Logo
Logo

परिवर्तनका लागि धेरै संघर्ष गरियो, अब समृद्धिमा जोड दिनुपर्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको स्थायित्व र विकासका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान र पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरिएकाले अब समृद्धिमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरियो । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ ।’ उनले आफूले देशको आर्थिक समृद्धिको निम्ति जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडल विकास गर्नकै प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । इतिहासले पनि हामी सबैलाई धेरै दिएको छ । अब वर्तमानमा प्रकृति र इतिहासमा ती गौरवहरु र तागतहरुलाई सदुपयोग गरेर समृद्ध नेपाल बनाउनुर्छ ।’

नेपालको भूराजनीति अवस्थिति दुई विशाल छिमेकीको बीचमा रहेको बताउँदै उनले भने, ‘भौगोलिक विविधता, साँस्कृतिक र जातिय विविधतालाई एउटा मजबुत मालामा उनेर विकासको गति लिनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्