
१. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता, विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयको भनाइ, नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएकोले पुनर्विचार गर्न आवश्यक भएको ठहर, संविधानको धारा ११३ को उपधारा (३) बमोजिम विधेयक गरेको जानकारी ।

२. संघीय संसद्बाट पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्विचार गर्न भनी फिर्ता पठाएको विषयमा सत्तारुढ दलले साझा धारणा तय गर्ने, विधेयकको कुन-कुन व्यवस्थामा पुनर्विचार गर्नू भनेर पठाएको भन्नेबारे हेरिने, पत्राचारमा के कुरा उल्लेख छ भन्ने मुख्य कुरा भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको भनाइ ।

३. मतदानका लागि १८ वर्ष उमेर पुग्ने दिन (कट अफ डेट) निर्धारण, साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने, अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले मतदान गर्न नपाउने ।

४. नेकपा एमालेद्वारा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएको निर्णयको स्वागत, जनभावनालाई सम्बोधन गर्दै राष्ट्रपतिले विधेयक फिर्ता गरेको भनाइ, सत्तारुढ गठबन्धनले बहुमतको बलमा पुनर्विचारमा बलजफ्ती गरे प्रतिकार गर्ने प्रमुख सचेतक विशाल भट्टराईको भनाइ, विधेयकलाई रचनात्मक तरिकाले छलफल गनुपर्ने अभिव्यक्ति ।

५. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच भेटवार्ता, माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा निर्वाचन चिन्ह लिएर मंसिर चारमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लड्न बाबुराम तयार, दुबै पार्टीको बैठकबाट अनुमोदन हुने ।

६. राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावना विपरित निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको आरोप, दुवै संसदबाट पारित भएर प्रमाणित गरी पठाएको नागरिकता विधेयकलाई राष्ट्रपतिले अस्वीकृत गर्नु नागरिकको मौलिक अधिकार हनन भएको टिप्पणी, जनताको सर्वोच्च निकाय संसदलाई पनि राष्ट्रपति अपहेलना गरेको भनाइ ।

७. दोषीलाई उन्मुक्ति नदिने गरी विधेयक परिमार्जन गर्नुपर्नेमा जोड, कानूनविपरीत गरिएका कार्यलाई तथा सम्बन्धित दोषीलाई उन्मुक्ति नदिने गरी परिमार्जन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सुझाव, अन्तर्राष्ट्रिय कानूनविपरीत हत्या, यौन हिंसालगायत अपराधमा संलग्न पक्षलाई कडाइका साथ दण्डित गर्ने गरी विधेयक परिमार्जन गर्न जोड ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा जारी, साताको पहिलो दिन २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स चार दशमलब ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलब ९० मा सिमित, २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैँयामा कारोबार ।

९. बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि, मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन, इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु, तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लङ्घन जारी राखेको ईयूको भनाइ ।

१०. बंगलादेशसँग असोजमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघद्वारा ४० सदस्यीय प्रारम्भिक टोली सार्वजनिक, टोलीमा अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समावेश, प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा विभागीय टोली नेपाल आर्मीको विजयी सुरुवात, रोयल सेन्ट्रल स्पोर्टस क्लब ९१–६३ ले पराजित ।
