Logo
Logo

एनसेलमाथि विप्लवको तारो : एकै रातमा २ दर्जन टावरमा आगजनी


- दृष्टि न्युज/संवाददाता


डोटीको जोरायल गाउँपालिका(१ गोगनपानीमा बुधबार राति अज्ञात समूहले गरेको आगजनीबाट क्षतिग्रस्त एनसेलको टावर । तस्बिर : रासस

काठमाडौं, १६ साउन । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द ‘विप्लब’ समूहले आगजनी गरी क्षति पु-याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो ।

बुधबार साँझदेखि बिहीबार बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए ।
प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो ।
यस्तै अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ । गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्