Logo
Logo

उज्यालोलाई पछ्याउँदै पछ्याउँदै…



जीवन भन्नु नै गति रहेछ ! ‘जस्तै अप्ठ्यारोमा पुगे पनि आफ्नै गतिले, आफ्नै प्रयत्नले उत्रिन सकिन्छ’ भनेर कसैले कानमा फुसफुसाए झैं, कतैबाट कुनै सकारात्मक आवाजले ताने झैं तानिँदै अगाडि बढि नै रह्यौं । जब क्षितिजमा अलिकति उज्यालोको संकेत मिल्न थाल्यो, निराशा र अँध्यारोबाट अगाडि बढ्ने ससाना गोरेटाहरु पनि आफै देखिन थाले ।

काठमाडौं खाल्डोबाट हामी तीन केटीहरुले जब चारभन्ज्याङ नाघ्न थाल्यौं, त्यसपछिका दिनहरु अझै परिवर्तनउन्मुख हुँदै गए । गति लियो जीवनले । मानसिक रुपमा होस् या भौतिक रुपमा– हामीमा आएको परिवर्तन आफैले चाल पाउन थाल्यौं ।

जीवनको अनुभूति पनि फरक हुन थाल्यो । चाहियो भने आफै पनि अगाडि बढ्न सकिन्छ भन्ने ठूलो आत्म विश्वास मिल्यो । समय नै गुरु भैदियो । जीवन आफै एउटा यात्रा पनि हो । तर त्यो बेलाको यात्राको अर्थ र उद्देश्य विशेष थियो ।

जीवनको मोडमा हिंड्दै जाँदा आफै देखापरेका नयाँ बाटाहरु पार गर्दै गर्दाका क्षणहरुको सम्झना मात्र हो यो । सँगै हिंडेका सहयात्री साथीहरुप्रति कृतज्ञ छु । ती साथीहरु नहुँदा हुन् त अहिलेको यो जीवनै पनि सम्भव थियो कि थिएन भन्ने लाग्छ सधैँ ।

अनगिन्ति साथी र सहयोगीका कुरा छन् । कतिको नाम त उल्लेख गर्न पनि नसकेको हुँला । कति साथीको अनुहार सम्झिन्छु नाम भने बिर्सिसकेँ । तर मेरो मनको अन्तरकुन्तरमा अझै बिराजमान छन् ती असल साथीहरु…

कतै कुनै साथीसँग यात्रा गरें, कतै अर्कै कुनै साथीसँग, कतै भने एक्लै एक्लै पनि हिँडेकी छु । एक्लो अवस्थामा पनि विभिन्न खतरा मोल्नुपर्ने अवस्था आएको छ । बाटो खोज्ने समय थियो । अगाडि बढ्नै पर्ने अवस्था थियो । त्यो अवस्थामा हिंडेका विभिन्न ठाउँको मोटामोटी रेखाचित्र मात्र हो यो । संस्मरण वा नियात्रा पढ्दा झैँ पुगेका ठाऊँ र समयको विस्तृत विवरण नहुँदा कतिलाई अपूर्ण लाग्न पनि सक्छ– स्वभाविक हो । त्यो पनि कुनै बेला गरुँला ।

फेरि सँगसँगै हिंड्ने गरेका सहयोद्धाहरुलाई समेत यहाँ उल्लिखित घटना ‘ए, यो त मलाई सम्झना छैन’ भन्ने लाग्न पनि सक्ला । कुनै ठाउँमा धैरै अष्टलक्ष्मीसँग हिंडेकी छु, कतै पूर्णशोभासँग मात्र । कतै पुरुष साथीहरु पनि सहयात्रीका रूपमा जुरेका थिए भने कतै हामी तीनजना केटीहरुले मात्र पनि हिंड्ने योजना बनाएका थियौँ । कतै त नितान्त एक्लै पनि हिंडेकी छु ।

कतै ‘नर्स’ बनेर हिड्यौं, कतै त ‘डाक्टर’ नै ठानेर स्थानीयहरु आफ्नो स्वास्थ्य समस्या सुल्झाउन हामीकहाँ आएको कुरा सम्झँदा अहिले हाँसो उठ्छ । त्यो बेलाको जनताको अवस्था सम्झँदा भने अझै पनि मन दुख्छ ।

सामान्य सबैलाई कामलाग्ने खालका केही औषधि भने औषधि पसलमै सोधेर किनेर लाने पनि गथ्र्यौं– गाउमा लगाउने, सामान्य ज्वरको निम्ति भनेर । तराईका गाउँ पुग्दा हामीलाई हेर्न घरभित्र लुकेर बस्ने महिलाहरु टाउको फरियाले छोप्दै निस्कन्थे । कतिले परिवार नियोजनका निम्ति हामीसँग सल्लाह माग्थे । ‘हामी डाक्टर होइन’ भन्थ्यौँ । तर डाक्टर, नर्स र शिक्षक के हो छुट्याउनै नसक्ने जनता थिए ।

नेपाली भाषा पनि राम्रो बोल्न नजान्ने महिलाहरु कसैले पानी खुवाउन खोजे, कसैले घरमा भएको खाजा खान भने । कति सफा, सरल नेपाली जनता ! केही अवसर नपाएका गृहिणीहरुले हेर्दा हामी अचम्मका प्राणी देखिन्थ्यौँ होला ।

आफ्नै गाउँठाउँमा स्वतन्त्रतापूर्वक हिंड्न नपाएका उनीहरुलाई हामी केटीहरु मात्र डुल्न आएको देख्दा कतिको मनमा नकारात्मक भाव पनि जागेको हुन सक्छ । साधारण र गाउँ ठाउँ अनुसार सुहाउँदो कपडा लगाउँदै हिंड्ने हुँदा हत्पति नराम्रै आँखाले हेर्ने त गरिंदैन थियो । एकपछि अर्को गाउँमा पुग्दा हामीसँग पूर्व अनुभवले पनि नयाँ कुरा सिकाउँदै लग्यो । हामी सिकारु थियौँ, सिक्दै नै अगाडि बढिरह्यौँ ।

हामीसँग ‘जनताको सेवा’ भन्ने एउटा मन्त्र थियो । तन मन वचनले त्यही जप्थ्यौँ, त्यही बाँच्न खोज्थ्यौँ । त्यतिन्जेल हामी अलि भिन्दै पनि भैसकेका थियौं सायद । त्यो मन्त्र एउटा ठूलो अस्त्र पनि भएको थियो । कतै त्यो नै कवच भयो त कतै जनतालाई आकर्षित गर्ने माध्यम पनि ।

हामीसँग न कुनै नक्शा थियो, न कुनै निश्चित गन्तव्य । अलि पर गए कहाँ पुगिन्छ, त्यो पनि थाहा हुँदैन थियो । हामी हिंडिरह्यौं । कतै होटलमा पनि बस्यौं कतै जनताको छाप्रोमा पनि । कतै आफन्त खोजेर बस्यौँ, कतै ‘आफन्त’ बनाएर । शिक्षक थियौँ, हातमा पटक्कै पैसा नहुने त हुँदैन थियो ।

अलि अलि त हुन्थ्यो नै । ‘जनतासँग नजिक हुन’, ‘जनताको सेवा गर्न’, अनेक बहानाबाजी गर्नुपर्थ्यो, अनेक नाटक देखाउनु पथ्र्याे । यस्ता कति ‘नाटक’हरु सम्झँदा हाँसो उठ्छ अझै । कुनै कुनै घटना सम्झँदा भने अझै आङ सिरिङ्ग हुन्छ र ‘धन्न बाँचिएछ’ भन्छु ।

मेरो पारवारिक पृष्ठभूमि बौद्ध भए पनि बुद्धको शिक्षालाई चिनेको थिइन । बाबुलाई समेत चिन्न नभ्याएकी मजस्तो मान्छेका निम्ति घरमै रहेका धेरै पुस्तकहरु पनि ज्ञान र प्रेरणाको स्रोत बन्न पाइसकेका थिएनन् । आमाको भोगाई, महिलाहरुले अनाहकमा पाउनु पर्ने दुःख, बन्धन आदिले नै म बढि भावुक पनि थिएँ ।

दलित बस्तीमा पुग्दा मान्छे–मान्छेबीचको असमानता र गरिबीलाई नजिकबाट देखेपछि अझै अगाडि बढेकी थिएँ र ‘जनताको सेवा’ महामन्त्र बनेको थियो । कुनै कलिली आमाले बच्चा काखमा राखेर ढुंगा फुटाइराखेको दृश्य देख्दा पनि आँसु आउँथ्यो । कतै डोरी हातमा लिएको भरियाले काम नभेटेर वाल्ल परिराखेको देख्दा पनि अझै भोकै छ कि त्यो मान्छे भन्ने झैं मनमा चिन्ता लाग्थ्यो ।

तराईका त्यो बेलाका गाउँहरुमा कतै खच्चड पनि चढ्नुपरेको थियो । चर्को घाममा खच्चड पसिना–पसिनामा देख्दा पनि मन दुख्थ्यो । करुणा र मैत्रीको बीउ पनि सम्भवतः त्यही बेला रोपियो होला मनमा– जो अहिले यो उमेरमा आएर टुसाउन खोज्दैछ ।

अहिले फर्केर हेर्दा त्यो समय एउटा ठूलो अवसर भएछ आफ्नै जीवनलाई बुझ्न । त्यसबेलासम्म पनि हामी अझै काँतर स्वभावका साँघुरा नेताहरुको मातहतमा बसेर काम गर्नु परेको भए आफ्नै आँखाले कहाँ देशदर्शन गर्न पाउँथ्यौं र !

जीवनलाई यति नजिकबाट हेर्न कहाँ पाउँथ्यौ र ? आफ्नो युवाकालमा यसरी पखेटा फैलाएर उँड्न सकेको सम्झँदा रमाइलो र सन्तोष लाग्छ । त्यो सम्झनाको सकारात्मक सत्प्रेरणाले जीवनमा अझै बाँचुँ बाँचुँ लाग्छ । अचेल जब आफ्नै सपनाले कोरेको बाटोमा हिंडिरहेका आजका युवालाई देख्छु, तिनीहरुसँगै, तिनीहरुभित्रै आफु पनि बाँचिरहेजस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्