Logo
Logo

मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गरेको छ ।
उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । २०६८ मंसिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मंसिरदेखि गर्दै आएको हो ।
पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारवाही गरिएको थियो । महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ ।महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको संख्यामा कमी आएको बताए । ‘पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको संख्यामा कमी आएको छ’, उनले भने । महाशाखाका अनुसार आव २०७४÷०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५÷०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए ।
महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्