Logo
Logo

नागरिकता विधेयक फिर्ताको पत्र मंगलबार संसदमा पेश हुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयके मंगलबार संसदमा पेश हुने भएको छ ।

आइतबार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नौ पृष्ठ लामो सन्देशसहित नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएका थिए । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयकसहितको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने भएको हो ।

प्रतिनिधि सभाको मंगलबारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराउनु हुने’ उल्लेख गरिएको छ ।

साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतवार साँझ प्रतिनिधि सभामै फिर्ता पठाएका थिए ।

राष्ट्रपति कार्यालयको पत्र सोमबार संघीय संसद सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो ।

विधेयकमा आवश्यक सुधारका ठाउँहरू समेत औंल्याएर सोहीअनुरूप सार्वभौम संसदमा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुनः प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा प्रतिनिधिसभालाई आग्रह गरेका छन् ।

सन्देशमा नागरिकता सम्बन्धी कानुनी अभ्यास र परम्पराको छोटकरी विश्लेषण गर्दै यसबारे संसदमा अझ गहिरो गरी छलफल गर्न आग्रह गरिएको छ । २००९ सालमा जारी पहिलो नागरिकता ऐन,पुराना संविधान र तिनमा गरिएका विभिन्न संशोधनमा नागरिकता प्राप्तिको व्यवस्थाबारे भएका परिवर्तन र उतार चढाव, तत्कालीन राजा वीरेन्द्रले रोकेको भनिएको नागरिकता ऐन,बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोगसमेतको चर्चा राष्ट्रपतिको सन्देशमा छ ।

प्रतिक्रिया दिनुहोस्