Logo
Logo

‘आइफा’ स्थगितपछि ‘नेफा’ घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन । ‘इण्डियन इन्टरनेशनल फिल्म अवार्ड’ (आइफा’ नेपालमा आयोजना हुने खबरले एकपटक नेपाली मिडिया रंगिएको थियो । तर, आईफामा लाग्ने लागतबारे विवाद भएपछि नेपाल सरकारले रद्द गरेको थियो । ‘आइफा’ आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्ने जनाएपछि जनमानसबाटै त्यसको विरोध आएको थियो । कडा विरोधपछि अन्ततः आइफा नेपालमा नहुने निश्चित भएको थियो । तर, यहाँ ‘आइफा’ नभएपनि ‘नेफा’ हुने भएको छ ।
अवार्डहरुको भीडमा अब ‘नेफा’ अर्थात ‘नेपाल फिल्म अवार्ड’ हुने भएको छ । यहाँ अवार्डको संख्या गन्ती गर्ने हो भने कलाकारभन्दा धेरै हुन सक्छ । तर यसका बाबजुद (नेफा) घोषणा गरिएको छ । यो अवार्डलाई अरुभन्दा भिन्न र भव्य बनाउने आयोजक टिमको भनाइ छ । आयोजकको भनाइअनुसार ‘नेफा’लाई ‘आइफा’जस्तै पपुलर बनाइनेछ ।
आयोजकमध्ये रंग पत्रकार समीर बलामीले प्रेषित गरेको सामग्रीका अनुसार नेपाली फिल्म क्षेत्रको सबैभन्दा सर्वश्रेष्ठ अवार्डको रुपमा ‘नेफा’ आयोजना हुनेछ । यो अवार्ड दशैँपछि हुने पनि बताइएको छ । यस अवार्डमा लागि बलामी फिल्म इनटरटेन्मेन्ट र नेफा मिडिया गु्रप संलग्न छन् । जसलाई आयोजक टिममा राखिएको छ ।
साथै, ‘नेफा’का लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने बताइएको छ । अवार्डका लागि झण्डै २ करोड खर्च हुने अनमान गरिएको छ । आयोजक संस्थाका अध्यक्ष समीर बलामीका अनुसार ‘नेफा’ आयोजकले प्रस्तुत गरेको कार्यविधिमा अवार्ड प्रतिक्षित रहेको छ ।
अवार्डले समग्र नेपाली फिल्मकर्मी र दर्शकप्रति सम्मान जनाउने बताइएको छ । नेपाली कला, संस्कृतिलाई मौलिकरुपमा प्रस्तुत गर्दै नेपाली फिल्मको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मूख्य उद्देश्य बनाएर ‘नेफा’ आयोजना गर्न लागिएको जनाइएको छ ।
यस अवार्डका लागि विभिन्न २१ जना फिल्म पत्रकारको समूहले मोडल तयार गरेको जनाइएको छ ।
स्वदेश र विदेशमा आवश्यकता र समयानुकुल यो अवार्ड आयोजना हुने पनि जनाइएको छ । स्वदेशमा यो अवार्ड संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला संघ संस्थाको समन्वयमा विभिन्न प्रदेशमा आयोजना गरिने आयोजकले जनाएको छ ।

‘नेफा’ पनि अरु अवार्ड भन्दा केही फरक छैन । आयोजकले जनाएअनुसार नेपाली फिल्मप्रति समर्पित एक स्रष्टा, सर्जक वा फिल्मकर्मीलाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । यो हरेक अवार्डको संस्कार नै हो । ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान नगरिने यहाँ अवार्ड नै छैन ।
त्यस्तै, ट्रफीमा ‘कम्तीमा ३५ तोलादेखि र बढीमा ५० तोलासम्म चाँदी समावेश भएको हुनेछ’ भनिएको छ । यो पक्कै खुसीको कुरा हो । ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’मा एक तोला सुन र नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राखिएको बताइएको छ ।
यस अवार्डमा एउटा उत्कृष्ट फिल्म बन्नका लागि नभई नहुने विधा र नेपाली दर्शकसँग प्रत्यक्ष परिचित हुने विधामात्र समावेश गरिने आयोजकले जनाएको छ । जस्तै, पपुलर अवार्डतर्फ फिल्म, एक्टर, एक्ट्रेस, सिंगर मेल र सिंगर फिमेल रहेका छन् ।
यस्तै बेष्ट अवार्डतर्फ फिल्म, डिरेक्टर, एक्टर, एक्ट्रेस, डेब्यु डिरेक्टर, डेब्यु एक्टर, डेब्यु एक्ट्रेस, सपोर्टिङ क्यारेक्टर, एडिटर, साउण्ड डिजाईन, स्क्रिनप्ले, सिनेमाटोग्राफर, कम्पोजर र आदिवासीजनजाति फिल्म रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्