Logo
Logo

अतिक्रमणले संकटमा तालतलैया


- दृष्टि न्युज/संवाददाता


नवलपरासी, १७ साउन । पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमंगल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला तालहरु हुन् । तर अधिकांश ताल अतिक्रमण भएर बर्सेनी खुम्चिरहेका छन् ।
यसरी नै अतिक्रमण हुँदै जाने र सरोकारवालाले चासो नदेखाउने हो भने केही वर्षमा नै प्राकृतिक तालको अस्तित्व नै खतरामा पर्ने सङ्केत देखिन्छ । स्थानीय तहले जलाशयको संरक्षणसम्बन्धी कार्यमा पर्याप्त बजेट विनियोजन गरी ताल संरक्षण गर्न नसक्दा तालको संरक्षण संकटमा परेको हो ।
विश्व सम्पदा सूचीमा समेत सूचीकृत हुने प्रक्रियामा रहेको पाल्हिनन्दन गाउँपालिका–६ सनई हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अहिले सीमित पोखरीमा मात्र परिणत भएको छ । करिब १४० बिघामा फैलिएको तालको जग्गामा अहिले स्थानीयवासीले अतिक्रमण गरेर खेती गर्दै आइरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि बर्सेनी रकम विनियोजन हुने भए पनि अतिक्रमण गर्ने व्यक्तिहरुको अवरोधको कारण रकम फ्रिज हुने गरेको छ । तालको अधिकांश भागमा स्थानीयवासीले खेती गर्दै आएका छन् । अतिक्रमण गर्ने व्यक्तिहरुले सो जग्गा जोतभोगका आधारमा आफूहरुले उक्त जग्गाको लालपुर्जा पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
बर्सेनी अतिक्रमणको चपेटमा पर्नु र संरक्षणका लागि प्रभावकारी काम नहँुदा तालको अस्तित्व नै खतरामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्