Logo
Logo

सोल्टेनी छोडेर जनता रोजेका जेवी टुहुरे



जनगायक जेबी टुहुरे महायात्रामा निस्केको १० भदौमा एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्मस्थान धरानमा त्यही दिन ‘जेबी टुहुरे स्मृति सन्ध्या तथा श्रष्ठा सम्मान’ कार्यक्रम हुँदैछ ।

नेपालका ख्यातीप्राप्त श्रष्टाहरुको सम्मानसहित सोही दिन जेबी टुहुरेको सम्झनामा सांगीतिक उत्सव हुनेछ । उनै जनगायकको उच्च मूल्याङ्कन गर्न यी हरफहरु समर्पित छन् ।

हिमालभन्दा अग्लो
साम्यवादी साहित्यमा मृत्युलाई हेर्ने बेग्लै दृष्टिकोण छ । पहिलो मृत्यु हो– हिमालभन्दा गरुँगो र दोस्रो प्वाँखभन्दा हलुंको । जसले जनताका मुक्तिका लागि जीवन अर्पण गर्छ, उसको मृत्यु पहिलो मृत्यु हो । यस्तै मृत्युवरण गरेर गएको ०७८ भाद्र १० गते महायात्रामा निस्केका थिए, जनताका गायक जेबी टुहुरे यस्तो गीत गाउँदै-
मर्नैपर्छ एकदिन सबैले हामी पनि मर्छौँ
हामी मर्दा जनताको शीर उठाई मर्छौं ।
आमा दिदीबैनी हो…

‘चरी भरर्’ पुस्तिकामा प्रकाशित एकदेव ज्ञावालीद्वारा लिखित ‘आमा दिदीबैनी हो’ बोलको गीतबाट जनपक्षीय सांस्कृतिक फाँटमा उदाएका टुहुरेले कहिल्यै विश्राम लिएनन् । किसान आन्दोलनको जागरण, महिला मुक्ति र जनमुक्तिका असंख्य गीतहरु गाए ।

उनले गीतमात्र गाएनन् राजनीतिक आन्दोलनमा आफ्नो जीवन नै समर्पण गरे । तर, उनलाई जीवन्त राख्ने यही आमा दिदीबैनी गीत नै भयो । टुहरेकै संगीत, रचना र गायकीमा आएको यो गीत एकदेव ज्ञवालीको कविता हो । तर, कवितालाई पनि उनले गीतमा ढाले ।

कविता गाउने विरालाकोटीका गायकमा पर्छन्, जेबी । लाखौं पटक उनले मात्र गाएको यो गीत कति पटक बज्यो, कति पटक सुनियो, कति पटक अरुले गाए ? लेखाजोखा गर्न सकिन्न । यो गीतको मूल मर्मलाई नभाँची यो गीतको परिमार्जन, थपथाप गरेर यो गीतलाई जनपक्षीय सांस्कृतिक काव्यदर्शन बनाइएको छ । यो गीतलाई उजिल्याउन अर्का जनगायक रामेस श्रेष्ठ र टुहुरेले पहिलो मुखडा यो भाकामा थपे-
आफ्नै पौरख खान्छन्
आफ्नै शिपमा बाँच्छन्
दुःख कस्ट सहेर
सृष्टि यिनले थाम्छन्
असल महान व्यक्तिहरु
यिनैले जन्माउँछन्
ज्ञानज्ञुण बुद्धिहरु
यिनैले सिकाउँछन्
तर पनि अँधेरोमा
जीवन विताउँछन्

यो गीत सुनेर प्रगतिशिल हुँदै वामपन्थी आन्दोलनमा हेलिएकाहरुको कथा सार खिच्न कठिन छ । पूर्वी नेपालको वस्तीहरुबाट गुन्जिएको यो गीतको शंखनादले नेपालको राष्ट्रिय राजनीतिलाई प्रगतिशील घुम्तीमा पुर्याउने सेतुको भूमिका खेल्योभन्दा अन्यथा हुन्न । तर, यसलाई प्रगतिशील सांस्कृतिक दर्शनमा ढाल्न अर्को अन्तरा पनि थपियो । कवि बम देवानले थपेको यो गीतको अन्तिम अन्तरा यस्तो थियो-
सामान्तीको कुचाल हो यो
भ्रष्ट रिती पुँजीको
बुझी सब ब्युँझ अब
ध्वस्त पार्न नारी बन्धन
दुःख अनि जिवनको
युगले आज भन्दछ
नारी पनि मान्छे हो
जाग उठ नारी हो
सिर्जनाको घाम बनेर ।

विश्राम नपाएको गीत-
यो गीत पहिलोपटक धरानको भूतपूर्व सैनिक विश्राम भवनमा टुहुरेले ०३३ सालमा गाएर सार्वजनिक गरेका थिए । कतिपय गीतहरु समयसँगै अप्रसांगिक हुन्छन् । तर, विश्राम भवनबाट सार्वजनिक भएको यो गीतले कहिल्यै विश्राम पाएन । अझै कति दशक विश्राम नपाउने हो यकिन छैन ।

यस अर्थमा यो कालजयी भएको छ । यो गीत जत्तिको लोकप्रियता नेपाली साहित्यमा कुनै गीति साहित्यले आजसम्म पाएको छैन । सदियौंसम्म आमा दिदीबैनीके प्रसंग आउँदा टुहुरे जिवित भएर हाम्रा आँखा अगाडि गाइरहेका, नाचिरहेका हुनेछन् ।

मुट्ठी भरलाई स्वर्ग
हरेकको जीवनमा अन्तरंग साथीहरु हुन्छन् । नेपालको प्रचलित चलनमा ‘मित’ भएजस्तै । टुहरेको जीवनलाई उजिल्याउने सहयोद्धामध्येका एक थिए, लब प्रधान । उनको टाइटल थियो ‘मित्र’ । तिनै मित्रले टुहुरेको व्यक्तिगत जीवनलाई मात्र भरथेग गरेनन्, टुहरेको सांगीतिक यात्राको सारथी पनि बने । उनै मित्रले टुहरेलाई यस्तो गीत रचना गरेर दिए ः
बसाइँ हिँड्नेको ताँतीले
बस्नेको मन रुहाउँछ
लाखौंको लागि उजाड छ यो देश
मुट्ठी भरलाई त स्वर्गै छ…

यो गीत रचनाले रुपमा टुहुरेको गायकीमा चारचाँद मात्र लगाएन, सारमा यो गीतले नेपाली श्रमजिवी जनतामा जागरण पनि ल्यायो । गीतले मुट्ठीभर शोषक सामन्तको विरुद्धमा आमशोषित पीडितको पक्षमा जनवकालत गरेको छ ।

बुद्धले के भन्छन ?
महामानव सिद्धार्थ गौतम बुद्धले निरपेक्ष शान्तिको कुरामात्र गरेका होइनन् । परिवर्तनसहितको शान्तिको कामना नै बुद्ध दर्शनको मर्म हो । परिवर्तन आफैबाट सुरुवात गर्नुपर्छ भन्ने त बुद्ध दर्शनको प्रारम्भिक कार्यदिशा नै हो । यसैले बुद्धमा सामान्य चेतना आउनासाथ उनले राजपाट त्यागे । बुद्ध दर्शनको मूल्यमा खडेरी लागि रहेको बेला उनकै दर्शनमा आधारित सन्देश दिएर टुहुरेका अनन्य मित्र साहित्यकार बम देवानले यस्तो गीत लेखेर दिए ः
छोराहरु हो, छोरीहरु हो
वीर छोरा छोरी हो
आमाले साथ माग्दछिन्
माटोले रगत माग्दछ
शान्तिका सन्तान हामी हौं
बुद्धले ब्युँझ भन्दछ…

सारंगीको तार-
नेपाली संगीतलाई उजिल्याउने प्रमुख वाद्यवादन सारंगी हो । सारंगीले नेपाली गीतसंगीतमा कति योगदान गरेको छ, त्यसको मोल छैन । तर, यस्तो वाद्यवादनलाई पनि जनताको हितमा प्रयोग गरेर श्र्रष्टाहरुले जनताको मुक्तिको सन्देश र सेवा गरेका छन् ।

माया पीरतीका रंग न ढंगका गीतसंगीतमा अल्मलिएको बाजालाई जनसमक्ष प्रयोगमा ल्याए । यस्तै एउटा गीत सम्भवतः स्व. कवि गोविन्द विकलले रचना गरे । शम्भू राईले संगीत भरे र जेवी टुहरेले गाए ः
सारंगीको तार रेटी बनाएको धून
त्यै धूनमा रचेको गीत भाइबैनी हो सुन
संसारमा आएपछि जुझ्न जान्नुपर्छ
बैरीसँग नडराई भिड्न जान्नुपर्छ
जुझ्ने आँट गर्नेहरुको जीत साथी हुन्छ
संसारमा वीरहरुको हात माथि हुन्छ ।

सोल्टेनीहरु छोड्दै-
सोल्टेनी कान्छी बजारै जाउँ है
पुर्नेको छेकै पारी ।

टुहुरेले रेडियो नेपालमा गाउँ, मेलामा पाउने सस्ता सोल्टेनीहरुलाई गीतमा सम्बोधन गरेका थिए । उनको सार्वजनिक गायकी यस्तै सस्ता सोल्टेनीको भाकाबाट सुरुवात भएको थियो । तर, जब उनमा चेतना आयो । सस्ता सोल्टेनीलाई चटक्कै छोडेर वीर छोराछोरी र सिर्जनाका घाम आमा दिदीबैनीहरुको मुक्तिको सन्देश लिएर घुमे ।

कतिपय गायक चेत खुलेर पनि सोल्टेनीमै झुमिरहे । उनले भने महान यात्राको पहिलो पाइला चाले । यो ०२७ सालको कुरा हो । कीर्तिपुरको अडिटोरियम हलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको गीति कार्यक्रममा सामन्तीलाई लकार्दै एउटा गीत गाए-
किसानको मुटु छामेर हेर, क्रान्तिको ज्वाला दन्केकै छ
मजदूरको मुटु छामेर हेर, तातो रगत उम्लेकै छ
खेल न सम्झ सामन्ती हो, भेल त यहाँ बग्दैछ
होसियार सामन्ती हो …

टुहुरेको प्रगतिशील पथको प्रस्थान विन्दू यही गीतबाट भयो । त्यहाँदेखि उनले फर्केर पनि पछि हेरेनन् । अघिअघि गए । उनले छुटेका साथीहरुलाई पनि पर्खेनन् ।

नयाँ लहर हुँदै माओवादीसम्म
धरानको नयाँ लहर सांगीतिक समूहबाट चेतनशील गीति यात्रामा लागेका टुहरेले संकल्प परिवार, जनसांस्कृतिक मञ्चमा रहेर प्रगतिवादी गीत संगीतमा ठूलो योगदान दिएको विषय यो सानो लेखमा अभिलेख गर्न सम्भव छैन ।

माले, एमालेको राजनीतिमा जीवन विताएका टुहुरेको महायात्रा माओवादीको आँगनमा आएर टुंगियो । गीतसंगीतको मोर्चालाई सत्ता चढ्ने भर्याङमात्र बनाएको तत्कालीन एमालेको गुह्य थाहा पाएपछि दशकौं विताएको पार्टीलाई चटक्कै छाडेर माओवादीमा उनी समाहित भए ।

माओवादी पार्टीले दोस्रो संविधानसभाको सदस्य बनाएर टुहुरेको योगदानको सम्मान गर्याे । टुहुरेले बेलैमा यो निर्णय नगरेको भए एमालेको ‘गन्धर्व’मात्र भएको भूमिकामा उनले मृत्युवरण गर्नु पर्दथ्यो ।

जन्म र राजनीतिक जीवन-
मनमोहन अधिकारी नेतृत्वको पूर्व कोशी प्रान्तीय कमिटीबाट वाम राजनीतिमा पाइला सारेका उनी ०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्य बने । कोअर्डिनेशन कमिटी, माले, एमाले हुँदै जीवनको अन्त्यमा पेरिस डाँडा पुगे ।

विसं २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका टुहुरेले नेपाली गीतसंगीतमा नयाँ योगदान दिए । तीन छोरी, एक छोरा र श्रीमतीसहितको परिवारलाई जनजीविकाको अनेक आरोह पार गर्दै विरालोले बच्चा सारेजस्तै धरान, मधुमल्ला, विराटनगर हुँदै काठमाडौमा विश्राम लिए ।

औपचारिक शिक्षा साढे तीन कक्षामात्र लिएका भएपनि उनमा अदभूत क्षमता थियो । उनी प्रांगारिक गीतसंगीत र गायकीका प्राध्यापक थिए । यस्ता महान उचाइका टुहुरेको क्षतिपूर्ति सम्भव छैन । उहाँप्रति हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस्