Logo
Logo

निर्वाचन जिताउनै पर्ने ५० नेताको सूची ओलीको गोजीमा



काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । सबै दल तयारीमा जुटेका छन् । सत्तारुढ गठबन्धन सिट बाँडफाँटको मोडालिटी बनाउँदै छ । प्रमुख प्रतिपक्षी दलले भने लगभग कुन क्षेत्रमा कुन पक्षका कुन नेतालाई टिकट दिनेसम्मको तयारी सकेको छ ।

२०७४ सालको आम निर्वाचनमा नेकपा माओवादी केन्द्रको साथमा नेकपा एमालेले प्रत्यक्षतर्फ ८० सिट जित हाँसिल गर्नुका साथै ७ प्रदेशमध्ये ६ प्रदेशमा सरकारको नेतृत्व गरेको थियो ।

यस पटक भने एमालेलाई सहज छैन । ०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी अहिले पाँचदलीय गठबन्धनको मुख्य शक्ति हो । यसबाट सबैभन्दा ठूलो नोक्सानी एमालेले भोग्नु परेको छ । किनभने, एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पार्टी पनि पाँचदलीय गठबन्धनमा आवद्ध छ ।

२०७४ सालको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र थियो । अब आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक्लो एमालेले पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

एमालेले एक्लै कम्तीमा ३५ सिट प्रत्यक्षमा जित्ने भित्री जोडघटाउ गर्दै छ भने एकीकृत समाजवादी पार्टीले पनि ३५ सिट जित्ने आकलनका साथ प्रत्यक्षमा कम्तीमा ३५ सिटको दाबी गठबन्धनसँग गरेको छ । ०७४ मा प्रत्यक्षतर्फ ८० सिट जितेको एमाले आगामी निर्वाचनमा ३५ सिटमा झर्ने विश्लेषणबाटै एमाले कति कमजोर भएछ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

एमालेभित्र अहिले दुई किसिमका अभ्यास देखिएका छन् । एउटा अभ्यास हो, कोठाभित्र बसेर गुपचुप रणनीति बनाउने । अर्को हो, पार्टी कार्यालय वा सार्वजनिक स्थलमा बसेर चिन्ता मात्रै गरिरहने ।

पार्टी विभाजित अवस्थामा भएका कारण र सत्तारुढ गठबन्धनले पुर्याउने क्षतिका बीचमा निर्वाचनलाई सामना गर्ने रणनीति एमालेले अहिलेसम्म अगाडि सारेको छैन । यो कुराले आम कार्यकर्ता पंक्तिमा निराशा छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा भने दिनदिनै चुनावी हिसाब भइरहेका छन् । त्यहाँ के कुरा हुन्छन् भन्ने सूचना पार्टीका ठूलै नेतादेखि कार्यकर्तासम्मलाई थाहा हुँदैन ।

पार्टी र संसदीय मोर्चालाई ‘विरोधीमुक्त’ बनाउने ओली नीति जारी छ । त्यसैले एमालेभित्र अहिले ‘खुलेका विरोधी’ र ‘ओलीले ठहर गरेका विरोधी’हरु टिकट र भूमिका नपाइने कुरामा चिन्तित छन् । जसले गर्दा एमालेको संगठनात्मक जीवनमा लामो योगदान पुर्याएका, तर अहिले ओलीले नरुचाएका थुप्रै नेताहरू उम्मेदवारीबाट बञ्चित हुने सम्भावना छ ।

यदि, त्यस्तो नहुँदो हो र न्यायोचित तवरले उम्मेदवारी तय गरिन्थ्यो भने पार्टी कार्यालयमै बसेर व्यवस्थित रुपमा निर्वाचन रणनीति बनाउने, उम्मेदवारको मापदण्ड निर्धारण गर्ने र कमिटी प्रणालीमा आधारित भएर देशभर उम्मेदवारको सिफारिस संकलन गर्ने काम शुरु हुन्थ्यो ।

अहिले एमालेमा यस्तो अभ्यास दुर्लभ भएको छ । एउटा कम्युनिष्ट पार्टीले आफ्नो जनाधार विस्तार गर्ने, जनताबीचको पकड कायम राखिराख्ने र आफ्ना एजेण्डालाई स्थापित गराउने आधार हो, संगठन । तर, एमालेको सांगठनिक गतिविधि शिथिल अवस्थामा छ । ओलीलाई खुसी पार्न के गर्ने ? कसरी उनको घरमा पुग्ने र आफ्नो उम्मेदवारी सुनिश्चित गर्ने भन्ने मनस्थितिमा एमाले नेता तथा कार्यकर्ता छन् ।

ओलीले दुबै धारका राप्रपा, महन्थ-सिके राउतसहितका मधेसवादी र थरुहट दलसँग चुनावी तालमेल गर्ने क्रममा ६० देखि ७० सीट बाँड्ने नीति तय गरेका छन् । यसो गर्दा एमालेले विगतमा जितेकै क्षेत्र पनि यसपटक तालमेलमा परेर गुमाउने स्थिति छ । तर, उनले आफ्नो अति निकटस्थका हकमा भने सम्झौता नगरी उम्मेदवारी दिने योजना बनाएका छन् । विशेषतः शुरुमा माधवकुमार नेपालपक्षीय भएर अन्तिममा उनको साथ छोड्ने १० भाइ र तिनका समर्थक सांसदमध्ये बढीमा तीन जनाले टिकट पाउँदै छन् ।

स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन् । अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ नाममा उनको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ । लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउने योजना छ । भीम रावलको क्षेत्रमा झपट बोहरा अगाडि बढिसकेका छन् ।

घनश्याम भुसालको क्षेत्र रुपन्देही–३ मा पनि राप्रपासँगको तालमेलका नाममा दिपक बोहोरालाई उठाउने बलियो सम्भावना छ । भीम आचार्यको क्षेत्र सुनसरी–२ मा जिल्ला पार्टी अध्यक्ष रेवती भण्डारीको उम्मेदवारी करिव निश्चित भएको छ । गोकर्ण विष्टको गुल्मी–२ मा पत्रकार राजेन्द्र अर्याललाई अगाडि सार्ने सम्भावना छ ।

एमाले स्रोतका अनुसार ओलीले उम्मेदवार बनाउन चाहेका ‘१० भाइ’ मध्येका योगेश भट्टराईलाई ताप्लेजुङबाटै उठ्ने कुरा चुनौतिपूर्ण बनेको छ । उनी नेपाल पक्षमै हुँदा सोही खेमाका डम्बरध्वज तुम्बाहाम्फे ओलीतिर गएका थिए । कारण थियो, ताप्लेजुङबाट योगेशलाई ‘बिदा’ गर्ने ।

अहिलेको चुनावी रस्साकस्सीमा ताप्लेजुङमा लिम्बू र गैरलिम्बू उम्मेदवारको बहसले चर्को रुप लिइसकेको छ । त्यसैले योगेशलाई झापाको क्षेत्र नं. १ मा झार्ने सम्भावना छ । तर, यदि त्यस्तो भयो भने त्यहाँ उम्मेदवारीको दाबी गरिरहेका ओलीपक्षीय गोपाल बुढाथोकी र पूर्वमाधव नेपाल समूहका चन्द्र भण्डारी नै बाधक बन्ने अवस्था छ ।

एमालेका अर्का नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा तामाङ र चेपाङ समुदायको बाहुल्यता छ । अघिल्लो पटक नै संघीय संसदको टिकट दाबी गरेर पछि प्रदेशसभामा गएका दावा दोर्जे लामाले यसपटक टिकट नपाए बागी नै भए पनि उठ्ने भनिरहेका छन् ।

रघु पन्तको निर्वाचन क्षेत्र ललितपुर–३ मा बाबुकृष्ण कार्कीलाई अगाडि बढाइएको छ । राप्रपाबाट एमाले प्रवेश गरेका उनी ०७४ को स्थानीय निर्वाचनमा उपमेयरका उम्मेदवार थिए । अरुण नेपालको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ मा यसपटक सरेश नेपालको उम्मेदवारी टुंगो लाग्ने भएको छ ।

अघिल्लो निर्वाचनमा कञ्चनपुर-३ बाट जितेका दिपकप्रकाश भट्टलाई यसपालि टिकट नदिने पक्कापक्की भएको छ । उक्त क्षेत्रबाट ओलीले निरुदेवी पाललाई उठाउने तयारी गरेका छन् । ०७४ मा कैलाली-२ बाट चुनाव जितेका झपट रावललाई रोक्न उक्त क्षेत्र तालमेलमा सहभागी दललाई दिइने भएको छ । कैलाली रेशम चौधरीको पकड जिल्ला भएका कारण उनकै पार्टीले उक्त क्षेत्र पाउने सम्भावना छ ।

ओली कोटरीका खास नेताहरूलाई सुरक्षित निर्वाचन क्षेत्रमा लगेर जिताउने योजना बालकोटमा बनेको छ । त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ । दुबै प्रणालीबाट सय सिट कटाउने र बाँकी तालमेलमा सहभागी दललाई सघाएर जाने ओलीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्