Logo
Logo

उत्तर कोरियाली सैनिक खतरनाक सिमाबाट भागेर दक्षिण कोरिया प्रवेश !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन (बिबिसी) । उत्तर कोरिया र दक्षिण कोरियाको सिमा सुरक्षा अत्यन्त कडा छ । तर, कडा सुरक्षाव्यवस्थालाई समेत चुनौती दिँदै दक्षिण कोरिया प्रवेश गरेका एक उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
दक्षिण कोरियाले जडान गरेको विशेष खालको ‘थर्मल इमेजिङ उपकरण’मा ती सैनिक बुधबार मध्यराति सो क्षेत्रमा आएको पत्ता लागेको जनाइएको छ । दक्षिण कोरियाली सेनाका अनुसार परिचय स्पष्ट नभएका ती उत्तर कोरियाली सैनिकले शरण लिने इच्छा देखाएका छन् ।
दर्जनौँ मानिस प्रत्येक वर्ष उत्तर कोरिया छोडेर भाग्छन् । तर, डीएमजेड भनिने कडासुरक्षा व्यवस्था भएको सैनिकीकृत क्षेत्र पार गरेर भाग्ने घटना अतिदुर्लभ र खतरनाक मानिन्छ ।
सन् २०१७ को नोभेम्बरमा भागेर दक्षिणतिर जना लागेका एक सैनिकलाई उनका सहकर्मीले ४० चोटी गोली हानेका थिए । डीएमजेडको दुईपट्टि दुवै देशका हजारौँ सैनिकहरू खटेका हुन्छन् ।
कोरियाली प्रायस्द्वीपको पश्चिममा उत्तर कोरियाबाट बगेर दक्षिणतिर आएको इम्जिन नदीनजिकै बुधवार मध्यरातपछि ती सैनिकलाई पहिलोपटक देखिएको थियो । त्यसपछि दक्षिण कोरियाली सैनिकहरूले उनलाई आफ्नो नियन्त्रणमा लिएका थिए । यो घटना दक्षिण कोरियाले मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको भोलिपल्ट भएको हो ।
उत्तरको सरकारी सञ्चारमाध्यम केसीएनएले देशका सर्वोच्च नेता किम जङ उनको उपस्थितिमा नयाँ क्षेप्यास्त्रको परीक्षण भएको जनाएको छ । उक्त परीक्षण दक्षिण कोरिया र अमेरिकाका सेनाले गर्ने भनेको अभ्यासलाई चेतावनी दिन गरिएको उत्तरको भनाइ छ ।
कोरियाली प्रायःद्वीपमा भगौडाहरू सामान्यतया उत्तर कोरियाली हुन्छन् जो आफ्नो देशबाट भागेर लोकतान्त्रिक र सम्पन्न रहेको दक्षिण कोरिया जान खोज्छन् । यसरी भाग्ने काम निकै खतरनाक हुन्छ ।
सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध सकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन् । दक्षिण कोरियाली तथ्यांकअनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाली भगौडाहरूको संख्यामा केही कमी आएको छ ।
सन् २०११ मा २,७०६ जना भागेर आएकोमा सन् २०१७ मा यो संख्या घटेर १,१२७ रहेको थियो । केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरू हिँडेरै सीमा कटेका थिए । अधिकांश भगौडा चीन भएर दक्षिण कोरिया पुग्छन् । उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ । चीनले भगौडाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिइन्छ र प्रायः उनीहरूकै देश फर्काइदिन्छ ।
दक्षिणबाट भागेर उत्तर कोरिया जाने घटनाचाहिँ निकै विरलै हुन्छ र उनीहरू तथाकथित ‘दोहोरो भगौडा’ हुन्, जो पहिला उत्तर कोरियाबाट भागेर दक्षिण पुगे र फेरि दक्षिणबाट उत्तर पुग्छन् ।
सन् १९९० को दशकको मध्यतिर भोकमरीका कारण उत्तर कोरियामा हजारौँ मानिस मारिएको ठानिएका बेला त्यस्तो घटना चाहिँ धेरै सामान्य थियो ।

प्रतिक्रिया दिनुहोस्