Logo
Logo

घुस फिर्ता गर्नेमा प्रहरी जवान धेरै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन
विगतमा यस्तो सोचाई थियो–चेकिङको क्रममा घुस दियो भने ट्राफिक प्रहरीले छाडिदिन्छ । तर, त्यसरी घुस दिंगा करिब एक महिनासम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुनसक्छ ।
उपत्यकामा प्रहरीले घुस दिने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाउन थालेको छ । यो अभियानअन्तर्गत १० महिनामा घुस फिर्ता गर्नेमा सिपाहीको संख्या धेरै छ । गत वर्ष असोजदेखि असारसम्मको १० महिनाको अवधिमा एक सय ४७ प्रहरीले घुस फिर्ता गरेको महानगरीय प्रहरी कार्यालयको तथ्यांक छ ।

जसमा सबैभन्दा धेरै प्रहरी जवान छन् । यो अवधिमा ६२ जना जवानले घुस फिर्ता गरेको महानगरीय प्रहरी कार्यालयका आयुक्त डिआइजी सैलेश थापा क्षेत्रीले बताए । त्यस्तै, ४० असइ, २५ हवल्दार, १६ सइ, दुई इन्स्पेक्टर र दुई डिएसपीले घुस फिर्ता गरेका छन् ।
आर्थिक रुपमा प्रहरी जवानहरु सबैभन्दा कमजोर हुन्छन् । तर, उनीहरु नै धेरै इमान्दार हुने गरेको यो तथ्याङकले देखाउँछ ।

कुनै गल्ती गरेपछि प्रहरीलाई घुस दिएर उन्मुक्ति पाइन्छ भन्ने सोच बदल्न उनीहरूलाई पक्राउ गरेर मुद्दा नै चलाउन थालिएको प्रहरीले जनाएको छ । उनीहरूलाई तीन सातासम्म थुनामा राखेर प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाउने गरेको छ । धेरैजसो घटनामा ट्राफिक नियम मिचेपछि कारबाही नगर्न भन्दै सवारीचालकहरूले घुस दिने गरेका छन् ।

प्रहरीले दुई सयदेखि तीन लाख ५० हजार रुपैयाँसम्म घुस बरामद गरेको छ । चार महिनाअघि स्वयम्भु प्रहरीलाई तस्करीको सामानसहित पक्राउ परेका व्यक्ति छुटाउन तीन लाख ५० हजार घुस दिइएको थियो । जुन मुद्दामा अख्तियारले समेत अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।

यस अवधिमा एक सय ५७ जनालाई घुस दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । डिआइजी क्षेत्री गत असोजमा महानगरीय प्रहरी कार्यालयमा सरुवा भएपछि प्रहरीभित्र शुद्धीकरण गरी प्रहरीप्रतिको नागरिकको दृष्टिकोण परिवर्तन गर्न यस्तो अभियान सुरु गरेका हुन् । जून निकै प्रभावकारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्