Logo
Logo

ओलीको दावी- गुरुत्वाकर्षणको सिद्धान्त ज्योतिषविद् आर्यभट्टले पत्ता लगाएका हुन्


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले नभएर प्राचीन भारतका ज्योतिषविद् आर्यभट्टले पत्ता लगाएको दावी गरेका छन् ।

आइतबार युवासँगको संवाद कार्यक्रममा न्यूटनको भन्दा सयौँ वर्ष पहिले नै गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लागिसकेको बताउँदै भारतका ज्योतिषविद् आर्यभट्टले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको दाबी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘छैटौँ शताब्दीमा आर्यभट्टले खगोल शास्त्र, गणित निकालेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । आज तपाईँहरूलाई गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले पत्ता लगाएको भनेर पढाइन्छ ।’

उनले ग्यालिलियोले स्याउ कसरी माथिबाट खसेको भनेर खोजी गरेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लागेको भनिएको बताउँदै भने, ‘यो कुरा त छैटौँ शताब्दीमा आर्यभट्टले पत्ता लगाइसकेका थिए । प्रमाणित पनि गरिसकेका थिए ।’ उनले ओलीले छैटौँ शताब्दीमा आर्यभट्टले पत्ता लगाएको सिद्धान्तलाई १२औँ शताब्दीमा भास्कराचार्यले थप प्रष्ट्याएको दावी गरे ।

उनले भने, ‘आर्य भट्टका शिष्य भास्कराचार्यले पृथ्वीको बेस, तौल, चन्द्रमाको दुरी ,सूर्यको दूरी पृथ्वी गोलो रहेको र यसले कसरी घुम्छ भन्ने कुरा पत्ता लगाएर ११५० सिद्धान्त शिरोमणि पुस्तक निकाले’ ओलीले भने, ‘१२१० मा त्यो पुस्तक प्रकाशित भयो ।’

अर्थशास्त्रको पिताको रूपमा चिनिने एडम स्मिथले पत्ता लगाएको सिद्धान्त पनि कौटिल्यले धेरै अगाडि पत्ता लगाएको उनको दावी छ । अध्यक्ष ओलीले भन्दै बुढा मान्छेहरूले ठूलो प्रयास गर्न नसक्ने भएकालेसृजनशीलतामा लाग्न युवाहरूलाई ऊर्जा थपेका थिए ।

उनले भने, ‘बुढा मान्छेहरूले ठूलो प्रयास गर्न सक्दैनन् । कार्ल मार्कस र फ्रेडरिक एंगेल्सले १८४८ मा कम्युनिस्ट घोषणापत्रको रचना गरे । उनीहरूको उमेर त्यही २८-३० थियो । त्यो उमेरमा निकालेको सिद्धान्तले दुनियाँ हल्लायो । अहिले पनि हल्लाइरहेको छ । तपाईँहरूको उमेर पनि त्यस्तै छ । तपाईँहरू पनि सृजनशीलतामा लाग्नुपर्छ ।’ उनले कुनै समयमा अन्धविश्वासमा रहेको जर्मनीमा आँटो एडुअर्ड लिओपोल्ड बिस्मार्कको भूमिका सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्