Logo
Logo

कस्मेटिक रसातलमा भासिएको कमरेड



सरल भाषामा यो जमानालाई ‘विज्ञान र प्रविधिको युग’ भनिन्छ । विकासशील राष्ट्रको हकमा यो सत्य र सान्दर्भिक सावित हुँदै गएको छ । मान्छे जन्माउनेदेखि मृत शरीर डढाउने कामसमेत प्रविधिले गर्न थालेको छ । खेतीपाती लगाउनेदेखि स्याहार्ने काममा पनि प्रविधिको प्रयोग भइरहेको छ । एउटा बन्द कोठामा बसेर सिङ्गो संसार नियाल्न सक्ने सहज वातावरण निर्माण भएको छ । यि त अतिनै सामान्य कुराहरू हुन् ।

चन्द्रमामा मानववस्ती निर्माणदेखि आफूलाई आवश्यक परेको खण्डमा कृतिम वर्षा गराउन सक्ने चमत्कारिक प्रविधिहरू पनि विभिन्न शक्तिशाली मुलुकहरूले निर्माण गरेका छन् । उसोत, पृथ्वीको जुन कुनामा आविस्कार भएपनि ज्ञान–विज्ञान, दर्शन र मानव सभ्यता आफ्नो–अर्काको हुँदैन । मात्रै त्यसलाई कुन तरिकाले प्रयोजन गर्ने भन्ने मात्रै हो ।

विज्ञानले यो भिमकाय विश्वलाई भुमण्डलिकरण गरेर सानो गाउँको रुपमा रुपान्तरण गरेको छ । विश्वका विकसित राष्ट्रहरू विज्ञान र प्रविधिद्वारा विकास निर्माणको तिब्र प्रतिस्पर्धामा छन् । तर, हाम्रो मुलुकको अवस्था भने दिनानुदिन पछाडि तिरै खस्किएको भान हुन्छ । ‘विज्ञान र प्रविधिको प्रचुर उत्पादनसँगै नयाँ युग प्रारम्भ भयो’ भन्न थालेको दशकौं बितिसक्यो ।

परन्तु भुमण्डलीकृत पूँजीवादको पक्षपोषण भन्दा अर्को नौलो काममा हाम्रो देशले फड्को मार्ने कुनै छनक देखिँदैन । कसैको नक्कल गर्न दुनियाँमा हामी नेपाली जत्तिको सिपालु अरु बिरलै भेटिएलान । त्यो पनि फाइदाजनक र लाभान्वित हुने कुरामा होइन, घातक र प्रतिकुल काम कुरामा ।

आउँदै गरेको तिजसँगै चाडपर्वहरूको लस्कर लाग्दैछ । यी चाडवाडमा हामीले अंगाल्ने अनावश्यक कृतिम सामाग्रीहरूको बोझ हरेक वर्ष बढ्दै गइरहेको छ । आयातित करोडौंका शृंगारयुक्त सामाग्रीहरू आफ्ना बँलेसीमा फिजार्दै व्यापारीहरू क्याल्कुलेटर थिँचिरहेका छन् ।

जसले यी कुसंस्कारयुक्त प्रवृतिको अन्त्य गर्छु भन्थ्यो, आज ऊ स्वयं नै हरियालीभित्र पहेलो धातुले बेरिएको छ । अन्य मुलुक विकासको तीब्र प्रतिस्पर्धामा अघि बढिरहँदा हाम्रो देशमा भने उही श्रृंगारयुक्त मनोवृत्तिको कडा टक्कर चलिरहेको छ ।

हामीले रकम जुटाउन जोरजुलम गरिरहेका छौँ । आफ्नो खुबीले भ्याओस्, नभ्याओस हामीलाई समाजको अघि अरुभन्दा उच्च खानदानीको देखिनु छ । भित्री बाध्यता जस्तो सुकै होस् आफू स्वयं छाँटकाँटकै देख्खिनु छ ।

सामाजिक परिबन्धको जाँतोमा घुमिरहेकाहरूको त त्यो चलिआएकै रित हो । तर, आफूलाई क्रान्तिकारी भनिनेहरूमा पनि यो शृंगारिक मोह ह्वात्तै बढेको छ । हिजो ‘महिलाको गलामा झुड्याइएका तिलहरीहरू गलपासो हुन्’ भन्ने महिला कमरेडहरूले अचेल घिरौंला जत्रो छड्के तिलहरी भिर्छन् । नाडीमा लगाउने चुराहरू हत्कडी र खुट्टामा लगाइने विभिन्न धातुबाट निर्मित वस्तुलाई नेलसँग तुलना गर्ने क्रान्तियोद्धा आज हत्केलामा नअटाउने सुनका बाला लगाउँछन् ।

समग्रमा उतिबेला महिलाको लामो कपाल नै उसको लागि अभिशाप हो भन्ने क्रान्तिकारी कमरेडहरू अचेल आफ्ना खुंग्रे कपालमा डेन्टिङ–पेन्टिङ गरेर दैलो बाहिर निस्किन्छन् । उतिबेला यी सबै वस्तुहरू महिलाविरुद्ध सामन्ती सत्ताले उत्पादन गरेका अनुपयोगी चिजको संज्ञा दिने कमरेडहरूको भित्री कोठामा अचेल कस्मेटिक पसलमा भन्दा धेरै शृंगारका सरसामानको थुप्रो भेटिन्छ । यो सिंगो वर्गप्रतिको धोखा मात्रै नभएर घातकपूर्ण सौन्दर्यचेतको उपज पनि हो ।

आफ्नै मेलोमेसो गरेर जीवन गुजारा चलाउँदै आएको समाजमा हिजो वर्गीयताको शिक्षा घोकाउने र रितिथितिको विगुल बजाउने काम भयो । अन्धविश्वासको कुम्लोभित्र ख्याउटिएर बसेका वर्गलाई झकझकाउने अभियान थालियो । यो राम्रो कुरो हो । सानातिना उखान टुक्के राजनीतिले यो दुरगामी उदेश्य बोक्न सक्दैनथ्यो । तथापि, बेथितिका विरुद्ध अगुल्टो झोंस्नेहरूको आजको अस्वाभाविक बदलिँदो स्वरुपलाई इंगित गरेर हिजोका नामुद कमरेडहरूलाई आफ्नो इतिहास सम्झाउन मात्रै खोजेको हो ।

यी संस्काररुपी अन्धविश्वास र परिवन्धनहरू हामीलाई निकै मिठा लाग्छन् । अभिन्न अंग जस्तै बनेर हाम्रा चेतनाभित्र अन्तरघुलित छन् । यिनमै एकखालको आनन्दानुभूति महसुस हुने परिपाटी सत्ता संरचनाले मिलाइरहेको छ । जब, हामी तोड्न खोज्छौँ तब महसुस हुन्छ यी कति बलियो गरि हामीमा जेलिएका छन् ।

हामीले सांकृतिक क्रान्तिको कुरा गरिरहँदा मनोवैज्ञानिक जटिलता पनि उत्तिकै आउँछन् । दासत्वलाई आफ्नो जीवन प्रवृत्ति मानिरहेकालाई बदल्न केही कष्ट अवश्य हुन्छ । यद्यपि, यो सम्भव छ । विडम्बना त के भने, जसले यी कुसंस्कारयुक्त प्रवृतिको अन्त्य गर्छु भन्थ्यो, आज ऊ स्वयं नै हरियालीभित्र पहेलो धातुले बेरिएको छ । यस्ता असुहाउँदा दृश्यहरूले सूक्ष्म परिवर्तनको लागि आह्वान गरिरहेको सत्यतालाई हामीले बेलैमा बुझ्न जरुरी छ ।

सांस्कृतिक रुपमा मात्रै होइन, कस्मेटिक रसातलमा चुर्लुम्म डुवेको हाम्रो देशको कमरेडहरूको कथा पनि ठ्याक्कै उस्तै छ । अन्य मुलुकहरू विकासको तीब्र प्रतिस्पर्धामा अघि बढिरहँदा हाम्रो देशमा भने उही श्रृंगारयुक्त आरोपप्रत्यारोप र सुसारयुक्त दास मनोवृत्तिको कडा टक्कर चलिरहेको छ । यहाँ घर चलाएर आगो ताप्ने राजनीतिक नेता– कार्यकर्ताहरू बग्रेल्ती छन् । तर पनि मुलुकमा करोडौंको खरानीसमेत आयात हुने गरेका आश्चर्यजनक तथ्यहरू हाम्रै अघि आइरहेका छन् ।

देशबाट दैनिक हजारौं युवा जनशक्ति विदेशिन बाध्य छ । उनीहरूको सपना भजाएर खानेहरू रातारात मालामाल बनेका छन् । उद्योगधन्दा र कलकारखाना खोल्नुपर्ने ठाउँमा झुटा सपनाको डोरी बाटेर दैनिक पार्टी नामका खुद्रा पसलहरू खुलिरहेका छन् । जतिसुकै खरानी घसेर कस्मेटिक नाराका ठेली बाँडे पनि यिनीहरूले माखो मार्ने छैनन् ।

मान्छेलाई माथि उक्लनुभन्दा तल ओर्लन छिटो हुन्छ । ओर्लन भन्दा खस्न अझै छरितो हुन्छ । त्यसैले होला हाम्रो देशका कमरेडहरू अग्रगमनको मादल बजाएर जहिल्यै पश्चगमनतर्फ कुँदिरहेका हुन्छन् । वैज्ञानिक समाजवादको अत्तर छर्किएर सामन्तवादी चिन्तनको पोषण गर्नेहरूबाट फगत देशलाई दुर्गन्धित बनाउने मात्रै हो । यिनीहरूले सुरुवाती चरणमा उठाएका मुद्दाहरू र लोकलाई बाँडेका सपनाहरू स्वयं नितान्त झुटा सावित गरिदिएका छन् ।

‘नयाँ युगको सुत्रपात हुन्छ’ भनेर सोझा जनतालाई झुक्याउनेहरू आज उहीँ पुरातनको कस्मेटिक रसातलमा चुर्लुम्म डुबेका छन् । आफू त डुबे नै, सिंगो देशलाई पनि डुबाएरै छाड्ने धाउन्नमा मरिमेटी लागेका छन् ।

परन्तु यिनीहरूले समय सधैं आफ्नै बसमा रहँदैन भन्ने कुराको हेक्का राख्न जरुरी छ । जनताका पटक–पटकका खबरदारीहरूलाई खेलाँची गर्दा भोलि आफैलाई महँगो पर्न सक्छ । मसिना झिल्काहरूलाई नपत्याउँदा हिजोको एकात्मक व्यवस्था आज कसरी किंवदन्ती बनेको छ भन्ने नै पर्याप्त उदाहारण होइन र ? यो कुरालाई अहिलेका कस्मेटिक रसातलमा तैरिरहेका कमरेडहरूले बेलैमा मनन गर्न जरुरी छ ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्