Logo
Logo

चितवन-३ मा प्रचण्ड र बादलको भिडन्त !


12.3k
Shares

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक गतिविधि बढेको छ । प्रमुख राजनीतिक दलहरु आन्तरिक तयारीमा जुट्न थालेका छन् । शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेताहरु निर्वाचन केन्द्रित गतिविधिमा लागेका छन् ।

निर्वाचनको तयारीसँगै को कहाँबाट निर्वाचन लड्ने भन्ने चर्चा हुन थालेको छ । आउँदो मंसिर चारको निर्वाचनमा पनि तालमेल गर्ने सत्तारुढ पाँच दलीय गठबन्धनबीच सहमति भइसकेको छ । सोही सहमतिबमोजिम गठबन्धन दल सीट बाँडफाँटमा जुटेका छन् ।

गठबन्धनका केही शीर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्र दाबी गर्न थालेका छन् । केहीले निर्वाचन क्षेत्र समेत घोषणा गरिसकेका छन् ।

तर, संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको दाबी गर्न सकेका छैनन् । सत्ता गठवन्धन दल आगामी निर्वाचनमा तालमेल गरेरै जाने भएपछि एमाले नेताहरु निर्वाचन क्षेत्र दाबी गर्न डराएका हुन् ।

आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने मनस्थितिमा छन् एमालेका नेताहरू । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा सुरक्षित र सहज हुने उनीहरुको बुझाइ छ ।

अहिले आफ्नो निर्वाचन क्षेत्र घोषणा गर्नेमध्ये एक हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनले आफू चितवन- ३ बाटै निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

जापान भ्रमणमा रहेका प्रचण्डेले जापानबाटै भनेका थिए- ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४-५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर तीनबाट नै निर्वाचन लड्छु क्लियर हुनुहोला ।’

प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र घोषणा गरेसँगै आमागी निर्वाचनमा पूर्वसहकर्मीसँग उनको भिडन्त हुने देखिन्छ ।

नेकपा एमालेले चितवन-३ बाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई उठाउने तयरी गरेको छ । बादल पनि चितवन-३ बाटै निर्वाचन लड्ने मनोसयमा छन् । एमालेले चितवन–३ मा बादललाई टिकट दिए प्रचण्डसँग भिडन्त हुने देखिन्छ । ‘प्रचण्ड र बादल युद्धकालीन नेता हुन् ।

कसरी छुट्टिए प्रचण्ड-बादल ?

कुनैबेला प्रचण्ड-बादलले मार्क्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन खोजेका थिए । तर, अहिले यस्तो अवस्थामा आइपुगे एक-अर्काबीच नै लड्न’ पर्ने । जनयुद्धको सहयात्री प्रचण्ड–बादलको यात्रा छुटिएको केही वर्ष मात्रै भयो ।

०७४ को निर्वाचनमा एमाले र माओवादी निर्वाचनपछि पार्टी एकता गर्ने र सरकारको नेतृत्व आलोपालो चलाउने सहमति भयो । निर्वाचन परिणाम सोचेअनुरुप नै आयो । त्यसपछि एमाले र माओवादी एकता भयो । र, बन्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति पालना नगरेपछि नेकपामा विवाद चुलियो । विवादले उग्ररुप लिएपछि २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरे । संसद विघटनपछि विवाद झनै चर्कियो ।

नेकपामै सत्तापक्ष र प्रतिपक्ष बन्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समुह सरकार छाडेर सडकमा उत्रियो । र, आफ्नै पार्टीको सरकारविरुद्ध प्रर्दशन गर्यो ।

विवादकैबीच २०७७ फागुन २३ गते सवोच्च अदालतले एमाले र माओवादीको एकता खारेज गर्यो । र, नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो । त्यसपछि एमाले र माओवादी आ–आफ्नै पुरानै घरमा फर्के ।

तर, माओवादीका केही नेताहरु मन्त्रीको लोभले एमालेमै रहे । जसमध्ये एक हुन् तत्कालिन बादल ।

बादल २०७४ सालमा बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । उनी नेकपा एमालेमा गएपछि माओवादी केन्द्रले कारवाही गर्यो । उनको राष्ट्रिय सभा सदस्य पद पनि गुम्यो ।

बादलको पद रिक्त भएपछि उक्त ठाउँमा २०७८ जेठ ६ गते उपनिर्वाचन भयो । उपनिर्वाचन पुनः बागमतीबाट उठेका बादल सत्ता गठवन्धनका उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भए ।

त्यसपछि बादल एमालेको ‘थपना उपाध्यक्ष’ भएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्