Logo

संकट सामना गरिरहेको कम्युनिष्ट आन्दोलन


भुपेन्द्र थापा (माधव)


२००६ सालमा कम्युनिष्ट पार्टी गठन भएयता नेकपादेखि नेकपासम्मको विभाजन चरम अवसरवादको परिणाम हो । यसले नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न समूहमा विभाजित हुन पुगेको छ ।

पार्टीलाई जिवन्त राख्न अन्तरसंघर्ष अनिवार्य मानिन्छ । ठीक तरिकाले हुने अन्तरसंघर्षले सही कार्यदिशामार्फत समाज र सिङ्गो युगलाई नै निर्देशित गर्न सक्छ ।

नेपालका कम्युनिष्ट पार्टीहरुमा रणनैतिक कार्यदिशामा एकरुपता भएता पनि कार्यनीतिक उद्देश्यमा ठूलै भिन्नता रहँदै आएको छ । नेपालमा मात्र होइन, विश्वको कम्युनिष्ट आन्दोलनको अवस्था पनि उस्तै छ ।

खुस्चेभी संशोधनवादी कार्यदिशाका कारण सिँगो सोभियत संघ संकटमा फस्यो । चीनमा माओको मृत्युपछि देङ्स्यावपिङको सुधारवादी नीतिका कारण लेनिनले स्थापना गरेको पूर्वी युरोपका समाजवादी सत्ताहरु ढले ।

कम्युनिष्ट आन्दोलनले संकट सामना गर्नुपर्ने अवस्था नेतृत्वबाटै बनेको हो । आन्दोलन कमजोर हुँदा यथास्थितिवादी शक्तिहरु जुर्मुराएका छन् । यसको रक्षा गर्न मुख्य कम्युनिष्ट शक्ति र समाजवादी शक्तिहरु एकै ठाउँमा उभिन जरुरी छ ।

प्रतिफलस्वरुप विश्वभरी नै कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । विश्व कम्युनिष्ट आन्लोलनले अनपेक्षित संकट व्यहोर्दा नेपालको कम्युनिष्ट आन्दोलन अछुत रहने कुरा भएन । सैद्धान्तिक वैचारिक रुपमा भन्दा पनि गलत कार्यदिशाको सिकार बन्यो, नेपालको कम्युनिष्ट आन्दोलन ।

विभेदयुक्त नेपाली समाजबारे नेतृत्वले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा विभेदपूर्ण समाजभित्र कम्युनिष्ट आन्दोलनको वस्तुगत अवस्था अनुकुल बन्न सकेन ।

०००

सर्वहारा वर्गको अधिनायकत्वसहितको राज्य व्यवस्था कम्युनिष्टहरुको आधारभूत सिद्धान्त मान्ने गरिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न कालखण्डमा त्यसका लागि आम शोसित पीडित जनताबाट पहल र संघर्ष नभएका होइनन् । तर, ती पहलहरु सार्थक बन्न सकेनन् ।

२००३ सालको विराटनगरको मजदुर आन्दोलनले २००७ सालको प्रजातन्त्र स्थापना भयो । पाल्पा, रौतहट, बारा, सर्लाही, प्यूठान, काठमाडौं र कन्चनपुरलगायत जिल्लाहरुमा किसान आन्दोलन चल्यो ।

आन्दोलनको बलमा जाली तमसुक च्यातियो, चक्रबृद्धि व्याजविरुद्ध संघर्ष भयो, जसको जोत उसको पोत स्थापित भयो, मोहियानी हक स्थापित भयो, सुदरपश्चिममा भीमदत्तको नेतृत्वमा जमिनदारविरुद्ध अर्को बिद्रोह भयो ।

२०२८ सालमा किसान माथिको दमनविरुद्ध आन्दोलन भयो । पञ्चायती तानाशाही व्यवस्थाप्रति वैचारिकबाट सुरु भएको संघर्षले सशस्त्र संघर्षको पक्षपोषण गरेको थियो ।

२००७ सालदेखिको राजनीतिक इतिहासमा नेपालका मजदुर, किसान र आम शोशित, पीडित, सर्वहारा वर्गले नेपालको कम्युनिष्ट पार्टीहरुको आह्वानलाई समर्थन र सहयोग गर्दै आएका छन् । हरेक परिवर्तनमा यो वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

२०३६ सालको जनमत संग्रह भयो । २०१७ सालमा खोसिएको प्रजातन्त्र पुर्नवहालीका लागि २०४६ सालमा पञ्चायतविरुद्ध संघर्ष भयो । यी संघर्षहरु जनताले सिर्जना गरेको आँधिवेरीबाट नै सम्भव थियो ।

२०५२ साल फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गतेसम्म चल्यो । जनयुद्ध जनताकै चाहनामा सम्भव भयो । जनयुद्ध हुँदै २०६२–६३ को जनक्रान्तिको बलबाट २४० वर्षे राजतन्त्रको विधिवत अवसान सम्भव भयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी राज्य व्यवस्था सम्भव भयो ।

यसरी हेर्दा नेपाल कम्युनिष्ठ पार्टी स्थापना भएयता भएका सबै परिवर्तनहरु जनताको रगत र पसिनाबाट मात्र सम्भव भएको छ । जनताकै चाहना र योगदानमा मात्र परिवर्तन सम्भव भएको छ । व्यवस्था परिवर्तन भएको छ । तर, धेरै पटक व्यवस्था परिवर्तन गरेका जनताको अवस्था भने उस्तै छ ।

०००

असमानताविरुद्ध धेरै चरणमा विद्रोह भयो । तर, असमानता अझै कायम छ । परिवर्तन कहाँ भयो ? कसका लागि भयो ? अनुभूतिमा र व्यवहारमा कहिँकतै देख्न पाइएको छैन ।

स्वाधिनता र सार्वभौमसत्ताको नाममा अनेक जोगी आए । जो, कमाण्डलु बोकेर सत्ताको भिख माग्न छिमेकीको दैलो–दैलो चहार्दै आएका छन् । यिनैबाट स्वाधिनतामाथि प्रश्न उठ्दै आएको छ । सार्वभौमिकता संकटमा पर्दै आएको छ ।

कम्युनिष्ट पार्टी विचार, आदर्श र सिद्धान्तको बलमा स्थापित हुनुपर्छ । तर, नेपालका कम्युनिष्ट पार्टीहरु यी प्रश्नको घेरामा छन् । के नेपालका कम्युनिष्ट पार्टी विचार, आदर्श र सिद्धान्तको कसीमा उभिएका छन् त ? यो प्रश्नको जवाफ सहज छैन ।

संघर्षपूर्ण इतिहासलाई भजाएर मिटरव्याजझैँ लाभ असुल्ने नेतृत्वका कारण कम्युष्टि आन्दोलन बदनाम हुँदै गएको छ ।

नेतृत्वमा वैचारिक संकट छ । वैचारिक संकटमा आन्दोलनलाई ठीक दिशावोध गराउने कार्यनीति बन्न सक्दैन । संगठनात्मक स्थिति राम्रो नहुँदा जनतासँगको सम्बन्ध खस्कँदै गएको छ । व्यापक व्यवस्थापन र सुशान कायम आजको आवश्यकता हो । यो सन्दर्भमा कम्युष्टि नेतृत्वले उचित भूमिका निर्वाह गर्न सकेका छैनन् ।

नेतृत्वको क्रियाकलापप्रति नयाँ पुस्ता सन्तुष्ट छैन । युवा पुस्ता नेतृत्वमा मौलाएको गलत प्रवृत्ति जरैबाट उखेलेर फ्याक्न चाहन्छ । वर्तमान नेतृत्वकै नेतृत्वमा स्थापित उपलब्धिहरु वर्तमान नेतृत्वबाटै खतरामा परेको नयाँ पुस्ताले बुझेका छन् ।

नेपालका कम्युनिष्ट पार्टीहरुमा ठूलो वैचारिक भिन्नता छैन । कार्यनीतिक रुपमा केही भिन्नताहरु भने पक्कै छन् । त्योभन्दा पनि ठूलो समस्या विभिन्न समूहमा विभाजित समकालीन नेतृत्वको जुँगाको लडाइँ हो । दक्षिणपन्थी संशोधनवासँंग कुम जोडेर उदारवादको हात समाएकाहरुबाट वैज्ञानिक समाजवादको यात्रा सम्भव छैन ।

०००

ऐतिहासिक झापा विद्रोहबाट अगाडि बढेको आन्दोलन माले हुँदै एमालेसम्म पुग्दा दक्षिणपन्थी संसोधनवादको चंगुलमा फस्यो । १० वर्षे जनयुद्धबाट स्थापित माओवादी नेतृत्व माले, एमालेकै संक्रमणबाट ग्रसित भए ।

मालेमावादको आधारभूत सिद्धान्त र नेपाली सर्वहारा वर्गको मुक्तिको मूल्य मान्यतालाई दरोसँग समात्नेभन्दा पनि नवसंशोधनवादको बाटो हिँड्ने नेतृत्वको चाहनाले नेपाली क्रन्ति र आम सर्वहाराप्रति धोका भएको छ ।

माओवादी आन्दोलनको रक्तरञ्जित इतिहासको बलबाट नेपालमा समान्तवादको पर्खाल त ढल्यो, सँगै दक्षिणपन्थी संशोधनवाद नयाँ रुपमा उदायो । विश्व दृष्टिकोण र नेपाली समाजको मुख्य अन्तरविरोधलाई सही तरिकाले बुभ्mन र रुपमान्तरण हुन नसक्दा यस्तो भएको हो ।

माओवादी आन्दोलन कमजोर हुँदा ऐतिहासिक उपलब्धीलाई मास्न अनेकौँ नामधारी दक्षिणपन्थी र याथास्थितिवादी शक्तिहरु कम्मर कसेर लागेका छन् । यसको रक्षा गर्न मुख्य कम्युनिष्ट पार्टी र समाजवादी शक्तिहरु एकै ठाउँमा उभिन जरुरी छ । जनताले लडेर ल्याएको व्यवस्था जोगाउन नसके नेपाली कम्युनिष्ट आन्दोलन संकटमा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्