Logo
Logo

द्रुतमार्ग यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री


441
Shares

काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।

‘सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै काठमाडौँ–तराई–मधेस द्रुतमार्ग जस्तो राष्ट्रिय गौरवको योजनासमेत नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने गरी अघि बढाइएको छ’, बैठकमा प्रधानमन्त्री देउवाले भने, ‘देशको दक्षिणी नाका एवं तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ ।’

बैठकमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा थप प्रगति हासिल गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन पनि दिए ।

रक्षा मन्त्रालय मुलुकको प्रतिरक्षा जस्तो संवेदनशील र जिम्मेवारी बोकेको मन्त्रालय भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र एकता जस्ता महत्वपूर्ण विषय यस मन्त्रालयको कार्यक्षेत्र रहेको बताए ।

आज क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप पेचिलो बन्दै गएको सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका सुरक्षा चुनौतीका बीच मुलुकको समग्र राष्ट्रिय सुरक्षा नीतिमा कुनै आँच आउन नहुनेमा जोड दिए ।

उनले जनताको जीउधन र स्वतन्त्रतालाई अक्षुण्ण राख्दै सुरक्षा वातारणमा कुनै कमीकमजोरी हुन नदिन तथा मुलुकको विकास एवं आर्थिक गतिविधिलाई निर्वाधरूपमा अघि बढाउन नेपाली सेनालगायत सबै सुरक्षा निकाय सजगताका साथ काम गर्नुपर्ने आवश्यक औँल्याए ।

नेपालको संविधान २०७२ को धारा २६७ अनुसार नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् व्यवस्थापनलगायतका कार्यमा परिचालन गर्दै आइएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाले पाएको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए । उनले चालु आवमा हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने गरी अघि बढ्नेमा विश्वस्त रहेको बताए ।

उनले विपद् व्यवस्थापन वा कुनै महामारी तथा कोभिड नियन्त्रण रोकथाम र शव व्यवस्थापनमा सेनाले गरेको योगदान प्रशंसनीय रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाली सेनाबाट मुलुकको प्राकृतिक संरक्षण, महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा एवं ऐतिहासिक महत्वका गढी किल्लाको संवर्द्धनमा गरिएको कार्य महत्वपूर्ण रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिई मुलुकको पर्यावरण संरक्षण र किल्लाको संवर्द्धनमा थप टेवा पुर्याएने विश्वास व्यक्त गरे ।

बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरी सकल दर्जालाई कार्यालय भवन र आवास उपलब्ध गराउन प्रधानमन्त्री देउवाले नेपाली सेनालाई निर्देशन पनि दिए ।

उनले नेपाली सेनाले देशभित्र मात्रै नभई देश बाहिरसमेत शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गरे । उनले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति मिसनमा भूमिका बढाउनका लागि सरकारका तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्