भ्रम दिए, ट्रम्पले राष्ट्रवादको भ्रम दिए र आफ्नो शक्ति मजबुद पारे । यस्तो भइराख्छ । संसारमा कयौँपटक क्रान्तिकारी शक्ति कमजोर हुन्छन्, समाप्त पनि हुन्छन् । तर, यी अस्थायी कुरा हुन् । मूलकुरा, भौतिक परिस्थिति हो । त्यहाँ चल्ने वर्ग संघर्ष हो । त्यहाँ चल्ने शोषणहरू हुन् । त्यसले नै कम्युनिष्ट आन्दोलनलाई पैदा गरेको हो । त्यसले नै कम्युनिष्ट आन्दोलनलाई विजयको मार्गमा अग्रसर बनाउँछ ।

कम्युनिष्ट पार्टीहरूले जनताको चेतनाको स्तर पो बुझेनन् कि । किनभने, यहाँहरू माक्र्सवाद–लेनिनवादलाई धर्मशास्त्र जस्तो अपरिवर्तनीय छ भनेजस्तो व्याख्या गर्नुहुन्छ । त्यसलाई अस्वीकार गरेर जनताले माक्र्सवाद–लेनिनवाद पनि समयसापेक्ष परिवर्तनीय छ भन्ने बुझे र त्यसो भन्नेहरूलाई पो समर्थन गरेका हुन् कि ?

माक्र्सवादलाई कहिल्यै पनि अपरिवर्तनशील छ भन्दैनौँ । माक्र्सको समयमा जुन माक्र्सवाद थियो, लेनिनको समयमा बेग्लै रूपमा आयो । माओको समायमा बेग्लै रूपमा आयो । समाजवादका बीचबाट फेरि नयाँ जनवाद निस्कियो । नेपालमा हामीले नयाँ जनवादको कुरा गरे पनि यो बुर्जुवा गणतन्त्रलाई पनि समर्थन गरेका छौँ । धर्मनिरपेक्षतालाई समर्थन गरेका छौँ । कम्युनिष्टको सिद्धान्त अन्तर्राष्ट्रवाद हो, तै पनि हामीले राष्ट्रवादको पक्षमा संघर्ष गर्छौं । कम्युनिष्टहरूले माक्र्सवादलाई जडसूत्रवादको रूपमा या धर्मशास्त्रका रूपमा लिँदैन, परिस्थितिअनुसार त्यसलाई प्रयोग गर्ने काम गरिरहेको हुन्छ । तर, जनताको प्रश्न भन्नुहुन्छ भने, जनता निर्णायक शक्ति हुन् भन्ने कुरा उनीहरूको चेतनाले निर्धारण गर्ने कुरा हो । उदाहरणका लागि, जबसम्म जनता भ्रममा थिए, राणाशासन टिक्यो, पञ्चायती व्यवस्था बलियो भयो । जतिबेला जनतामा चेतना आयो, त्यो विस्फोटले राणाशासन फाल्यो, पञ्चायत ढाल्यो, राजतन्त्र फाल्यो । यो महत्वपूर्ण कुरा छ । जतिबेला जनताको चेतना उच्च हुन्छ, त्यसले क्रान्ति गर्छ, त्यसले नयाँ परिवर्तन ल्याउँछ, जतिबेला जनताको चेतना कुण्ठित हुन्छ, जातिवादलाई पनि प्रश्रय दिन्छ, सतिप्रथालाई पनि प्रश्रय दिन्छ । त्यसकारण जनताको चेतना स्थिर कुरा होइन । यसको अर्को कोण पनि छ । समाज जहिले पनि न्युनस्तरबाट माथिल्लोस्तरमा गइरहेको हुन्छ । दासयुगबाट सामान्तवाद, सामन्तवादबाट पुँजीवातिर क्रमशः गइरहेको हुन्छ । अर्को कुरा, प्रत्येक समयका शासकवर्गले आफ्नो समयको शासन व्यवस्थालाई सर्वश्रेष्ठ विकल्परहित भन्छ । जस्तो, महेन्द्रले भनेका थिए, पञ्चायत व्यवस्था विकल्परहित व्यवस्था हो । त्यस्तै, पुँजीवादीले पनि त्यस्तै ब्याख्या गर्छ भने त्यो अनौठो होइन । तर, त्यसभित्र पनि देखा परिररहेको संकटका कारण यो झनझन कमजोर हुँदै जाँदैछ । फासीवादतिर जाँदैछ ।

यहाँको साढे ६ दशक लामो राजनीतिक सक्रियताको अनुभवका आधारभन्दा हामी दुर्घटनातिर जाँदैछ कि सम्हालिँदै सम्हालिँदै ठीक बाटोतिरै हिँड्दैछौँ ?

राजनीतिक कहिल्यै सिधा रेखाबाट अगाडि बढ्दैन । उतारचढावहरू, घातप्रतिघातहरू भइरहन्छन् । क्रान्ति–प्रतिक्रान्तिको बीचबाटै यो जान्छ । यसलाई हामीले यही रूपमा हेरेका छौँ । बर्खामा जन्मिएको बच्चाले बर्खामै जीवन बित्छ भन्न सक्छ । तर, बर्खापछि हिउँद पक्कै आउँछ । हामी निराश हुने कुरा छैन ।

आम सर्वहारा वर्गले भोलि आफ्नो सत्ता आउँछ भन्ने आधार छ ?

निश्चित रूपमा छ । मुलुकमा पञ्चायती व्यवस्था आएपछि कम्युनिष्टकै पनि ठूलो पंक्ति निराश भए । कयौँ त पञ्चायतमै सामेल भए । हामीले पञ्चायत व्यवस्था एकदिन पक्कैजान्छ भनेरै हामी सक्रिय भइरह्यौँ । गयो पनि अहिले आएको व्यवस्था पनि अस्थायी व्यवस्था हो । यसको अन्त्य भएर आम सर्वहारा वर्गको सत्ता अवश्य आउँछ ।

त्यसबेला एमालेले राष्ट्रियताको विषयमा राम्रो अडान लिएको थियो । नाकाबन्दीका विरुद्ध राम्रो संघर्ष गरेको थियो । भारतीय दबाबविरुद्ध राम्रो संघर्ष गरेको थियो । चीनसँग सम्बन्ध विस्तारका लागि राम्रो भूमिका खेलेको थियो ।

जनताको चेतना कति उठ्छ, त्यति क्रान्तिकारीहरू बलियो हुन्छन्, जनताको चेतनामा भ्रम पार्न सकियो भने प्रतिक्रियावादी शक्तिहरू हावी हुन्छन् । हामी कहाँ राजनीतिक पक्षमा ठूलठूलो परिवर्तन भए, तर राष्ट्रिय चरित्र, सांस्कृतिक रुपान्तरणका लागि आन्दोलन हुन सकेन ।

सरकारले केही राम्रो काम गर्न खोज्यो भने पनि गर्न दिँदैनन् । किनभने, यहाँको समाजको बनावट त्यस्तो छ, कमिशनखोर, माफियाहरूको ठूलो प्रभाव छ । प्रशासनयन्त्रमा भ्रष्टहरूको ठूलो प्रभाव छ । उनीहरू बलियो जरा हालेर बसेका छन् । सरकार चक्रब्युहमा फसेको छ ।

कम्युनिष्ट आदर्शका लागि भनेर लामो समय जेलनेल भोगेका, ठूलठूला योगदान गरेका, संघर्ष गरेकाहरू किन एकाएक स्खलन भएको देखिन्छ । यस्तो किन हुन्छ ?

जसरी संसारमा कयौँ चिज परिवर्तन हुन्छन्, मानव चरित्र, मानव दृष्टिकोण, मानव स्वभावमा पनि त्यस्तो प्रभाव पर्छ । विश्व कम्युनिष्ट आन्दोलनमा त यस्ता धेरै भइराख्छन् । डा. केशरजंग रायमाझी पनि क्रान्तिकारी आन्दोलनमा सामेल भएका थिए । उत्साहपूर्वक लागेका थिए । तर, पछि उनी पतन भए । अरु पनि थुप्रै उदाहरण छन् । यसको कारण भनेको आफूलाई निरन्तर क्रान्तिकारी बनाइराख्न नसक्नु हो । जनताको बीचमा नरहने, कम्युनिष्ट सिद्धान्त र निष्ठालाई कडाइपूर्वक व्यवहारमा कार्यान्वयन नगर्नेहरूमा त्यस्तो विचलन आउँछ । कयौँ दबाबहरू आउँछन् । आन्तरिक, बाह्य, सांगठनिक दबाब आइरहन्छ, त्यसलाई चिरेर निरन्तर अगाडि बढिरहनुपर्छ । एउटा क्रान्तिकारी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्रान्तिका लागि, पार्टीका लागि, देशका लागि, सिद्धान्तका लागि काम गरिरहन्छ भने उसमा कहिल्यै पतन आउँदैन । तर, देश, जनता, शोषित वर्ग, समाज, क्रान्तिबारे सोच्न छाडेर आफ्नो जीवनबारे, भविष्यबारे, करिअरबारे चिन्ता हुन थाल्छ । त्यसपछि उसमा पतन सुरु हुन्छ । राजनीतिमा मात्र होइन, विभिन्न पेशामा रहेकाहरूमा पनि यो समस्या देखापर्छ । तर, यस्ता कुराले कम्युनिष्ट आन्दोलन रोकिँदैन । पात्र फेरिए पनि आन्दोलन निरन्तर अगाडि बढिरहन्छ ।

क्रान्तिकारीहरूको पतनमा सांस्कृतिक पक्षको कति भूमिका हुन्छ ?

कम्युनिष्ट आन्दोलनमा लागेकाहरूमा जब लगातार संघर्ष, आत्मआलोचना, अन्तरसंघर्ष र शुद्धीकरणको प्रश्न कमजोर बन्दै जान्छ, त्यसबेला कम्युनिष्ट पार्टी बिग्रिँदै जान्छ । कयौँपटक गलत तत्वको प्रभाव बढ्छ, सहीहरू पनि कमजोर बन्दै जान्छन् । तर, क्रान्तिकारीहरूले लगातार संघर्ष गर्न छाड्नु हुँदैन । तपाईंले हेर्नु भयो भने, रुस र चीनका ठूला क्रान्तिकारी पृष्ठभूमिका पार्टीहरूमा के भइरहेको छ ? पुटिनलाई हेर्नुस्, कुनै समय उनी कम्युनिष्ट थिए । आज के गरिरहेका छन् ? रुसका कम्युनिष्टहरू धनाढ्य वर्गमा परिणत भए । चीनमा त्यही हुँदैछ । कम्युनिष्ट पार्टीमा मात्र होइन, बुर्जुवाहरूको पार्टीमा पनि कयौँ यस्ता पात्र हुन्छन्, जसले देशका लागि, समाजका लागि ठूलो योगदान गरेका हुन्छन् । तर, कम्युनिष्ट पार्टीमा लागेकाहरू नै व्यक्तिगत जीवनमा लागेको देख्नुको कारण समग्रमा राष्ट्रिय चेतना, राष्ट्रिय चरित्रको विकास हुन नसक्नुको हो । यहाँ कयौँ नेताले व्यक्तिगत फाइदाका लागि नदीनाला बेच्छन् । विदेशीसँग सौदावाजी गर्छन् । करोडौंँ अर्बौंको घोटाला गर्छन् । ब्युरोक्रेसीमा रहेकाहरू त्यसै गर्छन् । उनीहरू सामान्य अशिक्षित किसान, मजदुर होइन् । माथिल्लो तहमा रहेका पढेलेखेकाहरू नै छन् । यसले हाम्रो राष्ट्रिय चरित्रको विकास अत्यन्त न्युनस्तरको छ भन्ने देखाउँछ । बर्जुवा देशहरूमा जति राष्ट्रिय चरित्रको विकास भएको छ, त्यति पनि यहाँ विकास भएको छैन भन्ने देखिन्छ । त्यसको असर राजनीतिक पार्टीका नेताहरूमा पनि परेको छ । नभए माथिल्लो कर्णाली किन बेच्नुप¥यो ? नेपालले आफैँ बनाउन सक्छ नि माथिल्लो कर्णाली । तर, केही करोड, अर्बको लाभका लागि विदेशी कम्पनीलाई दिइन्छ । नेपाल आफैँले गर्न सक्ने अरु कयौँ परियोजना पनि त्यसैगरी विदेशीलाई दिइएको छ । यसले पनि हाम्रो राष्ट्रिय चरित्रमा गम्भीर प्रकारको कमजोरी छ भनेर देखाउँछ । हामी कहाँ राजनीतिक पक्षमा ठूलठूलो परिवर्तन भए, तर राष्ट्रिय चरित्र, सांस्कृतिक रुपान्तरणका लागि आन्दोलन हुन सकेन । बरु, बुर्जुवा भनिएका देशहरूमा समेत सांस्कृतिक रूपान्तरणका लागि ठूलठूला आन्दोलन भए र त्यहाँ राष्ट्रिय चरित्रको निर्माण भयो । त्यसकारण सांस्कृतिक रुपान्तरणका लागि हामी कहाँ पनि ठूलो आन्दोलनको जरुरत छ ।

विमतिहरूका बाबजुद अहिलेको सरकारलाई तपाईंका सुझाब के छन् ?

उसले कम्युनिष्ट सरह अहिले काम गर्न सक्छ र गरुन् भन्ने हामीले सोचेका छैनौँ । किनभने उनीहरू कम्युनिष्ट होइनन्, त्यसका लागि धेरै क्रान्तिकारी परिवर्तन गर्नुपर्छ । त्यो नभए पनि कमसेकम बर्जुवासरह नै भए पनि विकासका काम गर्न सक्नुपर्छ । त्यसका लागि उनीहरूले आफ्ना घोषणापत्रमा लेखिएका कुरा लागू गर्नतिर ध्यान दिनुपर्छ । तर, मलाई अहिले सरकारले केही राम्रो काम गर्न खोज्यो भने पनि गर्न दिँदेनन् । किनभने, यहाँको समाजको बनावट त्यस्तो छ, कमशिनखोर, माफियाहरूको ठूलो प्रभाव छ । प्रशासनयन्त्रमा भ्रष्टहरूको ठूलो प्रभाव छ । उनीहरू बलियो जरा हालेर बसेका छन् । सरकार चक्रब्युहमा फसेको छ । तै पनि सरकारले त्यसलाई चिरेर आफ्नो घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन गर्नतिर लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्