
काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले सोमबार भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ ।
दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुरुआत गरेका थिए । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसका अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाए ।
मुर्मूले आफ्नो सम्बोधनमा स्वतन्त्रताका लागि स्वतन्त्र सेनानीले गरेको बलिदानको सम्झना गर्दै भारतले हासिल गरेको उपलब्धिको चर्चा गरेकी छन् । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि युवालाई समर्पित हुन आह्वान गरिन् ।
कार्यक्रमलाई भारतमा स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साका रुपमा लिइन्छ । दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई २.६५ करोड रुपैयाँ प्रदान गरेको छ ।
दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्यो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन पे्ररित गर्ने उद्देश्यले भारतको विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंले देशभक्ति गीत प्रस्तुत गरेको दुतावासले जनाएको छ ।











